भारत-न्युजिल्याण्ड खेलमा वर्षा भिलेन, अंकतालिकाको यस्तो छ ताजा अवस्था

इंग्ल्याण्डमा जारि एकदिवसीय विश्वकपलाई वर्षाले प्रभावित गर्ने क्रम जारि रहेको छ। भारत र न्युजिल्याण्ड बीचको बहुप्रतिक्षित खेल टस पनि नभई नतिजाविहिन टुंगिएको हो।

नटिंगम मैदानमा ३:१५ बजे नेपाली समयमा सुरु हुनु पर्ने खेल बारम्बार वर्षाले स्थगित हुँदा दुवै टिमले १-१ अंक बाँडेका छन्।

१ अंक पाउदा न्युजिल्याण्ड ४ खेलमा ७ अंक सहित अंकतालिकाको शिर्षस्तनमा रहेको छ। भारतको ३ खेलमा ५ अंक पुगेको छ।

भारतले अब आगामी खेल पाकिस्तानसंग आइतबार म्यानचेस्टरमा खेल्दैछ। पाकिस्तानसंग सबैभन्दा प्रतिक्षित खेलमा पनि वर्षा भिलेन हुने सम्भावना रहेको छ। न्युजिल्याण्डले आगामी खेल दक्षिण अफ्रीकासंग जुन १९ तारिखमा खेल्नेछ।

जारि प्रतियोगितामा वर्षाले नतिजाविहिन भएको यो चौथो खेल हो जसले फ्यान र आयोजक आईसीसीलाई निराश बनाएको छ। विश्वकपमा लिग चरणको खेलहरुमा रिजर्भ डेको पनि व्यवस्था रहेको छैन। सेमीफाइनल र फाइनलमा मात्र रिजर्भ डे राखिएको छ।

यस अघि पाकिस्तान र श्रीलंका, दक्षिण अफ्रीका र वेस्ट इन्डिज , बंगलादेश र श्रीलंका बीचको खेल पनि नतिजाविहिन रहेको थियो।

खेल नहुँदा आईसीसीले खेल हेर्न पुगेका समर्थकहरुलाई टिकट वापतको रकम फिर्ता गरेको छ। तर अवैधानिक रुपमा महँगोमा टिकट काटेका दर्शकहरुले भने खेल नहुँदा ठुलो रकम गुमाउन पुगेका छन्।

“मैले यो खेल हेर्न ७० हजार भारतीय रुपैयाँ ( १ लाख १२ हजार नेपाली रुपैयाँ ) तिरेको छु। मैले धेरै पैसा गुमाउन पुगे। पाकिस्तानसंगको खेलको लागि कालोबजारी मार्केटमा १ लाख ७६ हजार भारु ( २ लाख ८२ हजार नेपाली रुपैयाँ ) रहेको छ जुन मेरो क्षमता बाहिर छ।” हिन्दुस्तान टाइम्ससंग खेल हेर्न सिंगापुरबाट इंग्ल्याण्ड पुगेका एक भारतीय समर्थकले बताएका छन्।

प्रतियोगितामा यस अघि भरतले अस्ट्रेलिया र दक्षिण अफ्रीकालाई पराजित गरेको थियो भने न्युजिल्याण्डले पनि अपराजित रहंदा श्रीलंका, बंगलादेश र अफगानिस्तानलाई पराजित गरिसकेको छ।

( एजेन्सीको सहयोगमा )

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy