अमेरिकामा पहिलो अभ्यास खेल खेल्दै नेपाल

२०८१ जेष्ठ ११, शुक्रबार १०:५०

काठमाडौं । आगामी जुनमा अमेरिक र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपको अन्तिम तयारीका लागि अमेरिकामा रहेको नेपाली टोलीले अमेरिकामा पहिलो अभ्यास खेल आज खेल्दैछ ।

नेपालले आफ्नो पहिलो अभ्यास खेलमा नेपाली राष्ट्रिय टोलीले स्थानिय ह्युस्टन हरिकेन्सको सामना गर्नेछ । खेल नेपाली समय अनुसार बेलुका सवा नौ मा सुरु हुनेछ ।

नेपालले सोहि टोलीसँग दोस्रो तथा अन्तिम अभ्यास खेल आइतबार बिहान खेल्नेछ । त्यसपछि नेपालले विश्वकपको दुई औपचारिक वार्मअप खेल खेल्नेछ । ४ जुन अर्थात जेठ २२ मा नेदरल्यान्ड्ससँग खेल्दै नेपालले टी-२० विश्वकप सुरुआत गर्नेछ ।

नेपालबाट अमेरिका पुगेको नेपाली टोली आफ्नो विश्वकपको दुई खेल रहेको वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा गएर तीन अभ्यास खेल खेलेको थियो । नेपालले स्थानिय टिमसँगको तीन खेलको अभ्यास खेलको सिरिज २१ ले जितेको थियो ।

नेपाल विश्वकपमा

नेपालले दोस्रो पटक विश्वकपमा सहभागीता जनाउँन लागेको हो । यस विश्वकपमा २० राष्ट्रले सहभागीता जनाउँदै छन् । सहभागी २० राष्ट्रलाई चार समूहमा विभाजन गरिएको छ । विश्वकपमा नेपाल समूह डी मा रहेको छ । नेपालको समूहमा नेदरल्यान्ड्स, बंगलादेश, श्रीलंका तथा दक्षिण अफ्रिका छन् ।

विश्वकपमा नेपालको पहिलो खेल ४ जुन अर्थात जेठ २२ मंगलबारको दिन नेदरल्यान्ड्ससँग हुनेछ । यो खेल नेपाली समयअनुसार बेलुका सवा ९ मा अमेरिकाको डालसमा हुनेछ । विश्वकपको दोस्रो खेलमा नेपालले १२ जुन अर्थात ३० जेठ बुधबारको दिन लाउडेरहिलमा खेल्नेछ । दोस्रो खेलमा श्रीलंकासँग खेल्ने नेपालको यस खेल नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ ।

दोस्रो खेल पछि आफ्नो बाँकी दुई खेलका लागि नेपाल वेस्ट इन्डिज जानेछ । वेस्ट इन्डिजमा १५ जुन अर्थात असार १ मा दक्षिण अफ्रिकासँग खेल्नेछ । यस खेल पनि नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ । खेल सेन्ट भिन्सेन्टमा हुनेछ । विश्वकपको समूह चरणको चौथो तथा अन्तिम खेलमा १७ जुन अर्थात असार ३ मा बंगलादेशसँग सेन्ट भिन्सेन्टमा नै खेल्नेछ । यो खेल पनि नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ ।

विश्वकपमा सहभागीता जनाउँने १५ सदस्यीय नेपाली टोलीको नेपाल क्रिकेट संघ (क्यान) ले घोषणा गरिसकेको छ ।

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुलसन झा, अनिल शाह, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, प्रतिश जिसी, करण केसी, सोमपाल कामी, अभिनास बाहोरा, सागर ढकाल र कमलसिंह ऐरी ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy