प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत समुह ‘बि’ अन्तर्गतको पहिलो खेलमा नेपाल पुलिस क्लब र बागमती प्रदेशले प्रतिस्पर्धा गरिरहेका छन्।
टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिंग गरेको नेपाल पुलिस क्लबले २९.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर १११ रन मात्र बनाउन सकेको छ। स्कोरकार्ड
पुलिसको लागि दिपेन्द्र ऐरी र आरिफ शेखले समान २१ रन तथा सुनिल धमला र कुशल भुर्तेलले समान १७ रन योगदान दिए।
पहिलो विकेटको लागि सुनिल धमला र कुशल भुर्तेल बीच ३२ रनको साझेदारी भएपछि सातौँ ओभरमा धमलालाई रामनरेश गिरिले एलबिडब्लु आउट गरे। त्यसपछि पुलिसले निरन्तर अन्तरलमा विकेट गुमाउन पुग्यो। नवौं ओभरमा अमित श्रेष्ठलाई गिरिले क्याच आउट गराए। १५ औं ओभरमा कुशललाई नन्दन यादबले क्याच आउट गराए।
चौथो विकेटको लागि दिपेन्द्र ऐरी र आरिफ शेखले ३४ रनको साझेदारी गरे। २२ औं ओभरमा आरिफलाई तिलक भण्डारीले तथा २३ औं ओभरमा दिपेन्द्रलाई नन्दन यादबले आउट गर्दा बागमती खेलमा हाबी बन्यो। त्यसपछि भण्डारीले अनिल साह र पवन सर्राफको तथा नन्दनले मन्जित श्रेष्ठ, राशिद खान र ललीत राजबंशीको विकेट लिए।
बागमतीको बलिंगमा नन्दन यादव र तिलक भण्डारीले समान ४ विकेट लिए। दायाँ हाते फास्ट बलर यादवले ९ ओभरमा १ मेडन ओभर गर्दै ३१ रन खर्चिए भने लेग स्पिनर भण्डारीले ७.३ ओभरमा १ मेडन ओभर गर्दै १७ रन खर्चिए। यस्तै अर्का फास्ट बलर रामनरेश गिरिले २ विकेट लिए।