बसन्त र पृथु नेपाली राइनोज अल स्टार्सबाट अमेरिकाको एलए ओपन खेल्ने, आईपीएल खेलेका खेलाडी पनि टिममा

२०७८ असार १६, बुधबार १५:२९

नेपाली राष्ट्रिय क्रिकेटरद्वय बसन्त रेग्मी र पृथु बास्कोटा बिहिबार ( जुलाई १ ) तारिख देखि अमेरिकाको लस एन्जल्समा सुरु हुने एलए ओपन टि-२० क्रिकेट प्रतियोगितामा नेपाली राइनोज अल स्टार्स क्लबबाट सहभागी हुँदैछन्।

२० टोलि सहभागी प्रतियोगितामा दुई नेपाली क्लब नेपाली राइनोज तथा नेपाली राइनोज अल स्टार्सले प्रतिस्पर्धा गर्दैछन्।

५ दिन चल्ने प्रतियोगिताको खेलहरु वुडले पार्क क्रिकेट फिल्ड लस एन्जेल्समा खेलिनेछ। प्रतियोगिताको विजेताले ७५ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछ। अमेरिकी क्रिकेट बोर्डले मान्यता दिएको प्रतियोगिताको सम्पूर्ण खेलको प्रत्यक्ष प्रशारण विलो टिभीले गर्नेछ।

प्रतियोगितामा  सहभागी २० टिमहरुलाई ४ वटा समुहमा बिभाजन गरिएको छ। नेपाली राइनोज क्लब समुह ‘ए’ मा रहेको छ भने नेपाली राइनोज अल स्टार्स  समुह ‘सी’ मा रहेको छ। नेपाली राइनोज अल स्टार्सले पहिलो खेल जुलाई १ तारिखमा हलीऊड मास्टर ब्लास्टर्ससंग तथा नेपाली राइनोजले पहिलो खेल जुलाई २ तारिखमा बेकर्सफिल्ड स्ट्राइकर बिरुद्ध खेल्ने तालिका रहेको छ।

बसन्त र पृथु करिब ३ महिना अघि देखि अमेरिकामा बिभिन्न क्रिकेट प्रतियोगितामा सहभागी हुँदै आएका छन्। दुई महिना अघि बसन्त र पृथु संलग्न क्लब नेपाली राइनोजले ४० हजार डलर पुरस्कार राशिको होस्टन ओपनको उपाधि जित्न सफल भएको थियो। उक्त टिमबाट युएई क्रिकेटर रोहन मुस्तफा पनि खेलेका थिए।

आईपीएल खेलीसकेका क्रिकेटर ‘नेपाली राइनोज अल स्टार्सबाट’ खेल्ने 

अमेरिकामा स्थापित नेपाली क्लब ‘नेपाली राइनोज अल स्टार्स’ क्लबबाट बसन्त र पृथु बाहेक पूर्व नेपाली राष्ट्रिय क्रिकेटरहरु, आईपीएल तथा भारत र वेस्टइन्डिज यु-१९ टिमबाट खेलीसका खेलाडीहरु समेत सहभागी हुँदैछन्। ‘नेपाली राइनोज’ क्लबबाट खेल्ने खेलाडीहरुको सूची भने प्राप्त भएको छैन।

प्रतियोगितामा नेपाल र अमेरिकाका राष्ट्रिय क्रिकेटरहरु बाहेक वेस्टइन्डिजका चाडविक वाल्टन, रखिम कर्नवाल, शर्फेन रुथरफोर्ड, रायद इम्रिट, दक्षिण अफ्रीकाका रस्टि थेरोन तथा न्युजिल्यान्डका कोरे एण्डरसन जस्ता खेलाडीहरु बिभिन्न क्लबबाट सहभागी हुँदैछन्।

लामो समय देखि अमेरिकामा बसोबास गर्दै आएका पूर्व राष्ट्रिय क्रिकेटर कनिस्क चौगाईं र बरदान चालिसे क्लबले घोषित गरेको २१ सदस्यीय टोलिमा समाबेश छन्।  यस्तै उमेर समुह नेपाली टिम को प्रतिनिधित्व गरेका रभी थापा पनि टिममा छन्। नेपाली यु-१९ टिमका पूर्व कप्तान चौगाईंले टिमको कप्तानी गर्नेछन्।

यस्तै भारतीय अन्डर-१९ टिमको लागि खेलीसकेका समित पटेल तथा वेस्टइन्डिज अन्डर-१९ टिमबाट खेलीसकेका नईम योंग पनि टिममा छन्। दायाँ हाते विकेटकिपर ब्याट्सम्यान पटेल २०१२ मा भारतले यु-१९ विश्वकप जित्दा टोलिको सदस्य रहेका थिए। यस्तै गत सिजन करेबियन प्रिमियर लिग तथा टि-टेन लिगको अनुभव संगालीसकेका योंगले २०१८ र २०२० को यु-१९ विश्वकप खेलेका थिए।

देब्रे हाते स्पिन अलराउण्डर बिपुल शर्माले किंग्स-११ पन्जाब तथा सनराइजर्स हैदरावादबाट आईपीएल खेलेका थिए।

आईपीएल अनुभव भएका तिन क्रिकेटर बिपुल शर्मा, सन्नी सोहल र हल्हदार दास टिममा समाबेश छन्।

देब्रे हाते स्पिन अलराउण्डर बिपुल शर्माले किंग्स-११ पन्जाब तथा सनराइजर्स हैदरावादबाट आईपीएल खेलेका थिए। सनराइजर्स हैदरावादले २०१६ आईपीएल उपाधि जित्दा शर्माले इलिमीनेटरमा गुजरात लायन्स बिरुद्ध ब्रेण्डन म्याकलमको महत्वपूर्ण विकेट लिनुको साथै ११ बलमा ३ छक्का मद्दतले अविजित २७ रन समेत बनाएका थिए। यस्तै फाइनलमा उनले रोयल च्यालेन्जर्स बैंगलोर बिरुद्ध एबि डी भिल्लीयर्सको महत्वपूर्ण विकेट लिएका थिए। सन् २०१० मा आईपीएल डेब्यु गरेका उनले २०१७ सम्म कुल ३३ खेल खेल्ने क्रममा १८७ रन बनाउनुको साथै १७ विकेट लिएका थिए।

विकेटकिपर ब्याट्सम्यान हल्हदार दासले २००८ को आईपीएलमा दिल्लीबाट एक मात्र खेल खेलेका थिए। अमेरिकी राष्ट्रिय क्रिकेटर समेत रहेक सन्नी सोहलले डेक्कन चार्जर्स, रोयल च्यालेन्जर्स बैंगलोर र किंग्स-११ पन्जाबको लागि आईपीएल खेले। यस क्रममा सोहलले २००८ देखि २०११ सम्म २२ खेल खेल्दा ३६८ बनाए।

यस्तै अमेरिकी राष्ट्रिय क्रिकेटर जोश दासकोम्बे, म्रुनाल पटेल, तिमिल पटेल तथा गत सिजन बार्बेडोस ट्राइडेन्टबाट करेबियन प्रिमियर लिग खेलेका श्याम जहाँगिर पनि रहेका छन्।

यस्तै टिममा नेपालको घरेलु टि-२० लिगहरु खेलीसकेका पन्जाबका रन्जी क्रिकेटर देब्रे हाते ब्याट्सम्यान रभी इन्दर सिंह पनि रहेका छन्। पछिल्लो पटक सिंहले पोखरा प्रिमियर लिगमा शरद भेसावकर कप्तानिको पोखरा पल्टनको प्रतिनिधित्व गरेका थिए।

नेपाली राईनोज अल स्टार्स टिम : कनिस्क चौगाईं ( कप्तान ) , बसन्त रेग्मी, पृथु बास्कोटा, बरदान चालिसे, रभी थापा, आशिक लामा, संजय शर्मा, अनुनय बस्नेत, म्रुनाल पटेल, समित पटेल, रभीइन्दर सिंह, बिपुल शर्मा, नईम योंग, तिमिल पटेल, अब्दुल्लाह घाजी, रोहण पोसनिपल्ली, जोश दासकोम्बे, हल्हदार दास, कमल प्रेमी, शयन जहाँगिर, सन्नी सोहल

तयारी राम्रो छ – टिम व्यवस्थापक लामा 

प्रतियोगितामा सहभागिता जनाउनु अघि विकेटनेपालसंग कुरा गर्दै नेपाली राइनोज अल स्टार्स क्लबका व्यवस्थापक आशिक लामाले टिमको तयारी निकै राम्रो रहेको जानकारी गराएका छन्-

“प्रतियोगिताको लागि राम्रो तयारी गरेका छौँ। हामि राम्रो क्रिकेट खेल्न चाहन्छौं। बिगतमा पनि हामीले राम्रो खेलेका छौँ जसलाई निरन्तरता दिने उद्देश्य रहेको छ। प्रतियोगिता जित भन्दा पनि हाम्रो उद्देश्य एक समयमा एउटा खेललाई ध्यान दिने रहेको छ।” लामाले बताए।

अमेरिकामा क्रिकेट गतिविधिमा संलग्न हुने तथा नेपाली युवा क्रिकेटहरुको प्रवर्द्धन गर्ने उद्देश्यका साथ अमेरिकामा बसोबास गरिरहेका राष्ट्रिय क्रिकेटरहरु सहितको समुहले ‘नेपाली राइनोज अल-स्टार्स’ क्लबको स्थापना गरेका छन्। क्लबमा पूर्व राष्ट्रिय क्रिकेटर कनिस्क चौगाईं कप्तान रहेका छन् भने टिम व्यवस्थापकमा अर्का पूर्व राष्ट्रिय क्रिकेटर बरदान चालिसे, आशिक लामा र सन्जय शर्मा रहेका छन्। अर्का पूर्व राष्ट्रिय क्रिकेटर बन्टु बटाजु र अनुनय बस्न्यात व्यवस्थापन निर्देशकको भूमिकामा रहेका छन्।

सम्बन्धित 

अमेरिकामा पूर्व राष्ट्रिय क्रिकेटर सम्मिलित ‘नेपाली राइनोज अल-स्टार्स’ क्लब स्थापना

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy