पृथु बास्कोटा र बसन्त रेग्मीले उत्कृस्ट प्रदर्शन गर्दा अमेरिकाको लस एन्जेल्समा जारि एलएल ओपन २०२१ च्याम्पियनसिप टि-२० को गय राती सम्पन्न दोश्रो खेलमा पनि ‘नेपाली राइनोज अल स्टार्स’ विजयी भएको छ। प्रतियोगिताको समुह चरणमा तेश्रो जित पछि समुह चरणको एक खेल बाँकी रहँदै नेपाली राइनोज अल स्टार्स क्वार्टरफाइनल यात्रा सुनिश्चित गरेको छ।
दिनको पहिलो खेलमा ‘आरडीयु साम्प आर्मी’लाई ४६ रनले पराजित गरेको नेपाली राइनोजले दोश्रो खेलमा पीभी हरिकेन्सलाई ४८ रनले पराजित गर्यो।
खेलमा नेपाली राइनोजले दिएको १६८ रनको लक्ष्य पछ्याउने क्रममा पीभी हरिकेन्सले १७.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर ११९ रन मात्र बनाउन सक्यो।
पीभी हरिकेन्सको ब्याटिंगमा युएई राष्ट्रिय क्रिकेटर सक्लेन हैदरले सर्वाधिक ६१ तथा रामिज राजाले २३ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपाली राइनोज अल स्टार्सको बलिंगमा बसन्त रेग्मीले सर्वाधिक ३ विकेट लिए भने अब्दुल्लाह घाजी र तिमिल पटेलले समान २ विकेट तथा अबिपुल शर्मा र रोहन पोसानीपल्लीले समान १ विकेट लिए।
देब्रे हाते स्पिनर रेग्मीले ४ ओभर बलिंग गर्दा मात्र १६ रन खर्चेर ३ विकेट लिए जुन क्रममा पीभी हरिकेन्सको मध्यक्रम ब्याट्सम्यानहरुको महत्वपूर्ण विकेट लिए। इनिंग्सको छैठौं ओभरमा बलिंग सुरुवात गरेका रेग्मीले पहिलो ओभरमा ७ रन खर्चिए। त्यसपछि आठौँ ओभरमा दोश्रो ओभर गर्ने क्रममा उनले ४ रन खर्चेर विलियम लुडिकलाई क्याच आउट गराए। दशौँ ओभरमा तेश्रो ओभर गर्ने क्रममा मात्र ३ रन खर्चिए। पन्ध्रौं ओभरमा स्पेल सकाउने क्रममा रेग्मीले मात्र २ रन खर्चेर ओभरको पहिलो बलमा वालिद एहमदलाई एलबिडब्लु तथा पाँचौ बलमा अमेरिकी राष्ट्रिय क्रिकेटर उस्मान रफिकलाई बोल्ड गरे।
यस अघि टस जितेर ब्याटिंग गर्ने क्रममा नेपाली राइनोज अल स्टार्सले २० ओभरमा मात्र ३ विकेट क्षेतीमा १६७ रन बनाएको थियो।
खेलमा कप्तानी समेत गरेका पृथु बास्कोटाले शानदार ब्याटिंग गर्दै सर्वाधिक ७८ रन बनाए। तेश्रो नम्बरमा ब्याटिंग गरेका बास्कोटा अविजित रहँदै ५६ बलमा ७ चौका र ३ छक्का प्रहार गरे। यस्तै समित पटेलले ४५ रन, नईम योंगले अविजित २६ रन तथा रभी इन्दर सिंहले १० रन बनाए।
पहिलो ओभरमा ओपनर म्रुनाल पटेल आउट भएपछि ब्याटिंग गर्न आएका बास्कोटाले अन्तिमसम्म ब्याटिंग गरे। त्यस क्रममा उनले समित पटेलसंग दोश्रो विकेटको लागि ८२ रनको, तेश्रो विकेटको लागि रभी इन्दर सिंहसंग ४० रनको तथा चौथो विकेटको लागि नईम योंगसंग अविजित ४४ रनको साझेदारी गरे।
प्रतियोगितामा बसन्त रेग्मीले ३ खेल खेल्दा ३ खेल खेल्दा ६ विकेट लिईसकेका छन्। उनले पहिलो खेलमा मास्टर ब्लास्टर्स बिरुद्ध १ विकेट, दोश्रो खेलमा आरडीयु साम्प आर्मी बिरुद्ध २ विकेट तथा तेश्रो खेलमा पीभी हरिकेन्स बिरुद्ध ३ विकेट लिए। यस्तै पृथु बास्कोटाले ३ खेलमा ११० रन बनाएका छन्। उनले पहिलो खेलमा मास्टर ब्लास्टर्स बिरुद्ध ३ रन, दोश्रो खेलमा आरडीयु साम्प आर्मी बिरुद्ध २९ रन तथा तेश्रो खेलमा पीभी हरिकेन्स बिरुद्ध ७८ रन बनाए।
प्रतियोगितामा समुह ‘सी’ अंतर्गात नेपाली राइनोजले ३ खेलमै जित दर्ता गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। टिमले आगामी खेल आइतबार राति नेपाली समय ९:१५ बजे अरिजोना सन्स बिरुद्ध खेल्ने छ जुन खेलमा जित दर्ता गरे समुह विजेताको रुपमा क्वार्टरफाइनल प्रवेश गर्नेछ। क्वार्टर फाइनलको खेलहरु आइतबारनै हुनेछ भने सेमीफाइनल र फाइनलको खेलहरु सोमबार हुनेछ।
२० टोलि सहभागी रहेको प्रतियोगितामा कुल २० टोलि सहभागी रहेका छन्। ५ दिन चल्ने प्रतियोगिताको विजेताले ७५ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछ।
अमेरिकामा क्रिकेट गतिविधिमा संलग्न हुने तथा नेपाली युवा क्रिकेटहरुको प्रवर्द्धन गर्ने उद्देश्यका साथ अमेरिकामा बसोबास गरिरहेका राष्ट्रिय क्रिकेटरहरु सहितको समुहले ‘नेपाली राइनोज अल-स्टार्स’ क्लबको स्थापना गरेका हुन्। क्लबमा पूर्व राष्ट्रिय क्रिकेटर कनिस्क चौगाईं कप्तान रहेका छन् भने टिम व्यवस्थापकमा अर्का पूर्व राष्ट्रिय क्रिकेटर बरदान चालिसे, आशिक लामा र सन्जय शर्मा रहेका छन्। अर्का पूर्व राष्ट्रिय क्रिकेटर बन्टु बटाजु र अनुनय बस्न्यात व्यवस्थापन निर्देशकको भूमिकामा रहेका छन्।