बिपी कोइराला स्मृति कप : भारतीय टिम लाईफ केयरको दोश्रो जित, बंगलादेशको साइक क्रिकेटर्सको विजयी सुरुवात

२०८१ कार्तिक ४, आईतवार १६:४०

रुपन्देही। रुपन्देहीको भैरहवामा जारि बिपी कोइराला स्मृति कप टि-ट्वान्टी प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न दुईवटा खेलमा भारतको लाईफ केयर क्रिकेट क्लब र बंगलादेशको साइक क्रिकेटर्स विजयी भएका छन्।

आजको पहिलो खेलमा भारतको लाईफ केयर क्रिकेट क्लबले लगातार दोश्रो जित दर्ता गर्ने क्रममा स्थानीय टिम नेक्सस रुपन्देही एघारलाई ७ विकेटले पराजित गर्यो।

नेक्सस रुपन्देहीले दिएको १३४ रनको लक्ष्य लाइफ केयरले मात्र ३ विकेट क्षेतीमा ३.३ ओभर बाँकी रहँदै भेटायो।

लाईफ केयरको जितमा ओपनर दिपक पुनियाले सर्वाधिक ६० रन बनाए जुन क्रममा उनले ४३ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। प्लेयर अफ द म्याच घोषित भएका पुनियाले अघिल्लो खेलमा पनि अर्धशतक बनाएका थिए। राजेश शर्माले अविजित ३७ रन तथा विपुल कम्बोजले ३२ रन बनाए।

नेक्सस रुपन्देहीको बलिंगमा शाहब आलमले २ तथा बसिर अहमदले १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको नेक्सस रुपन्देहीले २० ओभरमा ६ विकेट गुमाएर १३३ रन बनायो।

नेक्सस रुपन्देहीको लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ४८ रन बनाए जुन क्रममा उनले ४३ बलमा ५ चौका प्रहार गरे। सुमित महर्जन र बसिर अहमदले समान २८ रन बनाए। अघिल्लो खेलमा अर्धशतक बनाएका शंकर रानाले २ रन मात्र बनाउन सके।

लाईफ केयरको बलिंगमा योगेश कुमारले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २७ रन खर्चिए। शुभम लाम्बा, हिमांशु र विपुल कम्बोजले समान १ विकेट लिए।

आजको दोश्रो खेलमा बंगलादेशको साइक क्रिकेटर्सले पाकिस्तानको जावेद गोहर इन्टरनेसनल क्रिकेट एकेडेमीलाई ४२ रनले पराजित गर्दै विजयी सुरुवात गर्यो। पाकिस्तानी टिमको यो लगातार दोश्रो हार हो।

साइक क्रिकेटर्सले दिएको १४८ रनको लक्ष्य पछ्याएको जावेद गोहरले १८.२ ओभरमा १०५ रनमा सबै विकेट गुमायो।

पाकिस्तानी टिमको लागि ओपनर अलि हुसेनले सर्वाधिक ३४ रन बनाए। जईम खानले १९ तथा शमुन इक्बालले १८ रन बनाउए। चर्चित पाकिस्तानी पूर्व राष्ट्रिय क्रिकेटर इमरान नाजिरले भने मात्र १ रन बनाउन सके।

साइक क्रिकेटर्सको बलिंगमा शहादत सोम्रतले सर्वाधिक ३ विकेट लिए। रकिब र मुलेरले २/२ तथा शाहबाज र एकेएसले १/१ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको साइक क्रिकेटर्सले १९.५ ओभरमा सबै विकेट गुमाएर १४७ रन बनाएको थियो।

साइकको लागि ओपनर मुलेरले सर्वाधिक ४६ रन बनाए जुन क्रममा २८ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। मुनिम शाहरियरले २७, सौरबले २५ तथा रानाले १७ रन बनाए।

जावेद घर एकेडेमीको बलिंगमा रिशभ जोशीले सर्वाधिक ३ विकेट लिए। कप्तान इमरान नाजिर र अब्बास अलिले २/२ विकेट लिए।

प्रतियोगिता अन्तर्गत तेश्रो दिन सोमबार पनि दुई खेल हुनेछन्। पहिलो खेल विहान ९ बजे श्रीलंकाको टिम श्रीलंका स्टेट सर्भिस क्रिकेट एसोसिएसन र बंगलादेशको साइक क्रिकेटर्स बीच हुने छ भने दिउँसो १ बजे नेपालको नेक्सस रुपन्देही एघार र पाकिस्तानको जावेद गोहर इन्टरनेसनल क्रिकेट एकेडेमी बीच प्रतिस्पर्धा हुनेछ।

नेक्सस क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगितामा दक्षिण एसियाली चार वटा टेस्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र नेपालसहित पांच देशका क्लब टिमहरुको सहभगिता छ। प्रतियोगिता लिग कम नक आउट फर्म्याटमा भइरहेको छ।

स्पोर्टस टुरिजमलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगिताको विजेता टिमले थम पुरस्कार स्वरूप ५ लाख, दोश्रोले ३ लाख, म्यान अफ द सिरिजले ३५ हजार, बेस्ट बलरले २० हजार, प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy