कीर्तिमानी ओ ब्रायनद्वारा ओडीआई क्रिकेटबाट सन्यास

२०७८ असार ४, शुक्रबार १८:०९

आयरल्याण्डका स्टार अलराउण्डर केभिन ओ ब्रायनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। क्रिकेट आयरल्याण्डले शुक्रबार ( जुन १८ ) ओ ब्रायनले सन्यास घोषण गरेको जानकारी गराएको हो। उनले टेस्ट र टि-२० अन्तर्राष्ट्रिय करियर भने निरन्तरता दिनेछन्।

३७ वर्षीय खेलाडी आयरल्याण्डको एकदिवसीय अन्तर्राष्ट्रिय इतिहासको तेश्रो सर्वाधिक रनकर्ता हुन् जसले १५३ खेलमा २९.४१ को औशत र ८८.७२ को स्ट्राइक रेटले ३,६१८ रन बनाएका छन्। उनि एकदिवसीय अन्तर्राष्ट्रियमा आयरल्याण्डको सर्वाधिक विकेटकर्ता तथा क्याच लिने हुन् जसले कुल ११४ विकेट लिएका छन् भने ६८ वटा क्याच समातेका छन्। अन्तिम पटक उनले यसै महिना नेदरल्याण्ड बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए जसमा उनि खाता नखोली आउट भएका थिए।

सन् २०११ को एकदिवसीय विश्वकपमा आयरल्याण्डले इंग्ल्यान्डलाई पराजित गर्दा उनले ११३ रनको उत्कृस्ट शतकीय पारि खेलेका थिए। त्यस क्रममा उनले ५० बलमा शतक पुरा गरेका थिए जुन अहिले पनि विश्वकप क्रिकेटमा सबैभन्दा छिटो शतक हो।


“१५ वर्ष आयरल्याण्डको लागि खेलीसकेपछि मलाई यो नै एकदिवसीय अन्तर्राष्ट्रियबाट सन्यास लिने सहि समय भएको महसुस भएको छ।” ओ ब्रायनले बताए। “देशको लागि १५३ खेलमा प्रतिनिधित्व गर्न पाउनु मेरो लागि गर्वको कुरा हो जुन यादहरु म जीवनभर याद राख्नेछु।”

“यो मेरो लागि पक्कै सहज निर्णय थिएन तर मलाई महसुस भयो कि मैले पहिले जस्तै एकदिवसीय अन्तर्राष्ट्रियमा योगदान दिन सक्दिन। एकदिवसीय फर्म्याटको लागि मेरो भोक र माया पहिले जस्तो छैन, त्यसैले म शतप्रतिशत महसुस नगर्दा खेलीराख्नु टिम, समर्थकको लागि इमान्दारिता हुने छैन।”

“मैले करियरको दौरान सन् २००६ देखि धेरै अविश्वसनीय पलहरु भोगेको छु। तिन वटा विश्वकप, व्यक्तिगत सफलता, विश्वभर यात्रा गरेर समय बिताउनु।  आगामी १८ महिनामा दुई वटा टि-२० विश्वकप आउदैछ, अब म मेरो ध्यान पूर्णतः टि-२० क्रिकेटमा लगाउन चाहन्छु।”

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy