ओमान भ्रमण अन्तर्गत पपुवा न्यु गिनीलाई पहिलो दुई एकदिवसीय अन्तर्राष्ट्रियमा पराजित गरेको नेपाली टिमबाट सोहि खालको प्रदर्शनको अपेक्षा नेपाली फ्यानहरुले गरेका थिए। तर विश्वकप लिग-२ अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिजमा नेपालको प्रदर्शन सुधार हुनु पर्नेमा झनै कमजोर हुँदै गएको छ। लिग-२ मा अघिल्लो ३ खेलमा पराजित गरेको अमेरिकाले समेत नेपाललाई ६ विकेटले सहजै पराजित गर्न सफल रह्यो। खेलमा र त्रिकोणात्मक सिरिजमा केहि प्रमुख खेलाडीहरुको फर्म नेपालको चिन्ताको विषय बनेको छ –
१. कुशल मल्ल : सुरुवाती विकेट लगातार गुमेपछि कप्तान ज्ञानेन्द्र मल्ल र गुल्सन झाले अर्धशतकीय साझेदारी गर्दै नेपाललाई उकासेका थिए। गुल्सन आउट भएपछि क्रिजमा आएका कुशलले ज्ञानेन्द्रको साथ दिने विश्वास गरिएको थियो। तर मल्ल पुनः असफल भए र खाता समेत नखोली सौरभ नेत्रभाल्करबाट आउट भए। अनुभवी ब्याट्सम्यान शरद भेसावकरलाई बेन्चमा राखेर नेपालले देब्रे हाते ब्याट्सम्यान कुशल मल्ललाई ओमान भ्रमणमा लगातार मौका दिईरहेको छ। तर मल्लले उनीमाथि गरेको विश्वास अनुसार खेल प्रदर्शन गर्न सकेका छैनन्। अत्यन्त खराब ब्याटिंग गरिरहेका उनले ओमान भ्रमणमा ५ खेलमा मात्र ७ रन बनाएका छन्। पपुवा न्यु गिनीसंग दुईवटा एकदिवसीय अन्तर्राष्ट्रियमा समान १ रनमा आउट भएका मल्लले त्यसपछि त्रिकोणात्मक सिरिजको तिन खेलमा क्रमश १, ४ र ० रनमा आउट भएका छन्। फ्लप हुँदा समेत निरन्तर उनलाई अन्तिम एघारमा मौका दिईरहने टिमको निर्णय माथिनै प्रश्न चिन्ह उठेको छ।
२. सोमपाल कामि : आफ्नो बलिंग र ब्याटिंग दुवैबाट प्रदर्शन गर्दै खेल जिताउने क्षमता राख्ने सोमपालको प्रदर्शन ओमानमा कमजोर रहेको छ। गुल्सन र कुशलको विकेट पछि सोमपालले ज्ञानेन्द्रसंग साझेदारी गर्दै इनिंग्स अघि बढाउने आशा उनले पुरा गर्न सकेनन्। मात्र २ रन बनाएर उनि नेत्रभाल्करबाट क्याच आउट भए। त्यसपछि बलिंगमा पनि उनि पुनः विकेट विहिन रहन पुगे। ओमान भ्रमणमा सोमपाल करियरकै कमजोर लयमा छन्। भ्रमणको ५ खेलमा उनले पपुवा न्यु गिनीसंग २ खेलमा २ विकेट लिएका थिए त्यसपछि लिग-२ त्रिकोणात्मक सिरिजको तिन वटै खेलमा उनि विकेटविहिन रहेका छन्। ओमानसंगको खेलमा त सोमपालले ४ ओभरमा ३८ रन खर्चिएका थिए ब्याटिंगबाट समेत उनको प्रदर्शन पपुवा न्यु गिनीसंग एक खेल बाहेक उल्लेख्य रहेको छैन। जारि सिरिजमा मध्यक्रमले विकेट गुमाउदा पनि पहिले जस्तो तल्लो क्रममा महत्वपूर्ण योगदान उनले दिन सकेका छैनन् भने सुरुवाती विकेट दिलाउने उनको धार बलिंगमा देखिएको छैन।
३. बिनोद भण्डारी : ज्ञानेन्द्र मल्ल पछि टिमका सबैभन्दा अनुभवी ब्याट्सम्यान भण्डारीले अमेरिकासंग पुनः गैरजिम्मेदार ब्याटिंग गरे। माथिल्लो क्रमका ब्याट्सम्यानहरु लगातार आउट भएपछि कप्तान ज्ञानेन्द्र मल्ललाई उनले लामो साथ दिन असफल रहे। मात्र १० रन बनाएर उनि ठूलो सट खेल्ने चक्करमा क्याच आउट भए। ओमान भ्रमणमा खेलेको ४ खेलमा बिनोदले ७० रन मात्र बनाउन सकेका छन्। सुस्त सुरुवात गर्दै थोरै रन बनाएपछि बिनोद विकेटमा लामो समय जम्न सकीरहेका छैनन्। अमेरिकासंगको जितमा ३७ रन बनाएर योगदान दिएका भण्डारीले त्यस बाहेक खेलमा अनुभव र जिम्मेवारी अनुरुप प्रदर्शन देखाउन सकीरहेका छैनन् फलस्वरुप नेपालको तल्लो मध्यक्रम कमजोर देखिएको छ।
