केन विलियमसनले शानदार ब्याटिंग गरेपछि अन्तिम ओभरसम्म पुगेको रोमान्चक खेलमा न्युजिल्याण्डले दक्षिण अफ्रीकालाई ४ विकेटले पराजित गरेको छ।
पाँचौ खेलमा चौथो जित हात पर्दै ९ अंक बटुलेको न्युजिल्याण्ड विश्वकप अंकतालिकाको पहिलो स्थानमा उक्लेको छ। दक्षिण अफ्रीका भने आठौँ स्थानमा रहंदा ६ खेलमा १ जित र ४ हार बेहोरेको छ।
दक्षिण अफ्रीकाले दिएको २४२ रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डको सुरुवात राम्रो हुन सकेन। मार्टिन गुप्टिल ३५, कोलिन मुनरो ९, रोस टेलर र टम लाथम १/१ रन बनाएर आउट हुँदा १८.१ ओभरमा योगफल ८०/४ पुगेको थियो।
पाँचौ विकेटको लागि जेम्स निशाम र कप्तान केन विलियमसनले ५७ रनको साझेदारी गरे। निशाम ३३ औं ओभरमा क्रिस मोरिसको बलमा क्याच आउट भए।
छैठौं विकेटको लागि विलियमसन र कोलिन डी ग्रयाण्डहोमले ९१ रनको साझेदारी गर्दै टिमलाई जितको दिशामा डोर्याए।
डी ग्रयाण्डहोम ४८ औं ओभरमा आउट हुँन पुग्दा खेलले रोचक मोड लियो। ४७ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै उनि एनगीडीको बलमा क्याच आउट भए।
४८ औं ओभरमा एनगीडीले ६ रन मात्रै खर्चिदा अन्तिम ओभरमा न्युजिल्याण्डलाई जित्न ८ रन आवस्यक रहेको थियो।
एन्डीले फेलुक्वायोले गरेको अन्तिम ओभरको दोश्रो बलमा विलियमसनले छक्का प्रहार गर्दा न्युजिल्याण्डले राहतको स्वास फेरेको थियो। लगत्तै बलमा चौका प्रहार गर्दै उनले टिमलाई जित दिलाए।
विलियमसनले १२ औं एकदिवसीय शतक पुरा गर्ने क्रममा अविजित १०६ रन बनाए। यस क्रममा उनले १३८ बलमा ९ चौका र १ छक्का प्रहार गरे।
दक्षिण अफ्रीकाको बलिंगमा क्रिस मोरिसले सर्वाधिक ३ विकेट ( १०-०-४९-३ ) तथा कागीसो रबाडा, लुंगी एनगीडी र एन्डीले फेलुक्वायोले १/१ विकेट लिए।
दक्षिण अफ्रीकाको ब्याटिंग
खेलमा पहिले ब्याटिंग गरेको दक्षिण अफ्रीकाले निर्धारित ४९ ओभरमा ६ विकेट गुमाएर २४१ रन बनाएको थियो। भिजेको आउटफिल्डका कारण खेल १ ओभर घटाइएको थियो।
एजब्यासटन मैदानमा टस हारेर ब्याटिंग गरेको दक्षिण अफ्रीकाको लागि रस्सी भान डर डुसेनले सर्वाधिक अविजित ६७ रन बनाए जुन क्रममा ६४ बलमा २ चौका र ३ छक्का प्रहार गरे। यस्तै हाशिम अमलाले ५५, एडेन मारक्रमले ३८ तथा डेभिड मिलरले ३६ रन बनाए।
रस्सी भान डर डुसेन र डेभिड मिलरलले पाँचौ विकेटको लागि ७४ रनको साझेदारी गरेका थिए।
न्युजिल्यान्डको लागि बलिंगमा लकी फर्गुसनले ३ विकेट ( १०-०-५९-३ ) तथा ट्रेन्ट बोल्ट ( १०-०-६३-१ ) , कोलिन डी ग्रयाण्डहोम ( १०-०-३३-१ ) र मिचेल स्यांटनर ( ९-०-४५-१ ) ले १/१ विकेट लिए। म्याट हेनरीले विकेट नलिए पनि १० ओभरमा २ मेडन गर्दै ३४ रन मात्र खर्चिए।
प्रतियोगितामा दक्षिण अफ्रीकाले ५ खेल खेल्दा १ जित बेहोर्दा ३ हार १ खेल नतिजाविहिन रहेको थियो। न्युजिल्याण्डले भने ४ खेलमा ३ जित बेहोरेको छ भने १ खेल नतिजा विहिन रहेको थियो।