एनपीएल टि-२० : टिमहरुको नाम सार्वजनिक, खेलाडीको तलव वृद्धि

नेपाल क्रिकेट संघको आयोजनामा सेप्टेम्बर २४ देखि अक्टोबर २२ ( असोज ८ देखि कार्तिक ५ ) सम्म आयोजना हुने नेपाल टि-२० लिगको छवटा टिमको नाम तय भएको छ।

नेपाल क्रिकेट संघ ( क्यान ) को मंगलबार राति बसेको बोर्ड बैठकले टिमहरुको नाम बिराटनगर, जनकपुर, काठमाडौँ, पोखरा, लुम्बिनी अथवा भैरहवा र फारवेस्टर्न रहने निर्णय गरेको हो।

बोर्ड बैठकले नेपालमा हालसम्म संचालित फ़्रेन्चाइज् लिगहरुले नेपाली क्रिकेटमा पुर्याएको योगदानको कदर गर्दै धन्यवाद ज्ञापन गर्ने तथा संघको आफ्नै लिग नेपाल टि-२० लिग हुनाले अन्य कुनै पनि लिगलाई राष्ट्रिय मान्यता नदिने समेत निर्णय गरेको छ। अन्य लिगहरु अब क्षेत्री लिगको रुपमा संचालन गर्न भने क्यानले अनुमति दिने छ।

क्यानले नेपाल टि-२० लिग आयोजनाको जिम्मेवारी भारतको ‘सेभेन थ्रीस्पोर्ट्स’ लाई दिएको छ। क्यानले ‘सेभेन थ्रीस्पोर्ट्स’ कम्पनीलाई आठ बर्षसम्म यस प्रतियोगिता सञ्चालनको जिम्मेवारी दिएको हो । जस वापत क्यानलाई ‘सेभेन थ्रीस्पोर्ट्स’ ले बार्षिक चार करोड १२ लाख ५० हजार रुपियाँ उपलब्ध गराउने छ।

डबल राउन्ड लिगका आधारमा खेलाईले यस प्रतियोगितामा पहिलो बर्ष ६ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहने क्यानले जनाएको छ । आगामी बर्षदेखि सहभागि टोली बढाईने छ । यस लिगमा ‘ए’ श्रेणीमा रहेका खेलाडीले कम्तीमा १५ लाख, ‘बी’ मा रहनेले १० लाख र ‘सी’ श्रेणीमा रहने खेलाडीले पाँच लाख रुपियाँ पारिश्रमिक पाउनेछन् ।


खेलाडी र कर्मचारीको तलव वृद्धि 

क्यानको वैठकले राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुको तलव रु. १० हजारले वृद्धि गरेको छ। अब अनुबन्धमा रहेका ‘ए’ श्रेणीका पुरुष क्रिकेटरले मासिक ६० हजार रुपैयाँ, ‘बि’ श्रेणीकाले मासिक ५० हजार रुपैयाँ तथा ‘सी’ श्रेणीकाले मासिक ४० हजार रुपैयाँ पाउनेछन्।

यस्तै महिला खेलाडीहरुतर्फ ‘सी’ ग्रेडका खेलाडीहरुको तलव ५ हजार तथा ‘ए’ र ‘बि’ ग्रेडकाले मासिक ६ हजार रुपैयाँ वृद्धि गरेको छ। महिलातर्फ ‘ए’ ग्रेडकाले २६ हजार मासिक तथा ‘बि’ ग्रेडकाले १८ हजार मासिक तथा सी ग्रेडकाले १६ हजार मासिक तलव पाउनेछन्।

यस्तै सम्पूर्ण मैदान कर्मचारीहरुको तलव मासिक रु ३ हजार, मैदान सहायक कार्यालय सहयोगीको मासिक रु. ५ हजार तथा टियु मैदानका क्युरेटरको मासिक पारिश्रमिक ६ हजार रुपैयाँ वृद्धि गरिएको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy