नेपाल प्रिमियर लिग (एनपीएल)को खेल तालिका सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक गरेको तालिका अनुसार १५ मंसिरको ( नोभेम्बर ३० ) उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट भिड्नेछन् । यो खेल त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा १२ः१५ मा हुनेछ । फाइनल खेल ६ पुसमा ( डिसेम्बर २१ ) हुनेछ ।
प्रतियोगिताको पहिलो दिन ( नोभेम्बर ३० ) र लिग चरणको अन्तिम दिन ( डिसेम्बर १६ ) तारिख बाहेक अन्य दिन दुई खेल संचानल हुनेछन्। विहानको खेल ९:१५ बजे र दिउँसोको खेल १:३० बजे सुरु हुनेछ। प्रतियोगिताको सम्पूर्ण खेलहरु त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा हुनेछन्।
सिंगल राउण्ड रोबिन फर्म्याटमा आयोजना हुने प्रतियोगिताको लिग चरणमा सबै टिमले एक अर्कासंग एक खेल खेलेपछि अंकतालिकाको शिर्ष ४ टिम बीच प्ले-अफ चरणका खेलहरु हुनेछन्। अंकतालिकाको तेश्रो र चौंथो हुने टिम बीच इलिमीनेटर खेल डिसेम्बर १८ तारिखमा हुनेछ। सोहि दिन अंकतालिकाको पहिलो र दोश्रो हुने टिम बीच पहिलो क्वालीफायर हुनेछ। दोश्रो क्वालीफायर डिसेम्बर १९ तारिखमा हुनेछ। डिसेम्बर २१ तारिखमा फाइनल खेलिनेछ।
प्रतियोगिताको सम्पूर्ण खेलहरु स्टार स्पोर्ट्स टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछ।

