टि-२० शृंखलामा न्युजिल्याण्डको बिजयी सुरुवात, भारतलाई आफ्नो टि-२० इतिहासकै ठूलो हार

२०७५ माघ २३, बुधबार १६:२२

  • विकेटनेपाल – माघ २३, बुधवार

घरेलु टोलि न्युजिल्यान्ड बिरुद्धको पहिलो टि-२० खेलमा भारतले ८० रनको लज्जास्पद हार बेहोरेको छ। टि-२० अन्तर्राष्ट्रियमा रनका आधारमा भारतले बेहोरेको यो सबैभन्दा ठूलो हार समेत हो।

टि-२० अन्तर्राष्ट्रियमा भारतको सर्वाधिक ठूलो हार ( रन अन्तरमा )

८० बिरुद्ध न्युजिल्यान्ड ( २०१९ )
४९ बिरुद्ध अष्ट्रेलियन ( २०१० )
४६ बिरुद्ध न्युजिल्यान्ड ( २०१६ )

टस हारेर पहिले ब्याटिंग गर्दै न्युजिल्यान्डले दिएको २२० रनको बिशाल लक्ष्य पछ्याउने क्रममा भारतले १९.२ ओभरमा सबै विकेट गुमाएर १३९ रन मात्र जोड्न सक्यो। भ्रमणकारी टोलीको चेजमा एम एस धोनीले सर्वाधिक ३९ (३१ बल, ५ चौका, १ छक्का ) रन जोडेपनि टोलीको जितमा त्यो अपुग रह्यो।

न्युजिल्याण्डले दिएको बिशाल लक्ष्य पछ्याउने क्रममा भारतीय ब्याट्सम्यानहरुले ठूला सट खेल्ने क्रममा लगातार विकेट गुमाउन पुगे। नियमित कप्तान बिराट कोहलीको अनुपस्थितिमा भारतीय टोलि ब्याटिंग तर्फ थप कमजोर देखिएको थियो।

टोलीको खातामा मात्र १८ रन हुँदा रोहित शर्मा ( १ ) लाई पहिलो विकेट स्वरूप गुमाएको भारतले ५१ रनको स्कोरमा शिखर धवन ( २९ ) लाई समेत गुमाउन पुग्यो। भारतको विकेट झर्ने क्रम त्यतिमा मात्र रोकिएन। विजय शंकर ( २७ ), रिसभ पन्त ( ४ ), दिनेश कार्तिक ( ५ ) र हार्दिक पान्ड्या ( ४ ) लगार पभेलियन फर्किंदा टोलीले ७७ रन जोड्न ६ विकेट गुमाएको थियो।

भाइ हार्दिकको विकेट पश्चात ब्याटिंग गर्न उत्रिएका दाजु क्रुनाल पान्ड्याले महेन्द्रसिंह धोनीसंग मिलेर आठौँ विकेटका लागि ५२ रनको साझेदारी गर्दै भारतको स्कोरलाई १०० रन पार गराए। क्रुनालले १८ बलमा १ चौका र १ छक्का सहित २० रन जोडे। क्रुनालको विकेट पश्चात लगातार विकेट गुमाएको भारत १९.२ ओभरमा १३९ रनमा समेटिन पुग्यो।

न्युजिल्याण्डको बलिंगतर्फ टिम साउदीले सर्वाधिकले ३ विकेट ( ४-०-१७-३ ) हात पारे। यस्तै लक्की फर्गुसन, इश् सोढ़ी र मिचल स्यान्टनरको नाममा समान २-२ विकेट रह्यो।

सेइफर्टको बिष्फोटक ब्याटिंग :

यसअघि टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१९ रन जोडेको थियो। विलिंग्टन मैदानमा कुनैपनि टोलीले जोडेको यो सर्वाधिक रन समेत हो।

घरेलु टोलीको इनिंगमा ओपनर टिम सेइफर्टले बिष्फोटक ब्याटिंग गर्दै ८४ रनको इनिंग खेलेका थिए। मात्र ४३ बलको सामना गरेका साइफर्टले ७ चौका र ६ छक्का प्रहार गर्दा न्युजिल्याण्डले ठूलो योगफल बनाउन सफल रह्यो।

साइफर्टले कोलिन मुन्रोसंग पहिलो विकेटका लागि ८६ रनको साझेदारी गर्दै टोलीलाई सानदार सुरुवात दिएका थिए। मुन्रो २० बलमा २ चौका र समान छक्का सहित ३४ रन जोड्दा क्रुनाल पान्ड्याको शिकार बनेका थिए। मुन्रोको विकेट पश्चात साइफर्टले केन विलियम्सनसंग दोस्रो विकेटका लागि ४८ रनको साझेदारी गर्दै टोलीको इनिंगलाई अघि बढाएका थिए।

१३ औं ओभरको चौथो बलमा साइफर्टको विकेट खलिल अहमदले हात पार्दा न्युजिल्यान्डले १३४ रन जोड्न २ विकेट गुमाएको थियो। साइफर्टको विकेट पश्चात न्युजिल्याण्डले निरन्तर विकेट गुमाएपनि हरेक ब्याट्सम्यानले योगदान गर्न भ्याए। उसका केन विलियम्सन ३४ र रस टेलरले व्यक्तिगत २३ रन जोड्दा स्कट कुग्ग्लिन २० रनमा अविजित रहे।

भारतको बलिंगमा हार्दिक पान्ड्याले सर्वाधिक २ विकेट लिन ४ ओभरमा ५१ रन खर्चिएका थिए। यस्तै भुवनेश्वर कुमार, खलिल अहमद, क्रुनाल पान्ड्या र युजभेंद्र चहलको नाममा समान १-१ विकेट रहेको थियो।

दुबै टोलि बिचको दोस्रो टि-२० आउँदो शुक्रवार तथा अन्तिम टि-२० आउँदो आइतवार खेलिने छ। यसअघि सम्पन्न पाँच खेलको एक दिवसीय शृंखलाभने भारतले ४-१ ले जितेको थियो।

Photos : (@ICC)

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy