दोस्रो वार्मअप खेलमा अमेरिकासँग खेल्दै नेपाल

२०८१ जेष्ठ १७, बिहीबार ०८:३६

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा आगामी जुन १ बाट सुरु हुने नवौं संस्करणको टी-२० विश्वकपको तयारी स्वरुप नेपालले आज दोस्रो वार्मअप खेल खेल्दैछ ।

दोस्रो वार्मअप खेलमा नेपालले घरेलु टोली अमेरिकासँग डालसमा रहेको ग्रान्ड प्रेरी स्टेडियममा नेपाली समय अनुसार बेलुका सवा नौ मा खेल्दैछ । नेपालले पहिलो वार्मअप खेलमा क्यानडासँग हार व्यहोरेको थियो ।

नेपालले पहिलो वार्मअप म्याच पनि यही स्टेडियममा नै खेलेको थियो । यहीँ स्टेडियममा नेपालले विश्वकपको आफ्नो पहिलो खेल खेल्दैछ । विश्वकपको खेल खेल्ने मैदानमा नै दुवै वार्मअप खेल खेल्न पाउनु नेपालका लागि फाइदाजनक हुनसक्छ ।

नेपालले वार्मअप खेल खेल्न लागेको अमेरिका समूह ए मा रहेको छ । अमेरिकाका अलावा समूह ए मा भारत, पाकिस्तान, क्यानडा र आयरल्यान्ड रहेका छन् । अमेरिका र क्यानडाबीचको खेलबाट यस संस्करणको विश्वकपको सुरुआत हुनेछ ।

विश्वकपमा नेपाल

दश वर्ष पछि विश्वकप खेल्दै गरेको नेपाल २० राष्ट्र सहभागी प्रतियोगिताको समूह डी मा रहेको छ । नेपाल रहेको समूहमा नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् । विश्वकपमा नेपालको पहिलो खेल ४ जुन अर्थात जेठ २२ मंगलबारको दिन नेदरल्यान्ड्ससँग हुनेछ । यो खेल नेपाली समयअनुसार बेलुका सवा ९ मा अमेरिकाको डालसमा हुनेछ । विश्वकपको दोस्रो खेलमा नेपालले १२ जुन अर्थात ३० जेठ बुधबारको दिन लाउडेरहिलमा खेल्नेछ । दोस्रो खेलमा श्रीलंकासँग खेल्ने नेपालको यस खेल नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ ।

दोस्रो खेल पछि आफ्नो बाँकी दुई खेलका लागि नेपाल वेस्ट इन्डिज जानेछ । वेस्ट इन्डिजमा १५ जुन अर्थात असार १ मा दक्षिण अफ्रिकासँग खेल्नेछ । यस खेल पनि नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ । खेल सेन्ट भिन्सेन्टमा हुनेछ । विश्वकपको समूह चरणको चौथो तथा अन्तिम खेलमा १७ जुन अर्थात असार ३ मा बंगलादेशसँग सेन्ट भिन्सेन्टमा नै खेल्नेछ । यो खेल पनि नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ ।

विश्वकपमा सहभागीता जनाउँने १५ सदस्यीय नेपाली टोलीको नेपाल क्रिकेट संघ (क्यान) ले घोषणा गरिसकेको छ ।

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुलसन झा, अनिल शाह, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, प्रतिश जिसी, करण केसी, सोमपाल कामी, अभिनास बाहोरा, सागर ढकाल र कमलसिंह ऐरी ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy