विराटनगर किङ्ग्स नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्ससँग सुपर ओभरमा १३ रनले पराजित भएको छ ।
रोमाञ्चक खेलको सुपर ओभरमा पहिले ब्याटिंग गरेको पोखराले विकेट नगुमाई १८ रन बनायो। पोखराका लागि रेमन रेफरले १७ र एन्ड्रिस गौसले एक रन बनाए । सन्दिप लामिछानेले गरेको सुपर ओभरको पहिलो दुई बलमा रेफरले छक्का प्रहार गरे भने चौंथो बलमा चौका प्रहार गरे। जवाफमा रेमन रेफरले गरेको सुपर ओभरमा पाँच रन बनाएको विराटनगरका लागि मार्टिन गुप्टिल र निकोलश किर्तनले दुई दुई रन मात्र बनाउन सके। विराटनगरले अतिरिक्त एक रन पाएको थियो ।
कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरासँग हार खेपेपछि सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरको प्ले अफ पुग्ने सम्भावना कमजोर बनेको छ ।
जितसँगै पोखराले प्ले अफ पुग्ने आशा जगाएको छ । पाँचौँ खेलमा दोस्रो जित निकालेको पोखराको चार अङ्क पुगेको छ । समान खेलमा चौथो हार खेपेको विराटनगरको दुई अङ्क छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार बिहान जितका लागि एक सय ४० रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ३९ नै रन बनाएपछि खेल सुपर ओभरमा गएको हो । यो जारी एनपिएलकै पहिलो सुपर ओभरमा पुगेको खेल हो ।
अन्तिम बलमा जितको लागि ७ रन आवस्यक हुँदा देब्रे हाते स्पिनर बसिर अहमदलाई रेमन रेफरले डिप स्क्वायर लेग तर्फ छक्का प्रहार गर्दा खेल सुपर ओभरमा पुगेको थियो। अन्तिम ओभरमा जितको लागि १४ रन आवस्यक थियो। पहिलो बलमा नारायण जोशीले रन बनाउन सकेनन् भने दोश्रो बलमा १ रन दिंदै रेफरलाई पालो दिएका थिए। रेफरले बसिरलाई तेश्रो बलमा छक्का हिर्काए। त्यसपछिको दुई बलमा बसिरले रन नदिएपछि अन्तिम ओभरमा ७ रन आवस्यक हुँदा रेफरले स्कोर बराबरी गरे।
सुपरओभर अघि पोखराका लागि एन्ड्रिस गौसले सर्वाधिक ३९ रन बनाए । यस्तै रेमन रेफरले अविजित ३४, कप्तान कुशल भुर्तेलले ३१, ओपनर दिनेश खरेल र मिचेल लिस्कले ११/११ रन बनाए।
बलिङमा विराटनगरका प्रतिश जिसीले चार विकेट लिए । उनले विकेट लिने क्रममा पूरा चार ओभर बलिङ गर्दै १८ रन खर्चिए । चार्स सोलले दुई विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सता विकेटको क्षतिमा एक सय ३९ रन बनाए । विराटनगरका लागि स्कर्ट इडवार्डले सर्वाधिक ४५ रन बनाए । यस्तै ओपनर लाेकेश बमले २६, बसिर अहमदले अविजित २१ र निकोलश किर्तनले १९ रन बनाए ।
बलिङमा पोखराका सागर ढकाल र रेमन रेफरले दुई/दुई तथा कुशल भुर्तेल र दिनेश खरेलले एक एक विकेट लिए ।
