नेपाल प्रिमियर लिगका ८ मार्की खेलाडीले २० लाख पाउने, जान्नुस कुन खेलाडी कुन टिमको मार्की बने

नोभेम्बर ३० तारिख देखि नेपाल क्रिकेट संघले आयोजना गर्न लागेको पहिलो संस्करणको नेपाल प्रिमियर लिगको मार्की खेलाडीले कम्तिमा २० लाख रुपैयाँ पाउने भएका छन्।

क्यानले शुक्रबार एक कार्यक्रमका बीच ८ फ़्रेन्चाइज् टिमको गोला प्रथाबाट मार्की खेलाडीहरु घोषणा गरेको छ। बिहिबार क्यानले ८ मार्की खेलाडीहरु घोषणा गरेको थियो भने अब सबैको टिम पनि तय भएको छ।

राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेल लुम्बिनीको, सन्दिप लामिछाने विराटनगरको, दिपेन्द्र सिंह ऐरी सुदूरपश्चिमको, सोमपाल कामि कर्णालीको, आसिफ शेख जनकपुरको, करन केसी काठमाडौँको, कुशल भुर्तेल पोखराको तथा चितवनको कुशल मल्ल मार्की प्लेयर हुने पक्का भएको छ।

मार्की खेलाडी बाहेकको खेलाडी चयन गर्न क्यानले नेपाल प्रिमियर लिगको अक्सन दशैं अघिनै गर्ने बताएको छ। कुल १६ जनाको टिममा हरेक टिमले ४ जना विदेशी खेलाडी राख्न पाउनेछन्। अक्सनमा खेलाडीहरुले पाउने रकम भने कति हुने घोषणा भएको छैन। मार्की खेलाडीको भने कम्तिमा २० लाख रुपैयाँ पाउने निश्चित हुँदा उनीहरुले टिमसंग सम्झौता अनुसार बढी रकम पनि लिन सक्नेछन्।

नेपाल प्रिमियर लिगको आयोजना नोभेम्बर ३० देखि डिसेम्बर २१ तारिखसम्म हुनेछ।

लिगको टिम खरिद गर्न फ़्रेन्चाइज्हरुले महँगो मूल्य तिरेका थिए। पोखराको फ्रेन्चाइजका लागि नेपाल टी–२० प्रालिले सबैभन्दा उच्च बोली लगाएको थियो जसले ३ करोड ५७ लाख रुपैयाँमा टिम हात पारेको थियो।

काठमाडौंको फ्रेन्चाइज कान्तिपुर पब्लिकेसन्सले ३ करोड ३३ लाख ३३ हजार ३३९ रुपैयाँ, जनकपुरको फ्रेन्चाइज ड्रिम्स स्पोर्टसले २ करोड ५ लाख रुपैयाँ,  लुम्बिनीको फ्रेन्चाइज फर्टुना हेल्थ केयरले १ करोड ८६ लाख ४ रुपैयाँ,  सुदूरपश्चिमको फ्रेन्चाइज इम्पायर स्पोटर्सले १ करोड ६८ लाख ८८ हजार ८८८ रुपैयाँ, चितवनको फ्रेन्चाइज चितवन मेडिकल कलेजले १ करोड ७६ लाख १ हजार रुपैयाँ, बिराटनगरको एमएडी ड्रिम्स स्पोर्टसले १ करोड ५१ लाख रुपैयाँ, कर्णालीको फ्रेन्चाइजका लागि हिमालयन बिल्डर्सले १ करोड ११ लाख ७० हजार रुपैयाँ बोलि लगाउदै टिम आफ्नो नाम गरेको थियो।

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy