चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलिया विरुद्ध रेकर्ड वर्षा गरेको छ। स्कोरकार्ड
अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेको मंगोलियाले टस जितेर फिल्डिंग रोजेपछि नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर कीर्तिमानी ३१४ रन बनायो।
नेपालको ब्याटिंगमा कुशल मल्लले अविजित १३७ रन बनाए जुन क्रममा ५० बलमा ८ चौका र १२ छक्का प्रहार गरे। कप्तान रोहित पौडेलले २७ बलमा२ चौका र ६ छक्का मद्दतले ६१ रन बनाए भने दिपेन्द्र एरीले १० बलमा ८ छक्का मद्दतले अविजित ५२ रन बनाए।
खेलमा बनेका विश्वविश्वकीर्तिमान
सबैभन्दा ठूलो योगफल : ३१४ रनको योगफल टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि देशले बनाएको सबैभन्दा ठूलो योगफल हो। पहिलो पटक कुनै देशले टि-२० अन्तर्राष्ट्रियमा तिन सय रनको योगफल पार गरेको हो। यस अघि अफगानिस्तानले आयरल्याण्ड विरुद्ध तथा चेज रिपब्लिकले टर्की विरुद्ध सन् २०१९ मा २७८ रनको योगफल बनाएका थिए जुन रेकर्ड नेपालले पछि पारेको हो।
सबैभन्दा छिटो शतक : खेलमा देब्रे हाते ब्याट्सम्यान कुशल मल्लले ३४ बलमा शतक पुरा गर्दै विश्वरेकर्ड बनाए। यस अघि अस्ट्रेलियाका डेभिड वार्नर, भारतका रोहित शर्मा र चेज रिपब्लिकका एस विक्रमसेकराले ३५ बलमा शतक बनाउदै यो रेकर्ड बनाएका थिए जसलाई कुशलले पछि पारेका हुन्।
सबैभन्दा छिटो अर्धशतक : युवराज सिंहले २००७ मा इंग्ल्यान्ड विरुद्ध बनाएको १२ बलको अर्धशतकको रेकर्ड तोड्दै दिपेन्द्र ऐरीले नयाँ विश्वरेकर्ड बनाएका छन्। ऐरीले मात्र ९ बलमा अर्धशतक पुरा गरेका हुन्। यस क्रममा उनले सामना गरेको पहिलो ६ बलमा छक्का गरेका थिए।