आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत लिगको अन्तिम खेलमा क्यानडासंग जारि खेल वर्षाले रोकिएको छ। मार्चमा जिम्बाबेमा आयोजना हुने २०१९ एकदिवसीय बिश्वकपमा नेपाल छनौट हुन यो खेल जित्नै पर्ने अवस्था रहेको छ।
क्यानडाले दिएको १९५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ३४ ओभरमा ५ विकेट गुमाएर ११५ रन बनाएको अवस्थामा खेल वर्षाले रोकिएको हो।
खेल रोकिएको अवस्थामा क्रीजमा आरिफ शेख ( १४ रन ) र रोहित पौडेल ( २२ रन ) बनाएर ब्याटिंग गरिरहेका छन्। नेपाललाई जितको लागि १६ ओभरमा ८० रन आवस्यक रहेको छ।
यो अवस्थापछि खेल सम्भब नभए के हुन्छ ?
यही अवस्थामा खेल रोकिएको खण्डमा डी/एल मेथडको आधारमा बिजेता घोषणा गरिनेछ। डी/एल पार स्कोर अनुसार यो अवस्थामा खेल रोकिए क्यानडा बिजयी हुनेछ। नेपालको स्कोर १२५ भएको भए पार स्कोरमा नेपाल अघि हुने थियो।
१९५ रनको लक्ष्य पछ्याउने क्रममा २२ रनको स्कोरमा ज्ञानेन्द्र मल्ल ( ९ रन ) र पारस खड्का ( ० ) लाई लगातार बलमा गुमाएपछि दीपेन्द्र ऐरी र दिलिप नाथले तेश्रो विकेटको लागि ५० रनको साझेदारी गर्दै नेपालको इनिंग उकासेका थिए।
तर दिलिप नाथ ४१ रनको स्कोरमा सिसिल परभेजको शिकार हुन पुगेपछि ब्याटिंग गर्न आएका शरद भेसावकर १ रन मात्रै बनाई साद बिन जाफरको बलमा क्याच आउट भएपछि नेपालको स्कोर २३ औं ओभरमा ७३/४ पुगेको थियो। त्यसपछि दिपेन्द्र ऐरी ( १८ रन ) ले पनि २५ औं ओभरमा विकेट गुमाउन पुगेपछि नेपाल ८१/५ को नाजुक अवस्थामा पुगेको थियो।
५ विकेट गुमेपछि आरिफ र रोहितले छैठौं विकेटको लागि ३४ रनको साझेदारी गर्दै नेपाललाई जिततर्फ डोर्याउने प्रयास गरेको अवस्थामा वर्षाले खेल रोकिएको हो।

टस जितेर नेपालले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको क्यानडाले पुरै ५० ओभर ब्याटिंग गर्दै ८ विकेट गुमाएर १९४ रन बनाएको छ।प्रतियोगिताको टप-२ भित्र रहँदै मार्चमा जिम्बाबेमा खेलिने २०१९ एकदिवसीय बिश्वकप छनौट प्रतियोगिता खेल्न नेपाललाई क्यानडासंग जितको आवस्यकता छ।
प्रतियोगितामै १९५ रनको लक्ष्य नेपालले पाएको सबैभन्दा ठुलो लक्ष्य हो।अघिल्लो खेलमा नेपालले केन्याले दिएको १७८ रनको लक्ष्य पछ्याएर खेल जितेको थियो।
पहिलो विकेटको लागि सृमन्था विजेरत्ने र रुभिन्दु गुनसेकेराले ४६ रनको साझेदारी गरे। बसन्त रेग्मीले गुनसेकेरा ( ९ ) लाई क्याच आउट गरेपछि क्यानडाले लगातार विकेट गुमाएको थियो। नितिश कुमार ( ९ रन ) र धानुक पाथिराना ( २ रन ) लाई सन्दिपले आउट गरेपछि नभनित ढालीवाल ( ४ रन ) लाई बसन्त रेग्मीले आउट गर्दा क्यानडाले पहिलो ४ विकेट ९० रनको स्कोरमा गुमाएको थियो। ४ विकेट गुमेपछि पाँचौ विकेटको लागि हम्जा तारिकसंग सृमन्था विजेरत्नेले ४१ रनको साझेदारी गरे जुन साझेदारी करन केसीले ३६ औं ओभरमा तोडे।
त्यसपछि निरन्तर अन्तरलमा विकेट गुमाएपनि एउटा इनिंग विजेरत्नेले सम्हालिरहे। प्रतियोगितामा आफ्नो पहिलो खेल खेलीरहेका विजेरत्नेले करियरकै पहिलो शतक पुरा गर्दै अविजित १०३ रन बनाए। त्यसक्रममा उनले १५२ बल खेल्दै ८ चौका प्रहार गरे।
नेपालको लागि बसन्त रेग्मीले सर्बाधिक ३ विकेट ( १०-०-३४-३ ) तथा सन्दिप लामिछानेले २ विकेट ( ९-१-४०-२ ) हात पारे। करन केसी र शरद भेसावकरले पनि १/१ विकेट लिए।
प्रतियोगितामा नेपालको खेल र नतिजा
पहिलो खेल – नेपालद्वारा नामिबिया १ विकेटले पराजित ( नामिबिया १३८ , नेपाल १३९/९ )
दोश्रो खेल – ओमानद्वारा नेपाल ६ विकेटले पराजित ( नेपाल १३८, ओमान १३९/४ )
तेश्रो खेल – नेपालद्वारा युएई ४ विकेटले पराजित ( युएई ११४ , नेपाल ११५/६ )
चौथो खेल – नेपालद्वारा केन्या ३ विकेटले पराजित ( केन्या १७७/८, नेपाल १७८/७ )