नेपालको पहिलो खेल जिम्बाबेसंग : सिंगापुर त्रिकोणात्मक सिरिज

२०७६ भाद्र २०, शुक्रबार १८:१४

Nepal vs Zimbabwe

सिंगापुरमा नेपाली राष्ट्रिय क्रिकेट टिमले सिंगापुर र जिम्बाबे सम्मिलित त्रिकोणात्मक टि-२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने पक्का भएको छ। सिंगापुर क्रिकेट एसोसिएसनले आज तिन देशले सिरिज खेल्ने घोषणा गरेको हो।

२७ सेप्टेम्बर देखि ३ अक्टोबरसम्म चल्ने सिरिजको लागि नेपाली क्रिकेट टिम २५ सेप्टेम्बरमा सिंगापुर प्रस्थान गर्नेछ। युएईमा अक्टोबर ११ देखि आयोजना हुने टि-२० विश्वकपको तयारी स्वरुप सिंगापुरले सिरिजको आयोजना गरको बताएको छ।

आईसीसीले सबै सदस्य रास्ट्र बीचको खेलहरुले टि-२० अन्तर्राष्ट्रिय मान्यता पाउने घोषणा गरेपछि सिंगापुरले खेल्न लागेको यो नै पहिलो सिरिज हो। २०१९ जनवरी देखि यो लागु हुँदै आएको छ।

“सिंगापुर क्रिकेटको लागि यो सिरिज राम्रो परिक्षण हुनेछ। २१ औं वरियतामा रहेको सिंगापुरले ११ औं स्थानमा रहेको नेपाल र १४ औं स्थानमा रहेको जिम्बाबेसंग खेल्नु सिंगापुरको टि-२० विश्वकप छनौट प्रतियोगिताको लागि राम्रो तयारी हुनेछ” सिंगापुर क्रिकेले लेखेको छ।

त्रिकोणात्मक सिरिज अन्तर्गत तिन वटै टिमले एक अर्का बिरुद्ध २/२ वटा खेल खेल्नेछन् जसपछि अंक तालिकामा उत्कृस्ट हुने टिमलाई विजेता घोषणा गरिनेछ।

सिरिजको पहिलो खेल नेपाल र जिम्बाबे बीच २७ सेप्टेम्बरमा खेलिनेछ। दोश्रो खेलमा नेपालले सिंगापुरसंग २८ सेप्टेम्बरमा खेल्नेछ। तेश्रो खेल सिंगापुर र जिम्बाबे बीच २९ सेप्टेम्बरमा खेलिनेछ। त्यसपछि दोश्रो चरण अन्तर्गत नेपालले जिम्बाबेसंग १ अक्टोबरमा खेल्नेछ। २ अक्टोबरमा नेपालले सिंगापुरसंग खेल्नेछ भने अन्तिम खेल ३ अक्टोबरमा जिम्बाबे र सिंगापुर बीच खेलिनेछ। सबै खेल राति खेलिने सिंगापुर क्रिकेटले बताएको छ।

गत महिना सिंगापुरमा सम्पन्न टि-२० विश्वकप छनौट ( एसीया फाइनल ) प्रतियोगितामा सिंगापुर पहिलो हुँदै टि-२० विश्वकप छनौट खेल्न पहिलो पटक छनौट भएको थियो। अन्तिम खेलमा नेपालले सिंगापुरलाई जित्ने पर्ने परिस्थितिमा नेपाल ८२ रनले पराजित भएको थियो।

सिंगापुरमा त्रिकोणात्मक सिरिज खेलीसकेपछि नेपालले ओमानमा ५ देश सम्मिलित टि-२० सिरिज खेल्ने कार्यक्रम रहेको छ। अक्टोबर ५ देखि १० सम्म ओमानमा खेल्ने प्रतियोगिता पक्का भइसकेको छ। उक्त प्रतियोगितामा आयोजक ओमान सहित, नेपाल , हंगकंग, आयरल्याण्ड र नेदरल्याण्ड सहभागी हुनेछन्।

नेपाली क्रिकेट टिम हाल डिसेम्बर १ देखि नेपालमा आयोजना दक्षिण एसियाली खेलकुदको लागि तयारीमा व्यस्त रहेको छ। प्रतियोगिताको लागि ३५ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरिएको छ। सोहि टिमबाट सिंगापुर र ओमानमा हुने सिरिजको लागि टिम छनौट गरिनेछ।

जिम्बाबे क्रिकेटलाई आईसीसीले निलम्बन गरेता पनि बोर्डले आफ्नै पहलमा टिमलाई खेलाउन लागेको हो। निलम्बनको कारण जिम्बाबेले टि-२० विश्वकप छनौट खेल्न पाएन जसको सट्टा अफ्रीकाको टिम नाइजेरियाले प्रतियोगिता खेल्ने मौका पाएको छ।

Nepal vs Zimbabwe
नेपालले जिम्बाबेसंग गत वर्ष एकदिवसीय विश्वकप छनौटमा खेलेको थियो

जिम्बाबेसंग नेपालले पछिल्लो पटक गत वर्ष एकदिवसीय विश्वकप छनौट प्रतियोगितामा खेलेको थियो। जिम्बाबेमा सम्पन्न उक्त प्रतियोगितामा नेपाललाई घरेलु टिमले ११६ रनले सहजै पराजित गरेको थियो। पहिले ब्याटिंग गर्दै जिम्बाबेए दिएको ३८१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २६४ रन बनाएको थियो। ब्रेण्डन टेलर र सिकन्दर राजाले शतक बनाएका थिए भने नेपालको ब्याटिंगमा शरद भेसवकर र आरिफ शेखले अर्धशतक बनाएका थिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy