एनपीएल : सन्दिपको टिम बिराटनगरको दोश्रो हार, दिपेन्द्र चम्किंदा सुदूरपश्चिमको शानदार जित

२०८१ मंसिर १८, मंगलवार १३:२०

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिगमा विजयी सुरुवात गर्ने क्रममा बिराटनगर किंग्सलाई पराजित गरेको छ।

दोश्रो हार बेहोरेको बिराटनगर अघिल्लो खेलमा जनकपुर बोल्ट्ससंग ८ विकेटले पराजित भएको थियो।

टियु मैदान कीर्तिपुरमा सुदूरपश्चिमले दिएको १८३ रनको लक्ष्य पछ्याएको बिराटनगरले १६.१ ओभरमा ९२ रनमा सबै विकेट गुमायो।

बिराटनगरको लागि बसिर अहमदले सर्वाधिक २४, राजेश पुलामीले १५ तथा अनिल खरेलले अविजित १० रन बनाए।

सुदूरपश्चिमका बलर स्कट कुगेलिन र अविनाश बोहराले समान ३ विकेट लिए। कुगेलिनले ४ ओभरमा ३० रन खर्चिंदा बोहराले ३ ओभरमा १७ रन खर्चिए। ब्राण्डन म्याकमुलेनले १ विकेट लिंदा ३ ओभरमा १ मेडन ओभर गर्दै मात्र ८ रन खर्चिए। इशान पाण्डेले १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको सुदूरपश्चिम रोयल्सले २० ओभरमा ७ विकेट गुमाएर १८२ रन बनायो।

रोयल्सको ब्याटिंगमा कप्तान दिपेन्द्र सिंह ऐरीले आक्रामक अर्धशतकीय इनिंग्स खेले। ऐरीले अविजित रहँदै ५७ रन बनाए जुन क्रममा २४ बलमा ३ चौका र ५ छक्का प्रहार गरे। उनले २३ बलमा अर्धशतक पुरा गरे जुन प्रतियोगिताको छिटो अर्धशतक हो।

तेश्रो नम्बरमा ब्याटिंग गरेका ब्राण्डन म्याकमुलेनले २६ बलमा २ चौका र २ छक्का मद्दतले ३६ रन बनाए। ओपनर बिनोद भण्डारीले २० बलमा २३, इशान पाण्डेले १६ बलमा २१ रनको योगदान दिए।

बिराटनगरको बलिंगमा देब्रे हाते स्पिनर अनिल खरेलले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २६ रन खर्चिए। क्रिस सोल, इस्मत आलम र बसिर अहमदले १/१ विकेट लिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy