एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् ।

राखेपद्वारा सादोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषदमा निर्मित ‘नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस् साइन्स रिसर्च सेन्टर’ को उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘टिम स्पिरिट’ का साथ एनपिएल आयोजनाको तयारी अगाडि बढाउने काममा ध्यान दिन परिषद्लाई निर्देशन दिए ।

नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने दोस्रो संस्करणको एनपिएल आयोजनामा देखिएको अन्योललाई चिर्दै प्रधानमन्त्री ओलीले खेल क्षेत्रमा कुनै पनि राजनीतिक नगर्न सबैलाई आग्रह गरे ।

उनले नेपालको खेल क्षेत्र आम्दानी र व्यवसायको क्षेत्र पनि हो भन्ने स्थापित हुने स्थिति बन्दै गएको बताए ।

आफूले हालै स्पेन भ्रमणका क्रममा रियल म्याड्रिडको स्टेडियम हेरेर आएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले दशरथ रंगलाशाको क्षमता कम भएकाले भक्तपुरको सूर्यविनायकमा कम्तीमा ५० हजार दर्शक अट्ने रंगशाला बनाउने घोषणा गरे ।

‘राष्ट्रिय खेलकुदको मिति अब सर्दैन’
प्रधानमन्त्री ओलीले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति अब पनि सार्ने काम भएमा राष्ट्रिय लज्जाको विषय हुने भएकाले आगामी मंसिरमा प्रतियोगिता गर्न परिषद् निर्देशन दिए ।

आगामी मङ्सिर २ देखि ९ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय भएको छ ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy