LA OPEN : क्वार्टरफाइनलमा सकियो नेपाली राइनोज अल स्टार्सको यात्रा, नेपाली राइनोजसंग पराजित

२०७८ असार २१, सोमबार ०८:२४

पृथु बास्कोटा र बसन्त रेग्मीले प्रतिनिधित्व गरेको ‘नेपाली राइनोज अल स्टार्स’लाई क्वार्टरफाइनलमा पराजित गर्दै अर्को नेपाली क्लब ‘नेपाली राइनोज’ अमेरिकाको लस एन्जल्समा जारि एलए ओपन च्याम्पियनसिप २०२१ को सेमीफाइनल प्रवेश गरेको छ।

सोमबार बिहान सम्पन्न खेलमा युएई क्रिकेटर रोहन मुस्तफा कप्तानीको नेपाली राइनोजले  जित दर्ता गर्ने क्रममा पृथु बास्कोटा कप्तानीको नेपाली राइनोज अल स्टार्सले दिएको ११३ रनको लक्ष्य १८.१ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा नेपाली राइनोजले पहिलो २ विकेट १९ रनमा गुमाएको थियो। त्यसपछि तेश्रो नम्बरमा ब्याटिंग गरेका सुजित गोडाले एक किनार सम्हाल्ने। गोडाले तेश्रो विकेटको लागि कप्तान मुस्तफासंग ३६ रन तथा चौथो विकेटको लागि वेस्ट इन्डिज क्रिकेटर आन्द्रे म्याकार्थीसंग ३० रन जोडे। त्यसपछि उनले गुडकेश मोतिसंग ३३ रनको साझेदारी गर्दै टिमलाई जितसम्म पुर्याए।

सुजित गोडाले अविजित ६१ रन बनाए जुन क्रममा ५७ बलमा ६ चौका र २ छक्का प्रहार गरे। रोहन मुस्तफाले २४, गुडकेश मोतिले १८ तथा आन्द्रे म्याकार्थीले १० रन बनाए।

नेपाली राइनोज अल स्टार्सको बलिंगमा बिपुल शर्माले ३ विकेट तथा रभी इन्दर सिंहले १ विकेट लिए। बसन्त रेग्मी पहिलो पटक विकेटविहिन रहंदा ४ ओभर बलिंग गर्दै २५ रन खर्चिए। रेग्मीले प्रतियोगिताको ४ खेलमा कुल ६ विकेट आफ्नो नाम गरे।

रोहन मुस्तफा कप्तानीको नेपाली राइनोज सेमीफाइनल प्रवेश गरेको छ

यस अघि टस जितेर ब्याटिंग गरेको नेपाली राइनोज अल स्टार्सले निर्धारित २० ओभरमा ७ विकेट क्षेतीमा ११२ रन बनाएको थियो। रभी इन्दर सिंहले सर्वाधिक ३० रन, तिमिल पटेलले २० रन, नईम योंगले १९ रन तथा बिपुल शर्माले १० रन बनाए। पहिलो ३ विकेट २० रनमा गुमाएपछि सिंहले चौथो विकेटको लागि पटेलसंग ४२ रनको साझेदारी इनिंग्सको सर्वाधिक साझेदारी थियो।

कप्तान पृथु बास्कोटाले ९ बलमा ६ रन मात्र बनाउन सके जसलाई देब्रे हाते स्पिनर गुडकेश मोतिले कट एण्ड बोल्ड गरे। बास्कोटाले प्रतियोगितामा कुल ५ खेल खेल्दा १ अर्धशतक मद्दतले ११६ रन बनाए।

नेपाली राइनोजको बलिंगमा गुडकेश मोतिले सर्वाधिक ३ विकेट , जेसी सिंहले २ विकेट तथा कार्तिक गट्टेपालिले १ विकेट लिए।

नेपाली क्लब भएता पनि नेपाली राइनोज सबै विदेशी खेलाडीलाई अन्तिम-११ मा राखेर प्रतियोगिता खेलीरहेको छ। नेपाली राइनोजबाटनै अलग भएर यो वर्ष नेपाली राइनोज अल स्टार्स क्लब स्थापना भएको थियो जसले बसन्त रेग्मी र पृथु बास्कोटालाई प्रतियोगिता खेल्न नेपालबाट बोलाएको थियो।

नेपाली राइनोज अल स्टार्स समुह चरणमा समुह ‘सी’ मा ४ वटै खेल जित्दै समुह विजेताको रुपमा क्वार्टरफाइनल प्रवेश गरेको थियो। यस्तै नेपाली राइनोज समुह ‘ए’ को उपविजेताको रुपमा ४ खेलमा ३ जित र १ हार बेहोर्दै क्वार्टरफाइनल पुगेको थियो।

कुल २० टोलि सहभागी प्रतियोगिताको सेमीफाईनल र फाइनल आजै राति खेलिनेछ। प्रतियोगिताको विजेताले ७५ हजार डलर पुरस्कार जित्नेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy