विश्वकपको लागि न्युजिल्यान्डले घोषणा गर्यो १५ सदस्यीय टिम

सन् २०१९ मा इंग्ल्याण्डमा आयोजना हुने एकदिवसीय विश्वकपको लागि न्युजिल्यान्डले १५ सदस्यीय टिमको घोषणा गरेको छ। बुधबार घोषित टिमको कप्तानी केन विलियम्सनले गर्नेछन्।

यसअघि न्युजिल्यान्डको प्रतिनिधित्व गरिसकेका खेलाडीहरु टिममा रहेपनि ब्याकअप विकेट किपरको रुपमा नयाँ खेलाडीलाई मौका दिइएको छ। नयाँ खेलाडी टोम ब्लुण्डेल रहेका छन् जसले न्युजिल्यान्डको राष्ट्रिय टिमबाट २ टेस्ट खेलेपनि एकदिवसीय क्रिकेटमा प्रतिनिधित्व गरेका छैनन्।

न्युजिल्यान्ड आगामी विश्वकपमा अघिल्लो पल्टको फाइनलमा अष्ट्रेलियासँगको फराकिलो हार बिर्साउने लक्ष्य सहित उत्रिनेछ। उसले यसअघि ६ पटक सेमिफाइनलमा स्थान बनाएको भएपनि फाइनलमा भने अघिल्लो विश्वकपमा पहिलोपटक पुगेको हो।

आइसीसीको बर्तमान बरियतामा इंग्ल्याण्ड र भारतपछी तेस्रो नम्बरमा रहेको न्युजिल्यान्ड ग्यारी स्टिडको प्रशिक्षणमा रहनेछ। प्रशिक्षक स्टिडले टिमले पछिल्लो समय माथिल्लो लेभलको क्रिकेट खेलेको र विश्वकपमा पनि प्रदर्शनलाई निरन्तरता दिने बताए।

घरेलु क्रिकेटमा नियमित किपर टोम लाथमको ब्याकअपको रुपमा रहेका टिम सेइफर्टको हातमा समस्या आएपछि टोम ब्लुण्डेलले अन्तिम १५ मा स्थान बनाएका छन्। लाथमलाई कुनैपनि किसिमको चोटपटक नलागेको र खेल्न सक्ने अवस्था रहेमा ब्लुण्डेलले एकदिवसीय क्रिकेटमा डेब्यु गर्ने सम्भावना न्युन छ।

यस्तै मिचेल स्यान्टनर मुख्य स्पिन हतियार रहनेछन्। उनलाई इश सोढीले साथ दिनेछन्।

तिब्र गतिको बलिंग ट्रेन्ट बोल्ट, टिम साउदी र ल्युक फर्गुसनले सम्हाल्ने छन् भने कोलिन डी ग्राण्डहोम र जिम्मी निशम अलराउन्डरको रुपमा रहनेछन्।

न्युजिल्यान्डले विश्वकप अन्तर्गत आफ्नो पहिलो खेल जुन १ तारिखमा श्रीलंका बिरुद्द खेल्नेछ।

यस्तो छ न्युजिल्यान्डको अन्तिम १५:

केन विलियम्सन (कप्तान), टोम ब्लुण्डेल, ट्रेन्ट बोल्ट, कोलिन डी ग्राण्डहोम, ल्युक फर्गुसन, मार्टिन गप्तिल, म्याट हेनरी, टोम लाथम, कोलिन मुन्रो, जिम्मी निशम, हेनरी निकोलस, मिचेल स्यान्टनर, इश सोढी, टिम साउदी, रोस टेलर

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy