एक दिवसीय मान्यता सहित नेपाली टोलि स्वदेश फिर्ता

२०७४ चैत्र ५, सोमबार २०:१३

Paras Khadka
  • विकेटनेपाल – ५ चैत्र, सोमबार

जिम्बाबेमा आयोजित एक दिवसीय विश्वकप छनौटमा ऐतिहासिक उपलब्धि हाँसिल गरेको नेपाली टोलि आज स्वदेश फर्किएको छ। साँझ ५:५५ बजे नेपाली टोलि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा अवतरण गरेको हो।

बिश्वकप छनौट अन्तर्गत प्लेअफमा पपुवा न्यु गिनीलाई पराजित गरेको नेपालले हंगकंग र पपुवा न्यु गिनीलाई पछि पार्दै एकदिवसीय राष्ट्रको मान्यता पाएको हो। पहिलो पटक एक दिवसीय राष्ट्रको मान्यता पाएपछि स्वदेश फर्किएको नेपाली टोलिलाई स्वागत गर्न सयौंको संख्यामा क्रिकेट समर्थकहरु विमानस्थल पुगेका थिए। नेपाली राष्ट्रिय झन्डा सहित स्वागतका लागि बिमानस्थल पुगेका समर्थकले क्रिकेट स्टेडियम बनाइनु पर्ने, खेलाडीलाई सुबिधा दिनुपर्ने जस्ता नारा लगाएका थिए।

नेपाली टोलिको स्वागतमा जम्मा भएको भिड

बिमानस्थलमा अवतरण गरेपछि संचारमाध्यमसंग कुराकानी गर्दै कप्तान पारस खड्काले नेपाली टोलिको अबको लक्ष्य भनेको ५० ओभरको विश्वकप खेल्ने भएको बताए। यस्तै मुख्य प्रशिक्षक जगत टमाटाले भने सन् २०१४ मा पाएको टि-२० मान्यता जसरि एक दिवसीय मान्यतालाई खेर जान दिन नहुने बताए।

यस अघि सन् २०१४ को टि-२० बिश्वकपमा राम्रो प्रदर्शन गरेपछि नेपाललाई आईसीसीले अस्थायी टि-२० अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता प्रदान गरेको थियो। एकदिवसीय राष्ट्रको मान्यता पाएको यो पहिलो पटक हो। सन् १९९६ मा आईसीसीले एसोसीएट राष्ट्रको मान्यता दिएको २२ बर्ष पछि नेपाली क्रिकेट टिमले अर्को ठुलो उपलब्धि हाँसिल गरेको हो। एकदिवसीय मान्यतासंगै नेपालले स्वतः टि-२० अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता समेत पाउनेछ।

 

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy