ICC WCL 2 : पपुवा न्यु गिनीको १२ औं हार, ओमान ३ विकेटले विजयी

आईसीसी विश्व कप लिग-२ अन्तर्गत पपुवा न्यु गिनीले लगातार १२ औं खेलमा पनि हार बेहोरेको छ।

ओमानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत पाँचौ खेलमा आयोजक ओमानसंग पपुवा न्यु गिनी ३ विकेटले पराजित भएको हो। सिरिजको ४ वटै खेलमा पपुवा न्यु गिनी पराजित भयो।

अल अमिरात क्रिकेट मैदानमा सम्पन्न खेलमा पपुवा न्यु गिनीले दिएको १५१ रनको लक्ष्य ओमानले ७ विकेट क्षेतीमा ३५.५ ओभरमा भेटायो। उसको लागि अकिब इल्यासले सर्वाधिक ५६ रन, मोहम्मद नदीमले २४ रन, कश्यप प्रजापतिले २१ रन तथा जिशन मक्सुदले अविजित १७ रन बनाए। सुरुवाती ३ विकेट ४७ रनमा गुमाएपछि तेश्रो विकेटको लागि इल्यास र नदीमले ७३ रनको साझेदारी गरेका थिए। उक्त साझेदारी टुटेपछि लगातार विकेट गुमेता पनि कप्तान मक्सुदले एक किनार सम्हाल्दै टिमलाई जितसम्म पुर्याए।

पपुवा न्यु गिनीका देब्रे हाते पेसर कबुवा मोरीए एक्लैले ५ विकेट लिएता पनि जित्न पर्याप्त रहेन। उनले ९ ओभरमा मात्र २८ रन खर्चिए। चाड सोपर र सिसि बाउले समान १ विकेट लिए।

खवर अलिले ५ विकेट लिए ( फाइल फोटो )

यस अघि टस जितेर ब्याटिंग गरेको पपुवा न्यु गिनीले ४३.२ ओभरमा सबै विकेट गुमाएर १५० रन बनाएको थियो। उसको लागि कप्तान असाद भालाले सर्वाधिक ६२ रन, लेगा सियाकाले २२ रन, जेसन किलाले १८ रन तथा टोनी उराले १७ रन बनाए। ८७ रनमा ६ विकेट गुमाएको अवस्थामा भालाले किलासंग सातौँ विकेटको लागि ४५ रनको साझेदारी गरेका थिए।

ओमानको बलिंगमा लेग स्पिनर खवर अलि एक्लैले ५ विकेट लिए जुन क्रममा ८ ओभरमा २ मेडन ओभर गर्दै १५ रन मात्र खर्चिए। यस्तै कप्तान जिशान मक्सुदले २ ( १०-१-३९-२ ) विकेट लिए भने बिलाल खान, कलेमुल्लाह र अकिब इल्यासले समान १ विकेट लिए।

आईसीसी विश्वकप लिग-२ मा ओमानको यो १७ औं खेल खेल्दा १३ औं जित हो जसपछि २६ अंक सहित ओमान पहिलो स्थानमा यथावत रहेको छ। पपुवा न्यु गिनीले भने खेलेको सबै १२ वटै खेलमा हार बेहोरेको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy