बिग ब्यास : नेट रनरेटमा पछि पर्दै होबार्ट प्लेअफ पुग्न असफल, यस्तो रह्यो सन्दिपको प्रदर्शन

लिग चरणको अन्तिम खेलमा मेलबर्न रेनेगेड्ससंग ११ रनले पराजित भएसंगै नेपाली लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित होबार्ट हरिकेन्सको यो सिजन बिग ब्यास लिग यात्रा समाप्त भएको छ।

मेलबर्नको घरेलु मैदान मेलबर्न क्रिकेट ग्राउण्डमा सम्पन्न खेलमा मेलबर्नले दिएको १५१ रनको लक्ष्य पछ्याउने क्रममा होबार्टले १३९ रन मात्र बनाउन सक्यो। मेलबर्नका फास्ट बलर ज्याक इभान्स एक्लैले ५ विकेट लिंदै होबार्टको प्लेअफ पुग्ने सपना चकनाचुर पारे।

लिग चरणमा होबार्टले खेलेको १४ खेलमा ७ जित र ७ हार बेहोर्दै अंकतालिकाको छैठौं स्थानमा रह्यो। समान अंक रहेको एडीलेड नेट रन रेटमा अघि रहँदै पाँचौ स्थानमा रह्यो। नेट रन रेटमा पछि पर्दै होबार्ट प्लेअफ पुग्न असफल रह्यो। एडीलेडको नेट रन रेट +०.१०५ रह्यो भने होबार्टको -०.१८७ रहयो। लिगको पछिल्लो ७ खेलमा होबार्ट ५ खेलमा पराजित हुन पुग्यो।

सिड्नी सिक्सर्स, पर्थ स्करचर्स, सिड्नी थन्डर्स, ब्रिसबेन हिट र एडीलेड स्ट्राइकर्स अंकतालिकामा पहिलो देखि पाँचौ स्थानमा रहँदै प्लेअफ चरण पुग्न सफल भयो।

लिगको प्लेअफ चरणको पहिलो खेलमा अंकतालिकामा चौथो स्थानमा रहेको ब्रिसबेन र पाँचौ स्थानको एडीलेडले इलिमीनेटरमा शुक्रबार प्रतिस्पर्धा गर्नेछन्। यस्तै शनिवार क्वालीफायरमा पहिलो र दोश्रो स्थानमा रहेका सिड्नी सिक्सर्स र पर्थ स्करचर्सले प्रतिस्पर्धा गर्नेछ जसको विजेता सोझै फाइनल खेल्नेछ। आइतबार हुने नकआउटमा अंकतालिकामा तेश्रो स्थानमा रहेको सिड्नीले ब्रिसबेन र एडीलेड बीचको इलिमीनेटरको विजेतासंग प्रतिस्पर्धा गर्नेछ। नकआउटमा विजयी हुने टिम र क्वालीफायरमा पराजित हुने टिम बीच फाइनल पुग्न प्रतिस्पर्धा हुनेछ।

सन्दिपको प्रदर्शन 

तेश्रो सिजन बिग ब्यास लिग खेल्ने क्रममा होबार्टको पहिलो पटक प्रतिनिधित्व गरेका नेपाली लेग स्पिनर सन्दिप लामिछानेले कुल ८ खेल खेल्दा ८ विकेटनै आफ्नो नाम गरे। अन्तिम खेलमा मेलबर्न बिरुद्ध सन्दिपले ३५ रन खर्चेर विकेटविहिन रहे।

लिग अन्तर्गत सन्दिपले पहिलो खेलमा मेलबर्न स्टार्स बिरुद्ध २ विकेट, स्टार्स बिरुद्ध दोश्रो खेलमा १ विकेट लिएका थिए। तेश्रो खेलमा सिड्नी थन्डर्स बिरुद्ध सन्दिपले १ विकेट लिए जसपछि पर्थसंग चौथो र सिड्नी थन्डर्स बिरुद्ध पाँचौ खेलमा सन्दिप विकेटविहिन रहे। छैठौं खेलमा पर्थ र सातौँ खेलमा सिड्नी सिक्सर्स बिरुद्ध सन्दिपले २/२ विकेट लिए। आठौँ खेलमा मेलबर्न रेनेगेड्स बिरुद्ध सन्दिप विकेटविहिन रहे।

पहिलो खेल – बिरुद्ध मेलबर्न स्टार्स : २/३८ , दोश्रो खेल – बिरुद्ध मेलबर्न स्टार्स : १/३६ , तेश्रो खेल ( बिरुद्ध सिड्नी थन्डर  – १/२३ , चौथो खेल – बिरुद्ध पर्थ स्करचर्स : ०/२३ , पाँचौ खेल – बिरुद्ध सिड्नी थन्डर : ०/२८, छैठौं खेल – बिरुद्ध पर्थ स्करचर्स : २/२७, सातौँ खेल – बिरुद्ध सिड्नी सिक्सर्स : २/२४, आठौँ खेल – बिरुद्ध मेलबर्न रेनेगेड्स : ०/३५

८ खेलमा ३१ ओभर बलिंग गर्ने क्रममा सन्दिपले ७.५४ रन प्रतिओभर रनको रेटमा २३४ रन खर्चिए।

सन्दिप लामिछानेले यो सिजन कुल ८ विकेट लिए 

बिग ब्यास लिगको गत सिजन ( २०१९-२० ) मेलबर्न स्टार्सको लागि खेल्ने क्रममा सन्दिपले १३ खेलमा १५ विकेट हात पारेका थिए। यस्तै २०१८/१९ मा पहिलो सिजन स्टार्सबाटै खेलेका सन्दिपले ८ खेलमा ११ विकेट लिएका थिए।

३ सिजन बिग ब्यास लिग खेल्दा सन्दिपले कुल २९ खेल खेल्दा कुल ३४ विकेट आफ्नो नाम गरेका छन्।

लिगमा सहभागिता पछि सन्दिप १-२ दिन भित्र नेपाल पुग्ने छन्। केहि दिन आराम पछि सन्दिप राष्ट्रिय क्रिकेट टिमको बन्दप्रशिक्षणमा सहभागी हुनेछन्। नेपाली राष्ट्रिय क्रिकेट टिमले फेब्रुअरी १ तारिख ( माघ १९ ) देखि बन्द प्रशिक्षक सुरु गर्नेछ। राष्ट्रिय टिमले फेब्रुअरी ९ देखि १२ तारिख ( माघ २७ देखि ३० ) सम्म कतारमा मैत्रीपूर्ण टि-२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नेछ जसमा सन्दिप लामिछाने पनि सहभागी हुनेछन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy