रोमान्चक खेलमा बंगलादेशद्वारा न्युजिल्यान्ड ४ रनले पराजित

२०७८ भाद्र १८, शुक्रबार १९:२३

रोमान्चक दोश्रो खेलमा भ्रमण टोलि न्युजिल्यान्डलाई ४ रनले पराजित गर्दै बंगलादेशले पाँच खेलको टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा २-० को अग्रता हाँसिल गरेको छ।

शेरे बांग्ला नेसनल स्टेडियम ढाकामा सम्पन्न खेलमा बंगलादेशले दिएको १४२ रनको लक्ष्य पछ्याउने क्रममा पुरै २० ओभर ब्याटिंग गरेको न्युजिल्यान्डले ५ विकेट क्षेतीमा १३७ रन मात्र बनाउन सक्यो।

सुरुवाती २ विकेट चाडै गुमाएपछि कप्तान टम लाथमले एक किनार सम्हाल्दै तेश्रो विकेटको लागि विल योंगसंग ४३ रनको साझेदारी गरे। शाकिब अल हसनले योंगलाई ११ औं ओभरमा आउट गरेपछि कोलिन डी ग्रयाण्ड होम र हेनरी निक्कोलस पनि क्रिजमा लामो समय जम्न सकेनन्। ९२/५ को स्थितिबाट लाथमले कोल म्याककोन्चीसंग साझेदारी गर्दै टिमलाई जित दिलाउने प्रयास गरेका थिए।

अन्तिम २ ओभरमा जितको लागि न्युजिल्यान्डलाई २८ रन आवस्यक रहंदा मोहम्मद सैफुद्दीनले १९ औं ओभरमा मात्र ८ रन खर्चिए। त्यसपछि अन्तिम ओभरमा २० रन आवस्यक रह्यो। अन्तिम ओभरमा मुस्तफिजुर रहमानले पहिलो ४ बलमा ७ र मात्र खर्चिए पछि अन्तिम २ बलमा जित्न १३ रन आवस्यक रह्यो। सो अवस्थामा मुस्तफिजुरले पाँचौ बलमा नो बल गरे जसमा लाथमले चौका प्रहार गरे। त्यसपछि फ्री हिट बलमा लाथमले २ रन लिए। अन्तिम बलमा जित्न छक्का आवस्यक हुँदा लाथमले १ रन मात्र लिन सकेपछि बंगलादेशले जित दर्ता गर्यो।

टम लाथमले अविजित ६७ रन बनाए जुन क्रममा ४९ बलमा ६ चौका र १ छक्का प्रहार गरे। विल योंगले २२ रन, कोल म्याककोन्चीले अविजित १५ रन बनाए। बंगलादेशको बलिंगमा मेहदी हसन ( ४-०-१२-२ ) र शाकिब अल हसन ( ४-०-२९-२ ) ले समान २ विकेट तथा नसुम एहमदले १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग रोजेको बंगलादेशले २० ओभरमा ६ विकेट क्षेतीमा १४१ रन बनाएको थियो। उसको लागि ओपनर मोहम्मद नैमले सर्वाधिक ३९ रन, कप्तान महमुदुल्लाहले अविजित ३७ रन, लिटन दासले ३३ रन, नुरुल हसनले १३ तथा शाकिब अल हसनले १२ रन योगदान दिए।

नैम र दासले ५९ रनको ओपनिंग साझेदारी गरेपछि बंगलादेशले नियमित अन्तरलमा विकेट गुमाएको थियो। पाँचौ नम्बरमा आएका महमुदुल्लाहले छैठौं विकेटको लागि नुरुल हसनसंग ३२ रनको साझेदारी गरेका थिए।

न्युजिल्यान्डको बलिंगमा देब्रे हाते स्पिनर रचिन रभिन्द्रले सर्वाधिक ३ विकेट ( ४-०-२२-३ ) तथा एजाज पटेल, कोल म्याकोन्चि र हमिश बेनेटले समान १ विकेट लिए।

सिरिज अन्तर्गत पहिलो खेल बंगलादेशले ७ विकेटले जितेको थियो। सिरिजको तेश्रो खेल सेप्टेम्बर ५ तारिखमा खेलिनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy