U19 Asia Cup : नेपालको दोश्रो खेल श्रीलंकासंग, ‘गर या मर’को स्थिति

२०७८ पुष ११, आईतवार ०५:२०

युएईमा जारि अन्डर-१९ एसिया कप प्रतियोगिता अन्तर्गत आफ्नो दोश्रो खेलमा नेपाल श्रीलंकासंग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समय ११:१५ बजे बिहान शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ।

प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपाल बंगलादेशसंग १५४ रनले पराजित भएको थियो। श्रीलंकाले पहिलो खेलमा कुवेतलाई २७४ रनले पराजित गरेको थियो।

समुह ‘बि’ मा रहेको नेपाल सेमीफाइनल पुग्ने सम्भावना जीवित राख्न आज जित अत्यावश्यक छ। श्रीलंकाले नेपाललाई पराजित गरेको खण्डमा नेपाल पहिलो चरणबाट बाहिर हुनेछ भने श्रीलंका बंगलादेशसंगै सेमीफाइनल पुग्नेछ। बंगलादेशले हालसम्म खेलेको दुवै खेल जितेको छ भने कुवेतले खेलेको दुवै खेलमा हार बेहोरेको छ।

श्रीलंकासंगको अन्डर-१९ मा नेपालको इतिहास हेर्ने हो भने इतिहासमै नेपालले श्रीलंकालाई पराजित गर्न सकेको छैन। अन्तिम पटक नेपालले २०१९ मा श्रीलंकामा आयोजित यु-१९ एसिया कपमा प्रतिस्पर्धा गर्दा श्रीलंका ५ विकेटले विजयी भएको थियो। नेपालले दिएको १६० रनको लक्ष्य श्रीलंकाले ३३.४ ओभरमै भेटाएको थियो। त्यस अघि सन् २०१६ मा श्रीलंकामा आयोजित यु-१९ एसिया कपमा नेपाल रोमान्चक खेलमा १ रनले पराजित भएको थियो। श्रीलंकाले दिएको २२८ रनको लक्ष्य पछ्याउने क्रममा दिपेन्द्र ऐरीले ९० रन बनाएता पनि जित दिलाउन सकेका थिएनन्।

बंगलादेशसंग पहिलो खेलमा नेपालले ब्याटिंग र बलिंग दुवै खेलमा राम्रो प्रदर्शन गर्न सकेको थिएन। नेपालका दुवै मुख्य पेसर दुर्गेश गुप्ता र गुल्सन झा तथा स्पिनर बसिर एहमद र तिलक भण्डारीले पनि प्रभावहिन रहेका थिए। नेपाली बलरले बंगलादेशको मात्र ३ विकेट लिन सकेका थिए। बंगलादेशले दिएको २९८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४२.३ ओभरमा १४३ रन मात्र बनाउन सकेको थियो। सो क्रममा नेपालको माथिल्लो क्रम फ्लप रहेको थियो। गुल्सन झाको ३५ रन इनिंग्सको सर्वाधिक रन थियो। अर्जुन साउद, देव खनाल, अर्जुन कुमाल, सन्तोष कार्की जस्ता ब्याटरहरु लामो समय क्रिजमा जम्न सकेका थिएनन्।

श्रीलंकासंग नेपालले अन्तिम-एघारमा परिवर्तन गर्न सक्छ। अफ स्पिन अलराउण्डर शेर मल्ल अथवा देब्रे हाते स्पिन अलराउण्डर दिपेश कंडेलले मौका पाउन सक्नेछन् जसले बलिंग थप मजबुत बनाउन सक्नेछ। बसिर एहमद या आदील अन्सारी बाहिर हुन सक्नेछन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy