नेपाली क्रिकेटको अबको बाटो

  • ई. प्रवीण आचार्य

नेपाली क्रिकेटको अन्तराष्ट्रिय क्रिकेट परिषदबाट करिब ३ वर्ष लामो निलम्बन सशर्त फुकुवा भएको दुई वर्ष भएको छ। सन् २०१६ मा नेपाल क्रिकेट संघ (क्यान) मा राजनीतिक हस्तक्षेप भएको भन्दै नेपाली क्रिकेट निलम्बनमा परेको थियो भने हाल स्वतन्त्र निर्वाचन पश्चात क्यानको नयाँ समितिको गठन भएसँगै निलम्बन आँशिक रुपमा फुकुवा हुनुका साथै नेपालले अन्तराष्ट्रिय क्रिकेट परिषदबाट पाउनुपर्ने सहयोग पुन पाएको छ। केही दिन अगाडी नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले आफ्नो खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् भने हालका राष्ट्रिय टोलीका प्रशिक्षक डेभ वाटमोरले समेत राजिनामा दिने भएका छन्। एशोशियट देशहरु मध्येमा सबैभन्दा लामो समय (करिब १० वर्ष) देशको क्रिकेट टोलीको कप्तानको भूमिका निभाएका र सर्वाधिक सफल खेलाडी पारसको सन्यास घोसणा र प्रशिक्षकको राजिनामासँगै नेपाली क्रिकेट जगत पुनः एक पटक तरङ्गित बन्न पुगेको छ। नेपाली क्रिकेटको निलम्बन फुकुवा, पारसको सन्यास, प्रशिक्षकको राजिनामा र नेपाली क्रिकेट विकाशका लागि आगामी दिनमा अपनाउनुपर्ने भूमिकाको सेरोफेरोमा यो लेख तयार गरिएको छ।

सन् १९९६ मा अन्तराष्ट्रिय क्रिकेट परिषदबाट एशोशियट राष्ट्रको मान्यता पाएसँगै नेपालमा आधिकारिक क्रिकेट खेलको सुरुवात भएको मानिन्छ। यो करिब २-३ वर्षे यात्रामा क्रिकेट खेलले नेपाली मन मुटुमा छुट्टै छाप छाड्न सफल भएको छ। हाल क्रिकेट (फुटबलसँगसँगै) देशको सबैभन्दा लोकप्रिय खेल भइसकेको छ। नेपाली क्रिकेट विकासलाई नियाल्दा, नेपाली युवा टोलीले विगतमा राम्रो प्रदर्शन गर्दै आइरहेको परिप्रेक्ष्यमा सिनीयर टोलीले सन् २०१०  मा काठमाडौँमा भएको विश्व क्रिकेट लिग डिभिजन-५ प्रतियोगिताबाट ठूलो फड्को मार्न सुरु गरेको मान्न सकिन्छ।यस प्रतियोगितामा विजयी हुँदै नेपालले क्रमिक रुपमा डिभिजन-१ सम्मको यात्रा तय गरेको थियो भने सन् २०१४vको टि-२० विश्वकपमा छनोट हुन पनि सफल भएको थियो।

यसका साथै २०१९ को विश्वकप छनोट प्रतियोगितामा नवौँ स्थानमा रहन सफल हुँदै नेपालले सन् २०१८मा एकदिवशीय अन्तराष्ट्रिय मान्यता पाउन सफल भएको थियो। तर यी सबै सफलताका बीचमा २०१६मा नेपाली क्रिकेट निलम्बनमा पर्नुलाई नेपाली क्रिकेट इतिहासकै कालो दिनका रुपमा लिन सकिन्छ। एकातिर विस्तारै सफलताको सिँडी चढ्दै गरेको नेपाली क्रिकेटले अझ उचो स्थानमा पुग्नका लागि थप तल्लिन हुनुपर्ने समयमा अभिभावक विहिन हुन पुग्यो भने अर्कातिर कमजोर घरेलु संरचना अझ तहसनहस भयो।

लेखक प्रवीण आचार्य

नेपालमा क्रिकेट खेल र खेलाडीहरुको भविष्यमानै गम्भीर प्रश्नचिन्ह खडा हुने स्थिति पैदा हुनपुग्यो भने राष्ट्रियस्तरमा प्रतियोगिताहरु सञ्चालन हुन सकेनन्। यस्तो स्थितिमा निजि क्षेत्रबाट आयोजना गरिएका एभरेष्ट प्रिमियर लिग, धनगढी प्रिमियर लिग, पोखरा प्रिमियर लिगजस्ता प्रतियोगिताले केही मात्रामा भएपनि प्रतियोगिताविहिनताको कमिलाइ पूर्ति गर्ने प्रयास गरे।तर आगामी दिनमा निलम्बन फुकुवा भए पश्चात नेपाली क्रिकेटले योजनावद्ध हिसाबले अगाडी बढ्नुपर्ने देखिन्छ। यसका साथै सन् २००९बाट नेपाली राष्ट्रिय टोलिको कप्तानी सम्हालेका र नेपाली क्रिकेट निलम्बनमा परेका समयमा पनि राष्ट्रिय टोलीलाई विचलित हुन नदिइ कुशल नेतृत्व प्रदान गर्नुका साथै नेपाली क्रिकेटले हाशिल गरेका सबै जसो सफलतामा केन्द्रमा रही प्रदर्शन गरेका सफल कप्तान पारस खड्काले राष्ट्रिय टोलीबाट सन्यास लिएको परिप्रेक्ष्यमा नयाँ कप्तान तथा खेलाडिले यस परिस्थितिलाई चुनौती भन्दा अवसर सम्झी अगाडी बढ्न जरुरी हुनेछ।

नेपाली क्रिकेट विकाशको मार्गचित्र निर्धारणका लागि अन्य उदाउँदा राष्ट्रले चालेका र चालिरहेका कदम बारेमा पनि चर्चा गर्न उपयुक्त हुन्छ।करिब १० बर्ष पहिले अफगानिस्तान र नेपाल समान हैसियतमा थिए। युद्धबाट आक्रान्त अफगानस्थानले मूलत पाकिस्तानमा शरणार्थीका रुपमा बसी क्रिकेट खेल्दै गरेका खेलाडीहरुबाट राष्ट्रिय टोली बनाइ अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिन सुरुवात गरेको थियो। त्यस समयमा अफगानस्थानमा खेल्नका लागि एउटा पनि स्तरीय मैदान थिएन तर आज टेस्ट रास्ट्रको मान्यता पाइसकेको अफगानस्थान क्रिकेट जगतमा उदाउँदो शक्ति हो। हाल थुप्रै अफगानस्थानका खेलाडीहरुले विदेशी लिगहरुमा भाग लिँदै आइरहेका छन् भने उसका ३४ प्रान्त मध्ये ३२ प्रान्तको आफ्नो प्रान्तीय टोली छ र वर्षको करिब छ महिना खेलाडीहरु घरेलु प्रतियोगितामा व्यस्त हुने गर्दछन्। यसका साथै अन्य देशहरुलाई नियाल्दा आयरल्याण्ड, स्कटल्याण्ड जस्ता रास्ट्रका खेलाडीहरुले इंग्ल्यान्डको घरेलु लिगमा भाग लिने गरेका छन् भने युएई, ओमान, कतार, अमेरिका, क्यानाडा, हंगकंग जस्ता राष्ट्रहरुले देशभित्रका खेलाडीहरु बाहेक भारत, पाकिस्तान लगायतका देशका खेलाडीहरु अनुबन्ध गरि आफ्नो राष्ट्रिय टोलीबाट खेलाउँदै आइरहेको पाइन्छ। यी देशका खेलाडीहरुले आफ्नो मुख्य पेशानै क्रिकेटलाइ बनाउने गरेका छन् भने सो बापत मोटो रकम पनि हाशिल गर्ने गरेका छन्।यसका साथै बलियो घरेलु संरचना भएका राष्ट्रहरुले अन्तर्राष्ट्रिय स्तरमा सफलता पनि प्राप्त गर्दै आइरहेका छन्।

नेपाली क्रिकेटमा बलियो घरेलु संरचनाको आभाव रहँदै आएको छ। जसले गर्दा राष्ट्रिय टोलीमा पर्ने खेलाडी र अन्य खेलाडी बीचमा ठूलो अन्तर देखिँदै आएको छ भने घरेलु प्रतियोगितामा आफूलाई प्रमाणित गर्ने अवसर कमै मात्र खेलाडीले पाउँदै आएका छन्। जसले गर्दा नेपालले खेल्ने उमेर समूहका खेल, नेपालभित्र संचलान हुने गरेका टि-२० लिगहरुमा पाइने सीमित अवसरमा खेलाडीले आफूलाई प्रमाणित गर्नुपर्ने अवस्था रही आएको छ जसले गर्दा स्तरीय खेलाडीहरु अवसरको कमीका कारणले पलायन हुने गरेका छन् भने उमेर समूहका खेलाडीहरुको राष्ट्रिय टोलीमा बाक्लो उपस्थिति रहँदै आएको छ।

विगतमा राष्ट्रियस्तरमा एकदिवसीय प्रतियोगिताहरु हुने गरेका थिए जसमा विभागीय टोली लगायत क्षेत्रिय टोलीहरुको उपस्थिति हुने गरेको थियो। यसले गर्दा खेलाडीहरुले वर्षको केही समयमात्र भए पनि आफ्नो खेल क्षमता प्रस्फुटन गर्ने अवसर प्राप्त गर्ने गरेका थिए। पहिले हुने गरेका प्रतियोगिता पनि अपुग हुने गरेको स्थितिमा अहिले त्यहि किसिमका प्रतियोगिताहरु पनि नहुँदा क्रिकेट विकाशमा ठूलो समस्या पैदा भएको भान हुने गरेको छ।

नवनिर्वाचित क्यानले नेपाली क्रिकेट विकाशमा योजनावद्ध हिसाबले लाग्न जरुरी देखिन्छ। जसका लागि पहिलो चरणमा क्यानलाई संघीय संरचनामा ढालीहरेका प्रदेशमा प्रदेशस्तरीय समिति बनाउन आवश्यक हुन्छ। जसको सहयोगमा प्रदेशस्तरीय टोलीहरु निर्माण गर्नका लागि प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता मार्फत खेलाडी छनोट गरि राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी गराउने व्यवस्था भएमा धेरै भन्दा धेरै खेलाडीहरुले अवसर पाउनसक्दछन्। नेपाली क्रिकेट खेलाडीहरुलाई कम्तिमा पनि वर्षको छ महिना खेलमानै संलग्न गराउने गरी घरेलु संरचनाको विकाश गर्न जरुरी हुन्छ। यसका साथैहरेक प्रदेशमा क्रिकेट खेल्न मिल्ने मैदानहरुको विकास गर्न जरुरी हुन्छ। जसका लागि काठमाडौँमा त्रिभुवन विश्वविद्यालय, पुल्चोकक्याम्पस, सैनिक आवाशीय विद्यालय र मूलपानी खेल मैदानको उपयुक्त विकाश तथा संरक्षण गर्ने तथा काठमाडौँ बाहिर इटहरी, विरगंज, चितवन, पोखरा, लमही, कोहलपुर, धनगढी लगायतका स्थानमा रहेका खेलमैदानहरुको स्तरोन्नति तथा विकास गर्नु पर्दछ। मैदानको निर्माणका साथै युवा प्रतिभा निखार्नका लागि क्रिकेट एकेडेमीहरुको निर्माण गर्न जरुरी देखिन्छ। प्रदेशस्तरमा विद्यालयस्तरीय,एकेडेमीस्तरीय र उमेर समूहका खेलहरुको आयोजना गरी उमेर समूहको राष्ट्रिय छनोट गरेमा उमेर समूहको बलियो टोली निर्माण गर्न सकिन्छ।

नेपाली क्रिकेटमा बलियो घरेलु संरचनाको आभाव रहँदै आएको छ। जसले गर्दा राष्ट्रिय टोलीमा पर्ने खेलाडी र अन्य खेलाडी बीचमा ठूलो अन्तर देखिँदै आएको छ

उमेर समूहको टोलीलाई विदेशमा मैत्रीपूर्ण खेलहरु तथा विदेशी एकेडेमीहरुमा प्रशिक्षण गराउन विभिन्न देशसंग सम्झौता तथा सहकार्य गरी क्यान अगाडी बढ्न सकेमा युवा प्रतिभा निखार्न ठूलो टेवा पुग्नेछ। यसका साथै नेपाली खेलाडीहरुलाई विदेशमा खेल्ने तथा प्रशिक्षण गर्ने अवसर दिलाउनका लागि पनि पहल भएमा नेपाली क्रिकेटले ठूलो फाइदा लिन सक्नेछ। जसको उदाहरणका रुपमा तत्कालिन प्रशिक्षक पुबुदु दासानायकेको पहलमा नेपाली खेलाडीहरुले क्यानडा, भारत, श्रीलंका तथा अस्ट्रेलिया गइ प्रशिक्षण गरे पश्चात्न नेपाली टोलीको प्रदर्शनमा सुधार आएको विषयलाई लिन सकिन्छ। यसका साथै खेलको विकाशका लागि आवश्यक प्रशिक्षकहरुको पनि खेल कौशल विकाश तथा उचित पारिश्रमिकको व्यवस्था हुन जरुरी छ। प्रशिक्षक राम्रा भएमा मात्र राम्रा खेलाडीहरु उत्पादन गर्न सकिन्छ। जसका लागि भूतपूर्व राष्ट्रिय खेलाडीहरुलाई प्रशिक्षक हुनका लागि आवश्यक विभिन्न तहकोतालिम दिइ प्रयोग गर्न सकिन्छ भने विदेशबाट डेभ वाटमोर जस्तै सफल प्रशिक्षकहरु भित्राई खेलाडीहरुको खेल कौशल विकाश गर्नुपर्दछ।

खेलाडीहरुलाई खेलप्रति आकर्षित गर्नका लागि खेलमा व्यावसायिकता आउन जरुरी छ। जसका लागि एउटा खेलाडीले खेलेरै आफ्नो जीवन चलाउन सक्ने भएमा मात्र खेलकुदको विकाश गर्न सकिन्छ। जसका लागि क्रिकेटको लोकप्रियतालाई प्रयोग गर्दै निजिक्षेत्रसँग समन्वयगरी अगाडि बढ्न जरुरी हुन्छ। राष्ट्रियस्तरका प्रतियोगितामा राम्रो पुरस्कार तथा सहभागी खेलाडीहरुलाई निश्चित पारिश्रमिकको व्यवस्था हुनु पर्दछ। राष्ट्रिय टोलीमा पर्ने तथा पर्न सक्ने सम्भावना बोकेका खेलाडीहरुलाई श्रेणीगत रुपमा विभाजन गरि दिइँदै आएको पारिश्रमिकको दायरालाई अझ फराकिलो पारि धेरै भन्दा धेरै खेलाडीहरुलाई नियमित पारिश्रमिकको व्यवस्था हुनु पर्दछ। साथसाथै खेल र खेलाडीहरुको बढ्दो लोकप्रियतालाइ प्रयोग गरी विभिन्न निकायमा सद्भावना दूत नियुक्त गर्ने प्रबन्ध मिलाउन सकिएमा खेलाडीको आर्थिक हैसियतमा वृद्धि गर्न सहयोग मिल्नेछ। नेपाल आर्मी, नेपाल पुलिस तथा सशस्त्र प्रहरी बल जस्तै अन्य निजि क्षेत्रका टोलीको पनि राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता हुने तथा खेलेबापत तथा ती निकायको प्रवर्द्धन गरेबापत खेलाडीहरुले नियमित पारिश्रमिक पाउन सकेमा क्रिकेटको समग्र विकाशमा टेवा पुग्नेछ।

समग्ररुपले भन्दा नेपाली क्रिकेट विकासका लागि बलियो घरेलु संरचना, खेलाडी र खेलमा व्यावसायिकता, खेलमैदानहरुको विकास, युवा अवस्थामै खेलाडीहरुलाई राम्रो प्रशिक्षणको अवसर, राष्ट्रिय टोलीलाई नियमित खेल्ने अवसर, प्रशिक्षकहरुको विकाश हुन जरुरी छ। यी सब कार्यका लागि नेपाल क्रिकेट सँघको नयाँ नेतृत्वलाइ चुनौतीका साथ साथै नेपाली क्रिकेटलाई अझ उच्च स्थानमा पुर्याउने अवसर पनि छ।





थप समाचार

नेपालका ६ क्रिकेटरले मलेसियन सुपर कप खेल्ने

काठमाडौं । मलेसियामा आयोजना हुने मलेसियन सुपर कप २०२४ मा सहभागीता जनाउने भएका छन् । नेपाल क्रिकेट संघ(क्यान) ले शनिबार […]

इमर्जिङ एसिया कपमा स्थान बनाउँन हङकङसँग खेल्दै नेपाल

काठमाडौं । ओमानमा जारी दोस्रो संस्करणको एसीसी प्रिमियर कपमा तेस्रो स्थानका लागि नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दै छ । खेल […]

चेन्नईमाथि लखनाउको जित

काठमाडौं । चेन्नई सुपर किंग्समाथि १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ३४ औं खेलमा लखनाउ सुपर जायन्ट्सले जित निकालेको छ […]

जडेजाको अर्धशतकमा लखनाउलाई १७७ रनको लक्ष्य

काठमाडौं । अलराउन्डर रविन्द्र जडेजाको अर्धशतकको सहयोगमा चेन्नई सुपर किंग्सले १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ३४ औं खेलमा लखनाउलाई […]

कोशीमाथि बागमतीको रोमान्चक जित

काठमाडौं । काठमाडौं जारी वीर गणेशमान सिंह राष्ट्रिय टी-२० च्याम्पियनशिप अन्तर्गत चौथो दिनको पहिलो खेलमा बागमती प्रदेशले रोमाञ्चक जित दर्ता […]

युएईसंग पराजित हुँदा नेपाल एसिया कप छनोट हुन असफल

काठमाडौं । नेपाललाई स्तब्ध पार्दै ओमानमा जारी दोस्रो संस्करणको एसीसी मेन्स प्रिमियर कपको युएई सेमिफाइनल प्रवेश गरेको छ । यो […]