एलए ओपन : नेपाली राइनोज अल स्टार्सको दोश्रो जित, बसन्त र पृथुको राम्रो प्रदर्शन

२०७८ असार २०, आईतवार ०१:१६

अमेरिकाको लस एन्जेल्समा जारि एलएल ओपन २०२१ च्याम्पियनसिप टि-२० प्रतियोगिता अन्तर्गत दुई नेपाली राष्ट्रिय क्रिकेटर बसन्त रेग्मी र पृथु बास्कोटा सहभागी क्लब नेपाली राइनोज अल स्टार्सले दोश्रो जित दर्ता गरेको छ।

समुह चरणमा दोश्रो जित दर्ता गर्ने क्रममा नेपाली राइनोज अल स्टार्सले वेस्टइन्डिज क्रिकेटर रायद इम्रिट, किर्क एडवार्ड तथा यसले नर्श रहेको टिम ‘आरडीयु साम्प आर्मी’लाई ४६ रनले पराजित गरेको हो। अल स्टार्सले पहिलो खेलमा अमेरिकी राष्ट्रिय क्रिकेटरहरुको बाहुल्यता रहेको टिम मास्टर ब्लास्टर्सलाई ६७ रनले पराजित गरेको थियो।

राइट क्रिकेट फिल्डमा सम्पन्न खेलमा नेपाली राइनोजले दिएको १७९ रनको लक्ष्य पछ्याउने क्रममा ‘आरडीयु साम्प आर्मीले पुरै २० ओभर ब्याटिंग गर्दै ९ विकेट क्षेतीमा १३२ रन मात्र बनाउन सक्यो।

‘आरडीयु साम्प आर्मीको लागि वेस्टइन्डिज क्रिकेटर यसले नर्शले विस्फोटक ब्याटिंग गर्दै ३६ बलमा ३ चौका र ८ छक्का मद्दतले ७० रन योगदान दिए। यस्तै गजानन्द सिंहले २३, किर्क एडवार्डले १९ रन बनाए। रायद इम्रीटले ५ रन मात्र बनाउन सके।

नेपाली राइनोज अल स्टार्सको बलिंगमा बसन्त रेग्मी, अब्दुल्लाह गाजी र तिमिल पटेलले समान २ विकेट तथा बिपुल शर्मा, नईम योंग र म्रुनाल पटेलले समान १ विकेट लिए।

भेट्रान देब्रे हाते स्पिनर बसन्त रेग्मीले २ विकेट लिने क्रममा ४ ओभर बलिंग गर्दै १ मेडन ओभर फाल्दै मात्र १० रन खर्चिए। यस क्रममा उनले कार्थिके जगदीश र सवारील पारिखको विकेट लिए। इनिंग्सको दशौँ ओभरमा स्पेलको सुरुवात गरेका रेग्मीले पहिलो ओभरमा रायद इम्रीट र यसले नर्स बिरुद्ध कसिलो बलिंग गर्दै मात्र २ रन खर्चिएका थिए। त्यसपछि बाह्रौं ओभरमा रेग्मीले इम्रीट र नर्स बिरुद्ध बलिंग गर्दै मात्र ५ रन खर्चिए। चौधौं ओभरमा बलिंग गर्ने क्रममा रेग्मीले ओभरको तेश्रो बलमा कार्थिके जगदीशलाई एलबिडब्लु तथा पाँचौ बलमा स्वरिल पारिखलाई बोल्ड गर्दै मात्र ३ रन खर्चेर दुई विकेट लिए। सोह्रौं ओभरमा स्पेल समाप्त गर्ने क्रममा उनले मेडन ओभर फालेका थिए।

बसन्त रेग्मी र पृथु बास्कोटाको प्रदर्शन राम्रो रह्यो

यस अघि टस हारेर ब्याटिंग गरेको नेपाली राइनोज अल स्टार्सले २० ओभरमा मात्र २ विकेट गुमाएर १७८ रन बनाएको थियो।

नेपाली राइनोजको लागि भारतीय पूर्व यु-१९ राष्ट्रिय क्रिकेटर रहीसकेका स्मित पटेलले सर्वाधिक अविजित ९७ रन बनाए जुन क्रममा ६३ बलमा ११ चौका र २ छक्का प्रहार गरे। यस्तै पृथु बास्कोटाले २९ रन, म्रुनाल पटेलले २४ रन तथा नईम योंगले १६ रन बनाए।

तेश्रो नम्बरमा ब्याटिंग गर्न आएका पृथुले स्मित पटेलसंग दोश्रो विकेटको लागि महत्वपूर्ण ९० रनको साझेदारी गरे। वेस्टइन्डिजको लागि खेलीसकेका अफ स्पिनर एशले नर्शबाट स्टम्प आउट हुनु अघि बास्कोटाले २३ बलमा २ छक्का मद्दतले २९ रन बनाए।

अघिल्लो खेलमा मास्टर ब्लास्टर्स बिरुद्ध बसन्त रेग्मीले १ विकेट लिंदा पृथुले मात्र ३ रन बनाउन सकेका थिए।

दोश्रो जितपछि नेपाली राइनोज अल स्टार्स समुह ‘सी’ अंकतालिकामा ४ अंक सहित शिर्षस्थानमा उक्लेको छ। टिमले अर्को खेल आजै पीभी हरिकेन्ससंग खेल्ने तालिका रहेको छ।

शुक्रबार सुरु भएको प्रतियोगितामा कुल २० टोलि सहभागी रहेका छन्। ५ दिन चल्ने प्रतियोगिताको विजेताले ७५ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछ। अमेरिकी क्रिकेट बोर्डले मान्यता दिएको प्रतियोगिताको सम्पूर्ण खेलको प्रत्यक्ष प्रशारण विलो टिभीले गरिरहेको छ।

अमेरिकामा क्रिकेट गतिविधिमा संलग्न हुने तथा नेपाली युवा क्रिकेटहरुको प्रवर्द्धन गर्ने उद्देश्यका साथ अमेरिकामा बसोबास गरिरहेका राष्ट्रिय क्रिकेटरहरु सहितको समुहले ‘नेपाली राइनोज अल-स्टार्स’ क्लबको स्थापना गरेका छन्। क्लबमा पूर्व राष्ट्रिय क्रिकेटर कनिस्क चौगाईं कप्तान रहेका छन् भने टिम व्यवस्थापकमा अर्का पूर्व राष्ट्रिय क्रिकेटर बरदान चालिसे, आशिक लामा र सन्जय शर्मा रहेका छन्। अर्का पूर्व राष्ट्रिय क्रिकेटर बन्टु बटाजु र अनुनय बस्न्यात व्यवस्थापन निर्देशकको भूमिकामा रहेका छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy