नेत्रहीन विश्वकप टिम छनोट गर्न ५ सदस्यीय छनौट समिति, छनोट प्रतियोगिता सम्पन्न

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेत्रहीन क्रिकेट संघ नेपालको व्यवस्थापनमा दुई दिने नेत्रहीन क्रिकेट विश्वकप छनौट प्रतियोगिता आइतबार काठमाडौँमा सम्पन्न भएको छ ।

पारा तथा विशेष खेलकुद अन्तर्गत असार २२ र २३ गते आयोजना गरिएको नेत्रहीन क्रिकेट प्रतियोगिताको समापनका प्रमुख अतिथि तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य विना श्रेष्ठले आगामी दिनमा पनि दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूले खेल्दै आएको नेत्रहीन क्रिकेट खेललाई निरन्तरता दिनु पर्ने भन्दै खेलाडीहरूलाई शुभकामना व्यक्त गर्नु भयो । साथै उहाँले खेलाडीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान सहित पुरस्कृत गर्नुभयो ।

त्यसै गरी नेत्रहीन क्रिकेट विश्वकप छनौट प्रतियोगिताका सदस्य रवीन्द्र गुप्ताले राष्ट्रिय खेलकुद परिदले अपाङ्गता भएका खेलाडीहरूका लागि विभिन्न खेल प्रतियोगिताको आयोजना गर्नु भएकोमा धन्यवाद दिनु भयो ।

नेत्रहीन क्रिकेट खेल प्रतियोगिता समापनका क्रममा नेत्रहीन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरेले आगामी नोभेम्बरमा पाकिस्तानमा हुने नेत्रहीन क्रिकेट विश्वकप प्रतियोगितामा सहभागीताका लागि अरुण अर्यालको संयोजकत्वमा ५ सदस्यीय छनौट समितिले यसै प्रतियोगिताका आधारमा नेत्रहीन क्रिकेट विश्वकप प्रतियोगिताका लागि १५ जना नेत्रहीन क्रिकेट खेलाडीहरूको छनौट गरिने बताउनुभयो। छनोट समितिमा अर्याल सहित, सुनोज भट्टराई, रविन्द्र गुप्ता, नहेंद्र निरौला, तुम्बुरु उप्रेती छन्।

काठमाडौँको मुलपानीको क्रिकेट मैदानमा विभिन्न जिल्लाका ३९ जना नेत्रहीन क्रिकेट खेलाडीहरूको सहभागिता रहेको थियो ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy