नेपाल- पीएनजी हेड टु हेड, पढ्नुस दुई देश बीच खेलिएको ४ खेलमा के भएको थियो

Nepal vs PNG

आईसीसी विश्वकप लिग-२ अन्तर्गत ओमान र अमेरिकासंग त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न ओमान पुगेको नेपाली क्रिकेट टिमले सिरिज सुरु हुनु अघि अभ्यासको रुपमा पपुवा न्यु गिनीसंग दुई वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दैछ। दुई देश बीच सेप्टेम्बर ७ र १० तारिखमा खेल हुनेछ जसमध्ये दोश्रो खेल नेपालको इतिहासकै पहिलो डे-नाइट एकदिवसीय अन्तर्राष्ट्रिय खेल हुनेछ।

नेपाल र पपुवा न्यु गिनीले इतिहासमा हालसम्म ४ पटक मात्र एकदिवसीय फर्म्याटमा प्रतिस्पर्धा गरेका छन्। सबैभन्दा पहिले दुई देशले १६ वर्ष अघि सन् २००५ मा मलेसियामा आयोजित एकदिवसीय विश्वकप छनौट सिरिजमा प्रतिस्पर्धा गरेका थिए। उक्त खेलको १० वर्षपछि नेपालले आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत २०१५ मा दुई खेल खेलेका थिए। अन्तिम पटक दुई टिम बीच ३ वर्ष अघि जिम्बाब्वेमा आयोजित विश्वकप छनौट प्रतियोगितामा भेट भएको थियो।

नेपाल र पपुवा न्यु गिनी बीच खेलीएको चार खेल मध्ये नेपाल एउटा खेलमा मात्र विजयी भएको छ भने बाँकी तिन वटै खेलमा पराजित भएको छ। दुई देश बीच भएका चार खेलहरुको विस्तृत जानकारी यो लेखमा प्रस्तुत गरेका छौ –

पहिलो भेट : सन् २००५ फेब्रुअरी, विश्वकप छनौट सिरिज ( डिभिजन-२ ) , मलेसिया

प्रतियोगिताको पहिलो खेलमा समुह ‘ए’ अन्तर्गत रहेको नेपाल र पपुवा न्यु गिनी प्रतिस्पर्धा गर्दै थिए। मलेसियाको क्वालालम्पुर स्थित केलब अमान मैदानमा टस जितेर पपुवा न्यु गिनीले ब्याटिंग रोज्यो।

नेपाली पेसर मेहबुब आलम र धिरेन्द्र चन्दले सुरुवाती दुई विकेट पहिलो स्पेलमा लिएता पनि त्यसपछि ओपनर अरुवा उडा र जेमी ब्राजीयरले शतकीय साझेदारी गर्दै नेपालको विकेट लिने प्रयास विफल पारे। १३३ रनको साझेदारी शक्ति गौचनले उडालाई धिरेन्द्र चन्दबाट क्याच आउट गर्दै तोडेपछि नेपालले खेलमा पुनरागमन गर्यो। मात्र ८३ बलमा १० चौका र ३ छक्का मद्दतले ९७ रन बनाएका ब्राजीयरलाई पनि गौचनले पारस खड्काबाट क्याच आउट गराए। त्यसपछि लगातार विकेट गुमाएको पपुवा न्यु गिनीले ५० ओभरमा ८ विकेट क्षेतीमा २४० रन बनायो। शक्ति गौचनले कन्जुस्याइँपूर्ण बलिंग गर्दै रन गति रोके जसले १० ओभरमा ३ मेडन ओभर गर्दै मात्र २० रन खर्चिए। शक्ति गौचन र धिरेन्द्र चन्दले समान ३ विकेट लिए भने मेहबुब आलम र बिनोद दासले समान १ विकेट लिए।

२४१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालको सुरुवात खराब रह्यो। ५० रन जोड्दा नेपालले ३ विकेट गुमाउन पुग्यो। ओपनर मेहबुब आलम र कनिस्क चौगाईं ७ र ५ रन बनाएर आउट भए भने शक्ति गौचन ६ रनको स्कोरमा रन आउट हुन पुगे। त्यसपछि एक वर्ष अघि डेब्यु गरेका पारस खड्काले तेश्रो नम्बरमा ब्याटिंग गर्दै एक किनार सम्हाले र परिपक्वता देखाए। खड्काले एक किनार सम्हालेता पनि अर्को किनारमा साथ पाउन सकेनन्। परेश लोहनी १३ तथा दिपेन्द्र चौधरी ९ रन बनाएर आउट भए। १८ वर्षको उमेरमा करीयरको पहिलो अर्धशतक बनाएपछि पारस पनि आउट भए। पारसले ८२ बलमा ५ चौका प्रहार गरे। पारसको विकेट जाँदा नेपालले १०८ रनमा ६ विकेट गुमाउन पुग्यो। त्यसपछि विकेटकिपर ब्याट्सम्यान मनोज वैश्यले अविजित ३७ रन बनाएता पनि नेपालले ५० ओभरमा ९ विकेट क्षेतीमा १७० रन मात्र बनाउन सक्यो। पहिलो इनिंग्समा ९७ रन बनाएका ब्रेजीयरले पपुवा न्यु गिनीको लागि सर्वाधिक ३ विकेट लिए जुन क्रममा पारस सहित परेश लोहनी र दिपेन्द्र चौधरीको महत्वपूर्ण विकेट लिए।

 

दोश्रो भेट : सन् २०१५ नोभेम्बर, आईसीसी विश्व क्रिकेट लिग च्याम्पीयनसिप, युएई

पहिलो खेल भएको १० वर्ष पछि मात्र पपुवा न्यु गिनी र नेपाल एकदिवसिय फर्म्याटमा आमने-सामने हुने अवसर जुर्यो। युएईको शेख जायद स्टेडियममा सम्पन्न खेलमा नेपाल २ विकेटले पराजित हुन पुग्यो।

टस जितेर ब्याटिंग गरेको नेपालको सुरुवात राम्रो रहेन। ओपनर अनिल मण्डल खाता नखोली पहिलो ओभरमा तथा सागर पुन १० रन बनाएर आउट भए। त्यसपछि ओपनर सुबास खकुरेलले एक किनार सम्हाले। तर अर्को किनारमा विकेट थामिएन। तेश्रो विकेटको लागि ४७ रनको साझेदारी गरेपछि ज्ञानेन्द्र मल्ल २३ रन बनाएर आउट भए। पारस खड्काले पनि ६ रन मात्र बनाउन सके। पाँचौ विकेटको लागि खकुरेल र शरद भेसावकर बीच ५६ रनको साझेदारी भयो। १०४ बलमा २ चौका मद्दतले ६३ रन बनाएका सुबास ३५ औं ओभरमा आउट भए। त्यसपछि पनि शरदले एक किनार सम्हालीरहे जुन क्रममा उनले आठौँ विकेटको लागि बसन्त रेग्मीसंग ५२ रनको महत्वपूर्ण साझेदारी गरे। शरदले अन्तिम ओभरमा आउट हुनु अघि ८२ बलमा ५ चौका प्रहार गरे। रेग्मी २४ रनमा अविजित रहे। नेपालले ५० ओभरमा ८ विकेटको क्षेतीमा २३२ रन बनायो।

लक्ष्य पछ्याउने क्रममा पपुवा न्यु गिनीले नियमित अन्तरलमा विकेट गुमाउन पुग्यो तर चौथो नम्बरमा ब्याटिंग गरेका असद भालाले भने एक किनार सम्हालीरहे। १३८ रनमा ६ विकेट गुमाएको अवस्थामा नेपाल जित्ने परिस्थितिमा थियो। तर भालाले सातौँ विकेटको लागि चार्ल्स अमिनीसंग ६५ रनको साझेदारी गर्दै योगफल २ सय पार गराए। ४४ औं ओभरमा ३५ रन बनाएका अमिनीलाई सोमपालले बोल्ड गर्दै नेपाललाई खेलमा फर्काए। ८७ रन बनाएका भालालाई शक्ति गौचनले क्याच आउट गराए जति बेला जितको लागि १० बलमा १० रन आवस्यक थियो। गौचनले ओभरको बाँकी ४ बलमा मात्र २ रन खर्चे पछि जित्न अन्तिम ओभरमा ८ रन आवस्यक रह्यो। अन्तिम ओभरमा पारसले सोमपालको १ ओभर बाँकी रहेता पनि देब्रे हाते स्पिनर बसन्त रेग्मीलाई बल थमाए। अन्तिम ओभरको पहिलो र दोश्रो बलमा जोन रेभाले २/२ रन लिए भने तेश्रो बलमा चौका प्रहार गर्दै उनले नेपालको जित खोस्न पुगे। नेपालको लागि मेहबुब आलम र पारस खड्काले समान २ विकेट, शक्ति गौचन, सोमपाल कामि र सागर पुनले समान १ विकेट लिए।

तेश्रो भेट : सन् २०१५ नोभेम्बर, आईसीसी विश्व क्रिकेट लिग च्याम्पीयनसिप २०१, युएई

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतकै दुई दिनको अन्तरलमा दोश्रो खेलमा पनि नेपाल पपुवा न्यु गिनीसंग मात्र ३ विकेटले पराजित हुन पुग्यो।

टस जितेर ब्याटिंग रोजेको नेपालले ५० ओभरमा ८ विकेट क्षेतीमा २२४ रन बनाएको थियो। खराब सुरुवात गरेको नेपालले खाता समेत नखोलेका दुवै ओपनर अनिल मण्डल र सुबास खकुरेललाई पहिलो ओभरमै गुमाउन पुग्यो। तेस्रो नम्बरमा ब्याटिंग गरेका सागर पुनले तेश्रो विकेटको लागि ज्ञानेन्द्र मलसंग ६५ रनको साझेदारी गरे। मल्ल ३६ रन बनाएर आउट भएपछि पुन र पारस खाका बीच ५१ रनको साझेदारी भयो। अर्धशतक बनाउन ३ रनले चुकेका पुन ३३ औं ओभरमा आउट भएपछि पारसले पाँचौ विकेटको लागि शरद भेसावकरसंग ६० रन जोडे। ८१ बलमा ५८ रन बनाएर खड्का ४४ औं ओभरमा आउट भए। शरद ४२ रन बनाएर आउट भए। आठौँ नम्बरमा ब्याटिंग गरेका मेहबुब आलमले अविजित १५ रन बनाए।

२२५ रनको लक्ष्य पछ्याउने क्रममा पुनः नेपालले सुरुवात देखि पपुवा न्यु गिनीलाई दबाबमा राख्यो। सोमपाल कामिले पहिलो स्पेलमा अघिल्लो खेलका नायक असद भाला सहित शिर्ष ३ ब्याट्सम्यानको विकेट लिए। त्यसपछि बसन्त रेग्मीले मध्य क्रम ब्याट्सम्यानलाई पेभेलियन फर्काए। फलस्वरुप ११६ रनमा उसले ६ विकेट गुमाउन पुग्यो। त्यसपछि सातौं नम्बरमा ब्याटिंग गरेका ज्याक टिकी नेपालको लागि तगारो बने। उनले आठौँ विकेटको लागि जोन रिभासंग ८३ रनको अविजित साझेदारी गर्दै जितसम्म पुर्याए। अन्तिम २ ओभरमा जितको लागि ९ रन आवस्यक हुँदा अफस्पिनर इर्शाद एहमदले ४९ औं ओभरमा मात्र ३ रन खर्चेर नेपाललाई जित्ने आशा दिलाएका थिए। जित्न ६ रन आवस्यक हुँदा पारस खड्काले गरेको अन्तिम ओभरको पहिलो बलमा भारेले चौका हिर्काए भने दोश्रो र चौथो बलमा १ रन लिंदै पपुवा न्यु गिनीलाई जित दिलाए। भारेले अविजित ७६ तथा रिभाले अविजित ३१ रन बनाए। नेपालको बलिंगमा सोमपाल कामिले ३, बसन्त रेग्मीले २ तथा सागर पुन र शक्ति गौचनले समान १ विकेट लिए।

Sandeep Lamichhane

चौथों भेट : सन् २०१८ मार्च, आईसीसी विश्वकप छनोट, सातौँ स्थान प्लेअफ, जिम्बाब्वे 

नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता दिलाएको उक्त खेलमा नेपालले पपुवा न्यु गिनीलाई एक दिवसीय फर्म्याटमा पहिलो पटक पराजित गर्न सफल भएको थियो।

जिम्बाब्वेको हरारेमा सम्पन्न खेलमा टस जितेर नेपालले फिल्डिंग रोजेको थियो। सन्दिप लामिछानेले घातक बलिंग गर्दा पहिले ब्याटिंग गरेको पपुवा न्यु गिनीले पहिलो ६ विकेट ७८ रनमै गुमाउन पुग्यो। ओपनर टिपी उरा र असद भालालाई करन केसी र सोमपाल कामिले सुरुवाती स्पेलमा आउट गरे। त्यसपछि १३ औं ओभरमा स्पेलको दोश्रो ओभर गर्न आएका लामिछानेले विकेटको खाता खोले। सन्दिपले १५ औं, १७ औं र १९ औं ओभरमा विकेट लिंदै माथिल्लो क्रम ध्वस्त पारे। त्यसपछि अफस्पिनर दिपेन्द्र ऐरीले तल्लो क्रमका ४ ब्याट्सम्यानलाई पेभेलियन फर्काए। फलस्वरुप पपुवा न्यु गिनी २७.२ ओभरमा ११४ रनमै समेटिन पुग्यो। सन्दिप र दिपेन्द्रले समान ४ विकेट लिए।

११५ रनको लक्ष्य नेपालले ४ विकेट गुमाएर २३ ओभरमा भेटायो। खराब सुरुवात गरेको नेपालले ३५ रनमा पहिलो ३ विकेट गुमाउन पुगेको थियो। ज्ञानेन्द्र मल्ल १, अनिल शाह ९ तथा पारस खड्का २० रन बनाएर आउट भए। त्यसपछि दिपेन्द्र ऐरी र आरिफ शेखले चौथो विकेटको लागि ६७ रनको साझेदारी गर्दै जितको दिशा दिए। आरिफ २६ रन बनाएर आउट भए भने प्लेयर अफ द म्याच चुनिएका दिपेन्द्रले अविजित ५० रन बनाउदै जितसम्म पुर्याए।





थप समाचार

जय ट्रफी : पहिलो दिन १७ ओभरको खेल, भुर्तेलको अर्धशतक

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत फाइनल खेलको पहिलो दिन समाप्त हुँदा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ८५ रनको […]

प्रधानमन्त्री कप : एपिएएफको सुखद सुरुआत

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको विजयी सुरुआत

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार […]

अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं । यु-१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ। मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार […]

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]