२४ वर्ष पुरानो रेकर्ड टुट्यो, स्टार्कको नयाँ वर्ल्डरेकर्ड

२०७६ जेष्ठ २४, शुक्रबार ००:०७

एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत आफ्नो दोश्रो खेलमा वेस्ट इन्डिजलाई १५ रनले पराजित गर्ने क्रममा उत्कृस्ट बलिंग गरेका अस्ट्रेलियन पेसर मिचेल स्टार्कले नयाँ विश्वरेकर्ड बनाएका छन्। अस्ट्रेलियाले दोश्रो जित दर्ता गर्ने क्रममा पहिले ब्याटिंग गर्दै २८८ रन बनाएको थियो र वेस्टइन्डिजलाई २७३ रन मात्रै बनाउन दिएको हो।

अस्ट्रेलियालाई तनावपूर्ण खेलमा जित दिलाउने क्रममा स्टार्कले ठुलो भूमिका खेल्दै वेस्ट इन्डिजको ५ विकेट लिए। यस क्रममा उनले क्रिस गेल, जेसन होल्डर, आन्द्रे रसेल र कार्लोस ब्राथवेटको महत्वपूर्ण विकेट समेत लिए।

स्टार्कको  विश्व रेकर्ड 

एकदिवसीय विश्वकपमा दोश्रो पटक एकै खेलमा ५ विकेट लिने क्रममा स्टार्कले एकदिवसीय अन्तर्राष्ट्रिय करियरको १५० औं विकेट समेत लिए।

स्टार्क १५० एकदिवसीय विकेट लिने विश्वकै सबैभन्दा छिटो बलर बनेका छन्। मात्र ७७ खेल खेल्ने क्रममा उनले यो रेकर्ड आफ्नो नाम गरेका हुन्।

रेकर्ड बनाउने क्रममा स्टार्कले पुर्व पाकिस्तानी बलर सक्लेन मुस्ताकको रेकर्ड तोड्न पुगे। मुस्ताकले ७८ खेलमा १५० विकेट पुरा गरेका थिए। यो रेकर्ड सन् १९९५ मा मुस्ताकले भारत बिरुद्ध १५० औं विकेट लिंदै बनाएका थिए जुन तोडिन २४ वर्ष लाग्यो।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा स्टार्क र मुस्ताक पछि तेश्रो छिटो १५० विकेट लिने बलर न्युजिल्यान्डका ट्रेन्ट बोल्ट हुन् जसले जारि विश्वकपमै बंगलादेश बिरुद्धको खेलमा १५० विकेट पुरा गरेका थिए। बोल्टले ८१ खेल लगाए। चौथो स्थानमा रहेका ब्रेट लिले ८२ खेल, पाँचौ स्थानमा रहेका अजन्था मेन्डिसले ८४ खेल लगाएका थिए।

स्टार्कले जारि विश्वकपको २ खेलमा ६ विकेट लिईसकेका छन् र धेरै विकेट लिने सुचीमा न्युजिल्याण्डका म्याट हेनरी ( ७ ) पछि वेस्ट इन्डिजका ओसेन थोमससंगै दोश्रो स्थानमा रहेका छन्।

स्टार्क सन् २०१५ को विश्वकपमा अस्ट्रेलिया विजेता हुँदा ८ खेलमा २२ विकेट लिंदै सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए। उक्त विश्वकपमा ट्रेन्ट बोल्ट ९ खेलमा २२ विकेट लिंदै स्टार्कसंगै सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए।

सन् २०१० मा अस्ट्रेलियाको लागि एकदिवसीयमा भारत बिरुद्ध डेब्यु गरेका देब्रे हाते स्टार्कले टेस्टमा ५१ खेल मा २११ विकेट तथा टि-२० मा २३ खेलमा ३१ विकेट लिएका छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy