दिपेन्द्रसिंह ऐरीको शतकमा नेपालले दियो ब्लुमफिल्डलाई ३२४ रनको लक्ष्य

२०७५ भाद्र ८, शुक्रबार १४:२८

Dipendra Airee
  • विकेटनेपाल – ८ भदौ, शुक्रवार

एसिया कप छनौटको तयारीका लागि श्रीलंकामा रहेको नेपाली टोलीले आफ्नो दोस्रो अभ्यास खेलमा ब्लुमफिल्डलाई ३२४ रनको बिशाल लक्ष्य प्रस्तुत गरेको छ।

ब्लुमफिल्ड मैदानमा टस जितेर ब्याटिंगमा उत्रिएको नेपाली टोलीका लागि दिपेन्द्र सिंह ऐरीले आक्रामक ब्याटिंग गर्दै शतक बनाएपछि नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३२३ रन जोड्न सक्यो। यस्तै टोलीमा कम्ब्याक गरिरहेका सागर पुनले समेत ९२ रनको इनिंग खेले। ओपनर द्वय अनिल कुमार साह र सुबाश खकुरेललाई चाडैं गुमाएको नेपालको इनिंग सागर र दिपेन्द्रको उत्कृस्ट साझेदारीले उक्सिएको थियो।

ओपनर सुबाश खकुरेल व्यक्तिगत ९ तथा अनिल साह व्यक्तिगत १७ रन बनाएर पभेलियन फर्किंदा कप्तान पारस खड्काले समेत २३ रन मात्र जोड्न सके। माथिल्लो क्रममा ब्याटिंग गर्ने मौका दिएका रोहित कुमार पौडेलले मौकाको फाइदा उठाउन सकेनन् र मात्र ११ रन जोड्दै आउट हुँदा नेपालको स्कोर ८४/४ रहेको थियो। त्यस पश्चातभने सागर पुन र दिपेन्द्र सिंह ऐरीले पाँचौं विकेटका लागि १८५ रनको साझेदारी गरेका थिए।

शतकीय पारि खेल्ने क्रममा दिपेन्द्रले ९६ बलमा ९ चौका र ५ छक्का सहित १२१ रन जोडे। यस्तै सागर पुनले भने ८३ बलमा ८ चौका र ३ छक्का सहित ९२ रन बनाएका थिए। इनिंगको अन्त्यमा करन केसीले मात्र १२ बलमा ४ चौका र १ छक्का सहित २६ रन प्राहार गर्दै नेपालको स्कोरलाई ३०० रन माथी पुर्याए।

ब्लुमफिल्डको बलिंगतर्फ सनोज दर्शीकाले सर्वाधिक ३ तथा लाहिरु संजय फर्नान्डोले २ विकेट लिए।

अन्तिम ११ – पारस खड्का ( कप्तान ), अनिल साह, बसन्त रेग्मी, दिपेन्द्र ऐरी, करन केसी, ललित भण्डारी, ललित राजबंशी, आरिफ शेख, रोहित पौडेल, सागर पुन र सुबास खकुरेल

नेपालले बुधबार सम्पन्न पहिलो अभ्यास खेलमा श्रीलंका आर्मी क्रिकेट क्लब माथि ६७ रनको जित हाँसिल गरेको थियो। पहिले ब्याटिंग गर्दै नेपालले बनाएको १९४ रनको जवाफमा आर्मी क्लबले १२७ रन मात्रै बनाएको थियो। नेपालको जितमा आरिफ शेखले ८९ रनको शानदार इनिंग खेलेका थिए भने बलिङ्गतर्फ सोमपाल कामि र बसन्त रेग्मीले ३/३ विकेट लिएका थिए।

३ अभ्यास खेल्न श्रीलंका पुगेको नेपाली टोलीले आफ्नो अन्तिम अभ्यास खेलभने अगष्ट २६ तरिका कोल्ट्स बिरुद्ध खेल्नेछ। जसपछि टिम अगस्ट २७ तारिकमा श्रीलंका प्रस्थान गर्नेछ। एसिया कप छनौट अन्तर्गत नेपालले पहिलो खेल ओमानसंग २९ अगस्टमा खेल्नेछ। हाल क्यारेबियन प्रिमियर लिग खेलिरहेका सन्दिप लामिछाने अगस्ट २८ तारिकमा मलेसिया पुग्नेछन्।

एसिया कप छनौटमा नेपाली टिम :- पारस खड्का ज्ञानेन्द्र मल्ल, अनिल साह, बसन्त रेग्मी, बिनोद भण्डारी, दिपेन्द्र ऐरी, करन केसी, ललित भण्डारी, ललित राजबंशी, आरिफ शेख, रोहित पौडेल, सागर पुन, सन्दिप लामिछाने, सोमपाल कामी र सुबास खकुरेल

अगस्ट २९ देखि सेप्टेम्बर ६ तारिकसम्म आयोजना हुने एसिया कप छनौट प्रतियोगिताको बिजेता टिम एसियाली टेस्ट राष्ट्रहरुले खेल्ने एसिया कप खेल्न छनौट हुनेछ भने डिसेम्बरमा आयोजना हुने इमर्जिङ्ग टिम्स एसिया कपमा समेत स्वतः छनौट हुनेछ। युएईमा १५ देखि २८ सेप्टेम्बरसम्म आयोजना हुने एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान खेल्नेछन् र बाँकी १ राष्ट्रको निर्क्योल एसिया कप छनौट पछि हुनेछ।

एसिया कपमा नेपालको खेल तालिका :- २९ अगस्ट – नेपाल Vs ओमान ( बायुमास ओभल मैदान ) , ३० अगस्ट – नेपाल Vs युएई ( किनरारा ओभल मैदान ) , १ सेप्टेम्बर – नेपाल Vs मलेसिया ( बायुमास ओभल मैदान ) , २ सेप्टेम्बर – नेपाल Vs सिंगापुर ( युकेएम ओभल मैदान ) , ४ सेप्टेम्बर – नेपाल Vs हंगकंग ( युकेएम ओभल मैदान ) , ६ सेप्टेम्बर – फाईनल ( किनरारा ओभल मैदान )

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy