एक खेल अगावै भारतलाई सिरिज

२०८१ श्रावण १३, आईतवार २३:३५

श्रीलंका भ्रमणमा रहेको भारतले ३ खेलको टि ट्वान्टी आई सिरिजको एक खेल अगावै जितेको छ ।

घरेलु श्रीलंकालाई दोस्रो टि ट्वान्टीमा पराजित गर्दै भारतले १ खेल अगाबै सिरिज जितेको हो ।

श्रीलंकाको पाल्लिखेलेमा आइतबार भएको खेलमा भारत डक वर्थ लुईस पद्दतीमा ७ विकेटले विजयी भयो ।

श्रीलंकाले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएर दोस्रो ईनिङ सुरु गरेको भारतले ३ बलमा ६ रन बनाएको अवस्थामा भारी वर्षा भएपछि खेल रोकिएको थियो । केही समयमा वर्षा रोकिए पछि आठ ओभरमा ७८ रनको लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रिएको भारतले ६.३ ओभरमा ३ विकेट गुमाएर नयाँ लक्ष्य पूरा गर्यो ।

भारतका लागि यशस्वी जैसवालले सर्वाधिक ३० रन बनाए । जैसवालले १५ बलमा ३ चौका र २ छक्का प्रहार गरे । कप्तान सुर्यकुमार यादवले २६ रन बनाए । यादवले १२ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए । हार्दिक पाण्ड्याले ९ बलमा अविजित २२ रन बनाए ।

श्रीलंकाका लागि वानिन्दु हसरंगा,महेश थिक्सेना र मथिशा पथिरानाले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो ।

श्रीलंकाका लागि कुशल परेराले सर्वाधिक ५४ रनको अर्धशतकीय इनिङ खेले । परेराले ३४ बलको सामना गर्दै ६ चौका र २ छक्का प्रहार गरे ।

ओपनर पथुम निशंकाले २४ बलमा ३२, कमान्डु मेन्डिसले २३ बलमा २६ तथा कप्तान चरिथ असलंकाले १४ रन बनाए ।

भारतका लागि रवि बिष्नोईले ३, हार्दिक पाण्ड्या, अर्शदिप सिंह र अक्षर पटेलले समान २ विकेट लिए ।भारतले पहिलो टि ट्वान्टी आईमा ४३ रनको जित निकालेको थियो । जितसँगै भारतले तीन खेलको टि ट्वान्टी सिरिज २-० का साथ जितेको छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy