एनपीएल : तन्भिरले एनपीएल डेब्युमा ५ विकेट लिंदा चितवनद्वारा काठमाडौँ पराजित

२०८१ मंसिर १७, सोमबार १३:३२

sohail tanvir

नेपाल प्रिमियर लिग अन्तर्गत दोश्रो दिनको पहिलो खेलमा चितवन राइनोजले विजयी सुरुवात गर्दै काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गरेको छ।

टियु मैदान कीर्तिपुरमा ११२ रनको सामान्य लक्ष्य पछ्याएको चितवनले १७ बल बाँकी हुँदै लक्ष्य ५ विकेट क्षेतीमा भेटायो।

चितवनको लागि सन्तोष कार्कीले सर्वाधिक २८ रन बनाए जुन क्रममा उनले अविजित रहँदै ३१ बलमा २ चौका र १ छक्का प्रहार गरे। लुक बेन्क्सटिनले २२, हसन इस्खिलले १२ तथा कुशल मल्ल, रभी बोपारा र शरद भेसावकरले अविजित ११ रन बनाए।

लक्ष्य पछ्याउने क्रममा ६८ रनमा ५ विकेट गुमेको अवस्थामा सन्तोष कार्की र शरद भेसावकरले छैठौ विकेटको लागि अविजित ४६ रनको साझेदारी गर्दै जितसम्म पुर्याए।

काठमाडौँ गुर्खाजको बलिंगमा देब्रे हाते स्पिनर शाहब आलमले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २० रन खर्चिए। गेरहार्ड इरास्मस र ड्यान डोथवेटले १/१ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरको काठमाडौँ गुर्खाजले २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनायो।

काठमाडौँको लागि तेश्रो नम्बरमा ब्याटिंग गरेका सुमित महर्जनले सर्वाधिक २९ रन बनाए जुन क्रममा उनले ४१ बलमा १ चौका प्रहार गरे। ओपनर माइकल लेभिटले १६ बलमा २५ रन बनाए जुन क्रममा डच खेलाडीले ४ चौका र १ छक्का प्रहार गरे। ड्यान डथवेटले अविजित १९ रन, शंकर रानाले १६ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। पावरप्ले भित्र ४ विकेट गुमाएपछि चितवनले काठमाडौँलाई लगातार दबाबमा राख्यो।

चितवनको बलिंगमा देब्रे हाते पेसर सोहेल तन्भिर एक्लैले ५ विकेट लिए जुन क्रममा पाकिस्तानी खेलाडीले ४ ओभरमा २१ रन खर्चिए। यस्तै रिजन ढकाल, कुशल मल्ल, अमर सिंह रौटेला र लुक बेन्कस्टेनले समान १ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच सोहेल तन्भिर घोषित भए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy