नेत्रहीन टी–२० विश्वकपमा सहभागी हुने नेपाली टिमको विदाइ

तेश्रो नेत्रहीन टी– २० क्रिेकट विश्व कपमा नेपालले सहभागिता जनाउने भएको छ । डिसेम्बर ५ देखि १८ तारिखसम्म हुने प्रतियोगिताका लागि १५ खेलाडीसहित २० सदस्यीय नेपाली टोली आइतबार भारत प्रस्थान गर्दैछ ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्की बोर्ड तथा कार्यकारी समितिकी सदस्य नन्दा बस्यालले शनिबार एक कार्यक्रमबीच बिदाइ गरिन् । खेलहरु भारतको दिल्ली र बैंगलोरमा हुनेछ ।

खिमानन्द गैरेको कप्तानीमा रहेको टोलीका अन्य खेलाडीमा सागर लामा, भरत चौलागाईं, राधेश्याम चौधरी, हेमबहादुर खत्री, टमबहादुर पाल, शान्तबहादुर पहरी, सुनिल राना, प्रेम क्षेत्री, युवराज भण्डारी, खेमराज सापकोटा, सुरेन्द्र तामाङ, नरेश चौधरी, सागर चेपाङ र शंकर रेग्मी रहेका छन् ।

टिम प्रशिक्षकमा नहेन्द्र निरौला, व्यवस्थापकमा तुम्रु उप्रेती तथा अफिसियलमा नेत्रहीन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरे, महासचिव अमृत बराल र कोषाध्यक्ष उपेन्द्र श्रेष्ठ छन् ।

प्रतियोगितामा नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलंका, भारत, दक्षिण अफ्रिका र अस्ट्रेलिया गरी ७ राष्ट्रले पहिले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्ने छन् । लिगमा शीर्ष चार स्थानमा रहने टोली सेमिफाइनलमा पुग्नेछन् ।
लिगमा नेपालले डिसेम्बर ६ मा भारत, ७ मा बंगलादेश, ९ मा अस्ट्रेलिया, १० मा दक्षिण अफ्रिका, १३ मा श्रीलंका र १४ मा पाकिस्तान विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

नेपालले यसअघि भएको २०१२ र २०१७ मा नेत्रहीन टी-२० विश्वकप खेलिसकेको छ भने २०१८ मा नेत्रहीन एक दिवसीय विश्वकप समेत खेलेको थियो । तेस्रो पटक हुन लागेको नेत्रहीन टी-२० विश्वकपको ब्रान्ड एम्बासडरमा भारतीय क्रिकेट टिमका पूर्व अलराउण्डर युवराज सिंह छन् ।

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy