NPL : न्युजिल्यान्डका निशम जनकपुर बोल्ट्समा आबद्ध

२०८१ कार्तिक ८, बिहीबार १२:२१

नेपाल प्रिमियर लिगको टिम जनकपुर बोल्ट्सले चर्चित न्युजिल्यान्ड क्रिकेटर जिम्मी निशमलाई टिममा आबद्ध गरेको छ।

आसिफ शेख मार्की खेलाडी रहेको टिमले टिमको पहिलो विदेशी खेलाडीको रुपमा किवी स्टारलाई भित्र्याएको सामाजिक संजालमार्फत जानकारी गराएको हो। टिमले यस अघि प्रशिक्षकको रुपमा राष्ट्रिय टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नियुक्त गरिसकेको छ।

विश्वभरका चर्चित लिग खेलीसकेका निशम नेपाल प्रिमियर लिगमा आउन लागेका सबैभन्दा हाइप्रोफाइल खेलाडी हुन्।

३४ वर्षीय निशम ब्याटिंग अलराउण्डर हुन् जो देब्रे हाते ब्याटिंग गर्छन् भने दायाँ हाते फास्ट बलर हुन्। उनले न्युजिल्यान्डको लागि १२ टेस्ट, ७६ एकदिवसीय अन्तर्राष्ट्रिय र ७९ टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेलीसकेका छन्।

निशमले टि-ट्वान्टीमा ६३ इनिंग्समा २२. ४७ को औशत र १५४. ५० को स्ट्राइक रेटमा ९४४ रन बनाएका छन्। यस्तै बलिंगतर्फ ५३ इनिंग्समा २७. ६४ को औशत, १८. २ को स्ट्राइक रेटमा ३९ विकेट लिएका छन्। उनले २०१२ मा दक्षिण अफ्रीका विरुद्ध न्युजिल्यान्डको लागि टि-ट्वान्टी अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए।

जनकपुर बोल्ट्समा मार्की खेलाडीको रुपमा आसिफ शेख बाहेक ललित राजबंशी, अनिल शाह, किशोर महतो, रुपेश सिंह, शुभ कंसाकार, शेर मल्ल, हेमन्त धामी, अरनिको प्रसाद यादव र तुल बहादुर थापा मगर छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy