काठमाडौं । आगामी वर्ष भारत र श्रीलंकामा आयोजना हुने टि२० विश्वकपको एसिया तथा इस्ट एसिया प्यासेफिक (इएपि) क्षेत्रीय छनोट खेलमा नेपाल दुई अंकका साथ सुपर सिक्समा प्रवेश गरेको छ ।
नेपाल र जापान एक खेल अगावै सुपर सिक्समा प्रवेश गरिसकेका थिए । नेपालले आज भएको खेलमा जापानविरुद्ध ५ विकेटको जित सहित दुई अंकका साथ सुपर सिक्समा प्रवेश गरेको हो ।
नेपालले पाएको १ सय ३२ रनको लक्ष्य १८ औं ओभरको अन्तिम बलमा ५ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा ओपनर आसिफ शेखले २१ बलमा १ चौका र ४ छक्काको सहयोगमा सर्वाधिक ३८ रन जोड्दै आउट भए । अर्का ओपनर कुशल भुर्तेल २१ बलमा ३ चौकाको सहयोगमा २१ रनमा आउट भए ।
कप्तान रोहितकुमार पौडेल १९ बलमा १८ रन जोड्दै आउट भए । पहिलो खेलमा पनि रन बनाउँन असफल रहेका कुशल मल्ल ४ तथा सन्दीप जोरा ५ रन जोड्दै आउट भए ।
गुलसन झा २८ तथा दीपेन्द्रसिंह ऐरीले १४ रनमा अविजित रहे । जापानका एक बलरले २ तथा तीन बलरले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर नेपालले नेपालले बलिङ रोजेपछि ब्याटिङमा आएको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३१ रनको मध्यम योगफल तयार गरेको थियो ।
जापानका लागि कप्तान केन्डल फ्लेमिङले ४६ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ६० रनको अर्धशतकीय इनिङ खेले । दोस्रो विकेटका लागि फ्लेमिङले एसाम रहमानसँग मिलेर ८६ रनको महत्वपुर्ण साझेदारी गरेका थिए ।
रहमान २५ बलमा १ चौका र २ छक्काको सहयोगमा ३१ रनमा पेभिलियन फर्किए । रहमान र फ्लेमिङ आउट भएसँगै जापानले खास राम्रो प्रदर्शन गर्न सकेनन् । ९७ रनमा साझेदारी टुटेसँगै त्यसपछिका ४३ बलमा ३४ रन जोड्दा महत्वपुर्ण ७ विकेट गुमायो ।
जापानका लागि तेस्रो सर्वाधिक स्कोर बेन्जामिन डेभिसको नाममा १७ रन रहनपुग्यो । जापानको ब्याटिङ धराशाही बनाउँन सन्दीप लामिछाने र गुलसन झाले समान २ तथा सोमपाल कामी र नन्दन यादवले समान १ विकेट लिए । जापानका २ ब्याटर रन आउट भएका थिए ।
यो जितसँगै समूह बी को विजेताको रुपमा सुपर सिक्समा पुगेको नेपालले अतिरिक्त २ अंक पाएको छ । यसै समूहबाट सुपर सिक्समा पुगेको जापान नेपालसँगको हारसँगै अंक बिहिन रहन पुगेको छ ।
आइतबारबाट सुपर सिक्सका खेलहरु सुरु हुनेछ । सुपर सिक्समा हरेक टोलीले आफ्नो समूहका बाहेक अन्य चार देशको सामना गर्नेछ । शुक्रबारसम्म चल्ने सुपर सिक्सको शीर्ष तीनमा रहने टोलीले विश्वकपमा स्थान पक्का गर्नेछ ।
नेपाल लगातार दोस्रो पटक तथा समग्रमा तेस्रो पटक टि२० विश्वकपमा स्थान बनाउँने लक्ष्यमा रहेको छ । सुपर सिक्सको पहिलो खेलमा आइतबार युएईसँग खेल्नेछ ।
