- विकेटनेपाल, फाल्गुन २२ – मंगलबार
जिम्बाबेमा जारि बिश्वकप छनोट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा आयोजक जिम्बाबेसँग ११६ रनको फराकिलो अन्तरले पराजित नेपालले मार्च ८ तारिखमा ( बिहिबार ) स्कटल्याण्डको सामना गर्दैछ। टेस्ट रास्ट्र अफगानिस्तानलाई आफ्नो पहिलो खेलमा पराजित गरेको स्कटल्याण्डले दोश्रो जित हाँसिल गर्नेक्रममा हंगकंगलाई पराजित गरिसकेको छ।

सुपर सिक्स चरण प्रवेश गर्दै एकदिवसीय रास्ट्रको मान्यता तथा बिश्वकप छनोट हुने लक्ष्यका साथ जिम्बाबे पुगेको नेपाल पहिलो खेलको हार बिर्साउने प्रयासमा हुनेछ भने स्कटल्याण्ड लगातार तेश्रो खेल जित्दै २०१९ मा इंग्ल्यान्डमा आयोजना हुने बिश्वकपमा दाबेदारी प्रस्तुत गर्ने दाउमा हुनेछ। इतिहास हेर्दा नेपालले स्कटल्याण्डसँग हालसम्म ३ पटक प्रतिस्पर्धा गरेको छ। प्रस्तुत छ उक्त ३ खेलमा नतिजा कसको पक्षमा रहेको थियो-
नेपाल Vs स्कटल्याण्ड: हेड टु हेड
आईसीसी विश्वकप छनोट, १६ जनवरी २०१४
न्युजिल्याण्डमा आयोजना भएको छनोट प्रतियोगितामा खराब प्रदर्शन गरेको नेपालले स्कटल्याण्डसँग ९० रनको फराकिलो अन्तरले पराजित भएको थियो। टस हारेर पहिले ब्याटिंग गरेको स्कटल्याण्डले फ्रेडेरिक कोलेम्यानले अविजित ६४ रन (६७ बल, ४ चौका, १ छक्का), कालुम स्कट म्याकलोड़ले ४६ रन (४८ बल, ६ चौका), म्याथ्यु मचानले ३७ रन (४७ बल, ३ चौका) प्रहार गरेपछि ५० ओभरमा ७ विकेट गुमाएर २४९ रनको योगफल तयार पारेको थियो। नेपालका सोमपाल कामिले ३५ रन खर्चेर ३ विकेट तथा सागर पुनले २ विकेट लिएका थिए।

अस्वस्थ रहेका कारण कप्तान पारस खड्का अनुपस्थित रहेको खेलमा कप्तानी गरेका ज्ञानेन्द्र मल्लले ३४ रन (६१ बल, ६ चौका), शरद भेसावकरले ३० रन (६४ बल, १ चौका) बनाएपनि नेपालले ४६.१ ओभरमा सबै विकेट गुमाउंदै १५९ रनमात्र बनाउन सक्यो। स्कटल्याण्डका ईएन् वार्डलले ३२ रन खर्चेर ३ विकेट तथा रोबर्ट टेलर र राना मजिद हक खानले समान २/२ विकेट लिएका थिए।
विश्व क्रिकेट लिग च्याम्पियनसिप (पहिलो खेल), २९ जुलाई २०१५
स्कटल्याण्डमा आयोजना भएको रोमान्चक खेलमा नेपाल ३ रनको झिनो अन्तरले पराजित भएको थियो । उक्त खेलमा पनि टस हारेर पहिले ब्याटिंग गरेको स्कटल्याण्डले तत्कालिन कप्तान प्रिस्टन मोमेन्सनको आक्रामक ७८ रन तथा कोन डे लांगेको अविजित ५५ रनको मद्दतमा बर्षाले ३६ ओभरमा झारिएको खेलमा ७ विकेट गुमाउंदै २३५ रन बनाएको थियो। यस्तै कायल कोट्ज़रले ४१ रन बनाएका थिए। नेपालका पारस खड्का र बसन्त रेग्मीले २/२ तथा सोमपाल कामि र करन केसीले १/१ विकेट लिएका थिए।
जवाफमा अनिल मण्डलले १०० रन (९३ बल, ९ चौका, १ छक्का) तथा पारस खड्काले ७० रन (५५ बल, ४ चौका, २ छक्का) को पारि खेलेपनि नेपाल झिनो अन्तरले चुकेको थियो। कुनै समय २१५/२ को अवस्थामा रहेको नेपालले थप ४ रन जोड्दा ३ विकेट गुमाएपछी खेल जित्न असफल भएको थियो। गाविन थोमस मेनले २ विकेट लिएका थिए।
विश्व क्रिकेट लिग च्याम्पियनसिप (दोश्रो खेल), ३१ जुलाई २०१५
स्कटल्याण्डसँग टस हारेको नेपालले पुनः ९ विकेटले पराजित हुन पुग्यो। पहिले ब्याटिंग गरेको नेपालले शरद भेसावकरको सर्वाधिक ३० रन (६६ बल, २ चौका) को मद्दतमा ४९.१ ओभरमा सबै विकेट गुमाउंदै १६७ रन मात्र बनाउन सक्यो। एलेस्डर इभान्सले १८ रन खर्चेर ३ विकेट तथा सफ्यान शरिफ, गाविन थोमस मेन माइकल लिस्कले २/२ विकेट लिएका थिए।
जवाफमा स्कटल्याण्डले १.४ ओभरमा १५/० रन बनाएको अवस्थामा बर्षा भएपछी स्कटल्याण्डलाई २२ ओभरमा ११० रनको लक्ष्य दिईएको थियो तर त्यो समयमा खेल सम्भब नभएपछी खेललाई रिजर्ब डेमा सार्दै त्यहींबाट निरन्तरता दिएको थियो । स्कटल्याण्डले दोश्रो दिन १३.५ ओभरमा मात्र १ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । उसका हेनरी जर्ज मुन्सीले अविजित ४० रन (४१ बल, ५ चौका, २ छक्का) तथा म्याथ्यु क्रसले अविजित ५१ रन (३७ बल, ४ चौका, २ छक्का) बनाउंदै दोश्रो विकेटको लागि अविजित ८९ रनको साझेदारी गरेका थिए।