काठमाडौं । नेपालले ओपनर कुशल भुर्तेलको अर्धशतकको सहयोगमा टि२० विश्वकपको एसिया तथा इस्ट एसिया क्षेत्रीय छनोटमा ओमानलाई १ सय ५२ रनको लक्ष्य दिएको छ ।
ओमानको मस्कटमा घरेलु टोलीविरुद्ध टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रनको योगफल तयार गरेको थियो ।
नेपालका लागि ओपनर कुशलले ५१ बलमा ७ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ६९ रनको अर्धशतकीय इनिङ खेले । कुशलले प्रतियोगितामा आफ्नो दोस्रो तथा टि२० करियरको १३औं अर्धशतक बनाएका हुन् ।
अर्का ओपनर आसिफ शेख २० बलमा २ चौका र १ छक्काको सहयोगमा २४ रन बनाउँदै आउट भए । मोहम्मद आदिल आलम १५ बलमा ३ चौकाको सहयोगमा १६ रनमा आउट भए ।
गुलसन झा १० बलमा २ छक्काको सहयोगमा १८ रनमा पेभिलियन फर्किए । कुशल मल्ल ७, उपकप्तान दीपेन्द्र सिंह ऐरी २ तथा कप्तान रोहितकुमार पौडेल १ रनमा आउट भए ।
ओमानका लागि ४ सफलता नदिम खानले दिलाएका थिए । सफियान मोहम्मद र जितेन रामानन्दीले समान २ विकेट आफ्नो नाममा गरे ।
आगामी वर्ष भारत र श्रीलंकामा आयोजना हुने विश्वकपका लागि छनोट भइसकेका दुवै राष्ट्रलाई प्रतियोगिताको उपाधी जित्नका लागि यो खेल महत्वपुर्ण रहेको छ । यस खेलको विजेता टोली प्रतियोगिताको च्याम्पियन बन्ने लगभग पक्का हुनेछ ।
