१६ वर्ष पछी नेदरल्याण्डले जिम्बाबेसँग एकदिवसीय खेल्दै

(फिचर फोटो: एसोसिएट प्रेस, २०१४ विश्वकप)

एकदिवसीय विश्वकपको छनोट चरणबाट बाहिरिएको जिम्बाबेले एकदिवसीय र टि२० खेलको लागि नेदरल्याण्डको भ्रमण गर्दैछ। २ एकदिवसीय र त्यतिनै टि२० खेलको हुने सिरिज जुन १९ तारिखदेखि नेदरल्याण्डमा सुरु हुनेछ। एकदिवसीय खेल नेपाली समयअनुसार दिउसो २:४५ र टि२० खेल साँझ ६:४५मा सुरु हुनेछ।

सिरिज अन्तर्गतका दुई एकदिवसीय खेल जुन १९ र २१ तारिखमा तथा दुई टि२० खेल २३ र २५ तारिखमा हुनेछन्। यसअघि यी दुई टिम एकदिवसीय खेलमा सन् २००३ को विश्वकपमा र टि२० आईमा २०१४ मा भएको विश्वकपमा प्रतिस्पर्धा गरेका थिए। एकदिवसीय खेलमा ९९ रन र टि२० खेलमा ५ विकेटले जिम्बाबे विजयी भएको थियो।

 

नेदरल्याण्ड पछिल्लो ४ बर्षमा थोरैमात्र एकदिवसीय खेल खेलेकोले आइसीसीले जारि गरेको पछिल्लो बरियताको मुख्य टेबल (१६ राष्ट्र) मा रहन सकेको छैन। जिम्बाबे भने ११ औं स्थानमा छ। यस्तै टि२० तर्फ जिम्बाबे १३ औं र नेदरल्याण्ड १४ औं स्थानमा छन्। नेपाल एकदिवसीयमा १४ र टि२० मा ११ औं स्थानमा छ।

सिरिजको लागि आयोजक नेदरल्याण्ड र भ्रमणकारी टिम जिम्बाबेले आफ्नो सहभागी टिमको घोषणा गरिसकेका छन्।

यसअघि संयुक्त अरब इमिरेट्स बिरुद्दको सिरिज जितको क्रममा चोटका कारण बाहिर रहेका अनुभवी खेलाडी ब्रेन्डन टेलर र हेमिल्टन मासाकाद्जा जिम्बाबेको टिममा फर्किएका छन्। मासाकाद्जाले कप्तानी समेत गर्नेछन्। उनको अनुपस्थितिमा पिटर मोरले कप्तानी गरेका थिए।

यस्तै १६ सदस्यीय टिममा रिचामोन्ड मुटुम्बानी, तिनाशे कमुन्हुकम्वे, रायन बुर्ल समेत अटाएका छन्। अर्कोतर्फ रेगिस चकब्वा, तिम्सेन मरुमा, ब्रायन चरी, ब्रान्डन मवुता र टोनी मुन्योङ्गा भने बाहिरिएका छन्। रिचामोन्ड मुटुम्बानी टिममा भएका निर्विकल्प विकेटकिपर हुन्।

आयोजक नेदरल्याण्डले भने १३ सदस्यीय टिममा तिब्रगतिका बलर विविन किन्ग्मा तथा युवा अलराउन्डर बस डी लिडलाई टिममा बोलाएको छ।

अनुभवी खेलाडी रायन टेन डस्काटे, शेन स्नटर र टिम भानडर गुग्टेनले इंग्ल्याण्डको घरेलु क्रिकेट अन्तर्गत काउन्टी क्रिकेट खेलिरहेकोले आफु यस सिरिजको लागि अनुपस्थित रहेको जनाएका छन्। तर रोलेफ भानडर मोर्वे, पौल भान मिकिरन र फ्रेड क्लासेन भने टिममा अटाएका छन्। यस्तै आफ्ना दाजु सिकन्दर जुल्फिकरको स्थानमा सकिब जुल्फिकर पनि टिममा रहेका छन्।

सिरिज अन्तर्गतमा सम्पूर्ण खेल नेदरल्याण्ड क्रिकेट बोर्डले युट्युबमा लाइभ गर्नेछ।

जिम्बाबेको टिम: हेमिल्टन मासाकाद्जा (कप्तान), ब्रेन्डन टेलर, पिटर मोर, सोलोमन मिरे, सिन विलियम्स, सिकन्दर राजा, डोनाल्ड तिरिपानो, कायल जर्विस, टेण्डाई चतरा, क्रिस म्पोफु, क्रेग ईर्भाइन, एन्सले एण्डलोभ, ईल्टन चिगाम्बुरा, रिचामोन्ड मुटुम्बानी, तिनाशे कमुन्हुकम्वे, रायन बुर्ल

नेदरल्याण्डको टिम: पिटर सिलार (कप्तान), वेस्ले बारेसी, बेन कुपर, बस डी लिड, स्कोट ईडवार्ड्स, ब्रान्डन ग्लोवर, विवियन किन्ग्मा, फ्रेड क्लासेन, म्याक्स ओ’डाउड, रोलेफ भानडर मोर्वे, पौल भान मिकिरन, तोबिअस भिसे, सकिब जुल्फिकर

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy