काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिज तेस्रो खेल आज हुदैछ ।
नेपाल र वेस्ट इन्डिज ए बीचको तेस्रो खेल टियु क्रिकेट मैदान कीर्तिपुरमा मध्यान्ह सवा १२ मा सुरु हुदैछ । पहिलो टी-२० मा ४ विकेटको जित निकालेको नेपालले दोस्रो खेल १० रनले गुमाएको थियो । यस खेल जितेर नेपाल सिरिजमा २-१ को अग्रता लिन चाहन्छ । उता, वेस्ट इन्डिज पनि यस खेल जित्दै सिरिजमा २-१ को अग्रता लिन चाहन्छ ।
वेस्ट इन्डिजको कुनै पनि टोली पहिलो पटक नेपाल भ्रमणमा छ । नेपालले जिम्बावेमा गत वर्ष वेस्ट इन्डिजको सिनियर टोलीसँग एकदिवसीय विश्वकप छनोट खेले तापनि टी-२० मा वेस्ट इन्डिजको कुनै पनि टोलीसँग पहिलो पटक खेल्दैछ ।
वेस्ट इन्डिजको ए टोलीमा सिनियर टोलीको प्रतिनिधित्व गरिसकेका १२ खेलाडी रहेका कारण टोली बलियो रहेको छ ।
सिरिजको चौथो खेल बैशाख २० मा हुँदा पाँचौ तथा अन्तिम खेल बैशाख २२ मा हुनेछ । पाँचै खेल टियु क्रिकेट मैदान कीर्तिपुरमा आयोजना हुनेछ । नेपाली टोलीले टी-२० विश्वकपको तयारीका लागि यो सिरिज खेल्दै छ ।
नेपाली टोली : रोहितकुमार पौडेल(कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, विवेक यादव, गुलसन झा, अनिल शाह, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, प्रतिश जिसी, करण केसी, सोमपाल कामी, अभिनास बाहोरा, आकाश चन्द, आरिफ शेख, लोकेश बम, विनोद भन्डारी, सागर ढकाल र कमलसिंह ऐरी ।
वेस्ट इन्डिज ए टोली : रोस्टन चेस (कप्तान), एलिक एथानाजे, फबिएन एलेन, कदिम एलियन, जोसुवा विसोप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओसान थोमस र हायडेन वाल्स ।