ओमान बिरुद्ध सन्दिपले किन गरेनन् बलिंग

२०७८ भाद्र २९, मंगलवार २३:५१

Sandeep Lamichhane

विश्वकप लिग-२ अन्तर्गतको ओमानमा जारि त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय अन्तर्गत दोश्रो खेलमा नेपाललाई ओमानले ५ विकेटले पराजित गर्यो। खेलमा नेपालले दिएको १९७ रनको लक्ष्य ओमानले ५ विकेट गुमाएर मात्र ३१.१ ओभरमै भेटायो।

लक्ष्य पछ्याउने क्रममा इनिंग्सको सुरुवात देखिनै ओमान ओपनर जतिन्दर सिंहले नेपाली बलरको सातो लिए। बिक्रम सोब, करन केसी र सोमपाल कामिलाई सिंहले चौका र छक्काको वर्षा गरे। जतिन्दरले बाउन्ड्री वर्षा गर्दै नेपाली बलर निरिह बन्दै गर्दा धेरै नेपाली फ्यानहरुले भने सन्दिपलाई किन बलिंग नदिएको होला भन्ने प्रश्न गरिरहे।

सन्दिपले खेलमा बलिंग नगर्नुको कारण खेलको क्रममा उनको पेटमा समस्या आएकोले हो। दोश्रो इनिंग्समा मैदान प्रवेश गरेको केहि बेरमा अचानक निकै पेट दुखेपछि सन्दिप मैदानमा ढलेका थिए। सन्दीप पेट समाएर छटपटीएको टिभी स्क्रिनमा देखिएका थिए। त्यसपछि उनलाई मैदान बाहिर लगिएको थियो। इनिंग्सको क्रममा सन्दिपको अभावमा कुशल मल्ल र सुशन भारिले स्पिन आक्रमण सम्हालेता पनि आक्रामक ब्याटिंग गरेका जतिन्दर सिंहलाई छिट्टै आउट गर्न नेपाली बलर असफल रहे। सन्दिप लामिछाने मैदान बाहिर गएपछि पुनः फर्कीएनन् भने जतिन्दरले ६२ बलमा १२ चौका र ६ छक्का मद्दतले १०७ रन बनाउदै ओमानको सहज जितमा प्रमुख योगदान दिए।

पेट दुखाई कम भए पछि सन्दिपले मैदान बाहिर बसेर खेल हेरेका थिए। सन्दिपको पेट दुखाइको कारण ओमानको अत्याधिक गर्मिको कारण डीहाइड्रेसन मानिएको छ। उनको दुखाइ निको भैसकेको छ

र उनि आगामी खेलमा मैदानमा उत्रनेछन्। यस अघि ओमान भ्रमणमा रहेको मुम्बई टिमका खेलाडी समेत अत्याधिक गर्मिका कारण यस्तै समस्या भोगेका थिए। अन्य दिन भन्दा आज ओमानमा निकै गर्मि महसुस भएको थियो।

ओमान भ्रमणमा अघिल्लो ३ खेलमा १२ विकेट लिएका सन्दिपको अभाव नेपाली टिमले महसुस गर्यो। खेलको क्रममा कमेन्टेटरले पनि सन्दिपको अनुपस्थिति नेपालको दुर्भाग्यको रुपमा लिए। यदी सुरुवातमै जतिन्दरलाई रोक्न सकिएको भए नेपालले खेलमा पकड बनाउन सक्थ्यो।

त्रिकोणात्मक सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो। सिरिज अन्तर्गत आगामी खेल नेपालले अमेरिकासंग सेप्टेम्बर १७ तारिखमा खेल्ने तालिका रहेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy