काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ ।
बिहीबार भएको दोस्रो अभ्यास खेलमा नेपाल ४९ रनले विजयी भएको हो । मंगलबार भएको पहिलो अभ्यास खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । यस जितसँगै नेपालले यस तीन खेलको अभ्यास सिरिज एक खेल अगाबै जितेको छ ।
नेपालले दिएको १ सय ८० रनको लक्ष्य पछ्याएको भोलक्यान्स १८ दशमलब ३ ओभरमा अल आउट हुँदै १ सय ३० रन मात्र बनायो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो ।
नेपालका लागि अनिलकुमार शाहले २७ बलमा ५० रनको अर्धशतकीय ईनिङ खेले । कप्तान रोहितकुमार पौडेलले ३३ बलमा ४१ रन बनाए ।
ओपनर कुशल भुर्तेलले २८ बलमा ३८ तथा दीपेन्द्रसिंह ऐरीले १४ बलमा २६ रन बनाए ।