स्टार स्पोर्ट्समा नेपाल प्रिमियर लिग प्रशारण हुने

२०८१ कार्तिक ३०, शुक्रबार २३:४५

चर्चित भारतीय स्पोर्ट्स च्यानल स्टार स्पोर्ट्स नेटवर्कले नेपाल प्रिमियर लिग ( एनपीएल ) को प्रत्यक्ष प्रशारण गर्ने भएको छ।

शुक्रबार प्रतियोगिता आयोजक नेपाल क्रिकेट संघ ( क्यान ) ले एक कार्यक्रमको आयोजना गर्दै स्टार स्पोर्ट्सले प्रशारण गर्ने पक्का भएको घोषणा गरेको छ।

नेपालको घरेलु क्रिकेट प्रतियोगिता स्टार स्पोर्ट्सले आयोजना गर्न लागेको यो नै पहिलो पटक हो। स्टार स्पोर्ट्ससंग हाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले आयोजना गर्ने प्रतियोगिताहरु तथा चर्चित भारतीय लिग इन्डियन प्रिमियर लिग ( आईपीएल ) को प्रशारण अधिकार रहेको छ।

आयोजक क्यानले स्टार स्पोर्ट्सको समय किनेर प्रत्यक्ष प्रशारण गर्न लागिएको क्यान सचिव पारस खड्काले जानकारी गराएका छन्। प्रशारण गरे बापत ठूलो रकम क्यानले स्टार स्पोर्ट्सलाई प्रदान गर्नेछ। एनपीएलको स्ट्राटेजिक पार्टनर रहेको ट्वान्टी फर्स्ट सेन्चुरी मिडिया ( TCM Sports ) को लगातार प्रयास पछि स्टार स्पोर्ट्ससंगको प्रशारण सम्झौता सम्भव भएको खड्काले घोषणा कार्यक्रममा बताए।

“स्टार स्पोर्ट्स या अन्तर्राष्ट्रिय च्यानलमा नदेखाईकन संसारका ठूला भन्दा ठूला खेलाडीहरु हामी  नेपालमा ल्याएर खेलाउन सक्ने थिएनौ” पारसले स्टार स्पोर्ट्सलाई पैसा तिरेर प्रशारण गर्नु पछाडीको कारण बताए। उनले भने – “नेपाल प्रिमियर लिगलाई ब्राण्डको रुपमा स्थापित गर्नुछ, यस्तो ब्रान्ड जहाँ संसारभरिका सबैभन्दा चर्चित क्रिकेटरहरु आएर खेलुन्।”

स्टार स्पोर्ट्सले प्रशारण गर्ने भएपछि लिगको प्रशारण स्तर विश्वस्तरको हुने विश्वास गरिएको छ। यस भन्दा अघि नेपालमा आयोजित सन् २०२१ को एभरेस्ट प्रिमियर लिग ( ईपीएल ) ले भारतीय प्रोडक्सन समुह स्पोर्टजवर्क ( Sportzworkz ) मार्फत प्रत्यक्ष गरेको थियो। उक्त प्रतियोगिताको प्रशारण सय भन्दा बढी देशमा गरिएको थियो। नेपाली च्यानलले प्रत्यक्ष प्रशारण गरेता पनि ईपीएलले प्रतियोगिताको प्रोडक्सन भारतीय प्रोडक्सन कम्पनि बाट गर्दै आएको थियो। सोहि कारण ईपीएलको प्रशारणको तारिफ नेपाली समर्थकले गरेका थिए। यो पटक क्यानले स्टार स्पोर्ट्सबाट एनपीएल गर्ने भएपछि ईपीएलको स्तर भन्दा पनि माथिल्लो स्तरको प्रशारण हुने अपेक्षा गरिएको छ।

प्रतियोगिताको अनलाइन प्ल्याटफर्म तथा नेपालमा प्रशारण अधिकार कसले लिने पनि छिट्टै घोषणा हुने बताईएको छ।

८ फ़्रेन्चाइज् टिम सहभागी नेपाल प्रिमियर लिग नोभेम्बर ३० देखि डिसेम्बर २१ तारिख सम्म आयोजना हुनेछ। पहिलो पटक नेपालको घरेलु प्रिमियर लिगको आयोजना नेपाल क्रिकेट संघले आयोजना गर्न लागेको हो।

प्रतियोगितामा भारतीय स्टार क्रिकेटर शिखर धवन, न्युजिल्यान्डका मार्टिन गप्टिल र जेम्स निशम, इंग्ल्यान्डका रभी बोपारा जस्ता क्रिकेटर खेल्ने पक्का भैसकेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy