- विकेटनेपाल, फाल्गुन २९- मंगलबार
आईसीसी बिश्वकप छनौट अन्तर्गत समुहको अन्तिम खेलमा नेपालले हंगकंगलाई ५ विकेट पराजित गर्दै समुह चरणको खेलको अन्त्य गर्यो। समुह ‘बि’ बाट स्कटल्याण्ड, जिम्बाबे र अफगानिस्तान सुपर सिक्स चरण प्रवेश गर्दा नेपाल र हंगकंग भने चौथो र पाँचौ स्थानमा रह्यो। समुह ‘ए’ बाट वेस्ट इन्डिज, आयरल्याण्ड र युएई सुपर सिक्स प्रवेश गर्यो भने नेदरल्याण्ड र पपुवा न्यु गिनी चौथो र पाँचौ स्थानमा रह्यो।
समुह चरणको खेल पछि अंकतालिका
समुह चरणको खेल पछि अब मार्च १५ देखि सुपर सिक्स चरण सुरु हुनेछ भने सोहि दिन नेपाल सहित सुपर सिक्स नपुगेका ४ देश सातौँ स्थानको लागि प्लेअफ खेल्नेछन्। सुपर सिक्सबाट अंकतालिकामा उत्कृस्ट २ हुने टिम २०१९ को इंग्ल्यान्डमा हुने बिश्वकप खेल्न छनौट हुनेछ।
सुपर सिक्स पुग्न नसकेका ४ टिम बीच भने एकदिवसीय मान्यता र डिभिजन-१ मै रहन प्रतिस्पर्धा हुनेछ। आईसीसीले अधिकारिक घोषणा नगरेपनि अन्य ठुला अन्तर्राष्ट्रिय मिडियाका अनुसार बिश्वकप छनौटको पुछारमा रहने २ एसोसिएट रास्ट्रले २०१९ को बिश्व क्रिकेट लिग डिभिजन-२ मा प्रतिस्पर्धा गर्नुपर्नेछ। उक्त डिभिजन-२ मा उत्कृस्ट हुने २ टिमले बिश्व क्रिकेट लिग च्याम्पियनसिप २०२०-२०२२ खेल्नेछ।
नेपालको खेल पपुवा न्यु गिनीसंग, जित्दा के हार्दा के ?
प्रतियोगितामा उत्कृस्ट ३ एसोसिएट रास्ट्रलाई ४ बर्षको लागि अस्थाई एकदिवसीय राष्ट्रको मान्यता दिने अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले घोषणा गरेको हुँदा अब सुपर सिक्स पुग्न असफल रास्ट्रहरु नेपाल, हंगकंग र पपुवा न्यु गिनीको लक्ष्य एकदिवसीय रास्ट्रको मान्यता पाउने रहेको छ। प्रतियोगिताको समुह ‘ए’ बाट युएईले तथा समुह ‘बि’ बाट स्कटल्याण्डले एकदिवसीय मान्यता पाउने निश्चित भएको छ। अब एकदिवसीय मान्यता पाउन एउटा मात्र देशको निर्क्योल हुन बाँकी छ। नेपाल, पपुवा न्यु गिनी र हंगकंग मध्ये उत्कृस्ट हुने १ टिमले एकदिवसीय मान्यता पाउनेछ।
जित्दा के हार्दा के ?
नेपाल Vs पपुवा न्यु गिनी – मार्च १५ तारिक , नेदरल्याण्ड Vs हंगकंग – मार्च १५
१. समुह ‘बि’ को चौथो स्थानमा रहेकोले अब नेपालले प्लेअफमा समुह ‘ए’ को अन्तिम टिम पपुवा न्यु गिनीको मार्च १५ मा सामना गर्नेछ र नेपालले पपुवा न्यु गिनीलाई पराजित गर्नेपर्नेछ। पपुवा न्यु गिनीलाई पराजित गरेपछि नेपालले सातौँ स्थानको लागि प्रतिस्पर्धा गर्न पाउनेछ। हंगकंग र नेदरल्याण्ड बीच मार्च १५ मै प्ले-अफको अर्को खेल हुनेछ जसमा यदी हंगकंग पराजित भए र नेपालले पपुवा न्यु गिनीलाई पराजित गरेको खण्डमा नेपालले सातौँ स्थानको खेल नखेली एकदिवसीय रास्ट्रको मान्यता पाउनेछ। किनकि सातौं स्थानको लागि नेदरल्याण्डसंगको खेल हुनेछ र नेदरल्याण्डले एकदिवसीय मान्यता पाइसकेकोले नतिजा जे भए पनि नेपालले एकदिवसीय मान्यता पाउनेछ।
२. यदी नेपालले पपुवा न्यु गिनीलाई पराजित गर्यो र उता हंगकंगले पनि नेदरल्याण्डलाई पराजित गर्यो भने नेपाल र हंगकंग बीच सातौँ स्थानको लागि खेल हुनेछ जुन खेलको बिजेताले एकदिवसीय मान्यता पाउनेछ।
३. यदी नेपालले पपुवा न्यु गिनीसंगको प्ले-अफ खेल हारेमा नेपालले एकदिवसीय मान्यता पाउने बाटो बन्द हुनेछ। नेपाल हारे पपुवा न्यु गिनीले सातौ स्थानको लागि नेदरल्याण्ड र हंगकंगसंगको बिजेता टिमसंग खेल्नेछ। नेदरल्याण्डले हंगकंगलाई पराजित गर्ने र नेपालले पपुवा न्यु गिनीसंग हारे पपुवा न्यु गिनीले एकदिवसीय मान्यता पाउनेछ।
एकदिवसीय मान्यता पाए के हुन्छ ?
१. एकदिवसीय मान्यता पाउनु भनेको नेपालको लागि निकै ठुलो फड्को हुनेछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषदले टिमलाई छुट्याउने बजेट ठुलो हुनेछ ( बार्षिक ७-८ करोड ) जसले स्तरीय प्रशिक्षक, अभ्यास भ्रमणहरु, खेलाडीको भत्ता, सुबिधा, नियमित प्रशिक्षणको लागि नेपाललाई आर्थिक सहजता हुनेछ।
२. प्रतियोगिताहरु निकै कम खेल्न पाउने नेपालले नियमित रुपमा ठुला प्रतियोगिताहरु बिश्व क्रिकेट लिग च्याम्पियनसिप, इन्टर कन्टिनेन्टल कप जस्ता प्रतियोगिताहरु खेल्न पाउनेछ। साथै एसिया कप जस्तो ठुलो प्रतियोगितामा समेत नेपालको सहभागिता सहज हुन सक्छ जहाँ भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान जस्ता टेस्ट रास्ट्रहरु खेल्छन्।
३. यस्तै नेपालले खेलेको खेलले एकदिवसीय मान्यता पाउनेला आईसीसीको वरियतामा नेपाली टिम उभिनेछ।
भ्रम
एकदिवसीय मान्यता पाएमा ठुला देश अस्ट्रेलिया, भारतसंग खेल्नेछ भन्ने कुरा भने हैन। जबसम्म नेपालमा क्रिकेट संघ बलियो हुँदैन तब सम्म ठुला रास्ट्रहरुसंग खेल्न मुस्किलनै छ। उदाहरणको लागि नेपालले सन् २०१४ को टि-२० बिश्वकप खेलेपछि टि-२० रास्ट्रको मान्यता पाएको थियो तर त्यो अवधिमा नेपालले मात्र ६ वटा टि-२० अन्तर्राष्ट्रिय खेल्यो त्यो पनि हंगकंग र नेदरल्याण्डसंग। अफगानिस्तान र आयरल्याण्डले टेस्ट रास्ट्रको गत बर्ष मान्यता पाएपनि हालसम्म एउटा पनि टेस्ट खेलेको छैन। त्यसैले जबसम्म नेपाली क्रिकेट बलियो हुँदैन ठुला रास्ट्रहरुसंग खेल्ने वातावरण बन्न मुस्किलनै हुनेछ।
( फोटोहरु – आईसीसी/फाइल तस्बिर )