एसिया कप रेसबाट ओमान आउट

२०७६ फाल्गुन १३, मंगलवार १९:२२

एसीसी टि-२० वेस्टर्न रिजन प्रतियोगिताबाट ओमान समुह चरणबाटै बाहिरिएको छ। बहराइन र कतारसंग ३ खेल पछि २ जित र १ हार पछि समान ४ अंक रहेता पनि नेट रन रेटमा पछि परेपछि ओमानलाई पछि पर्दै बहराइन र कतार सेमीफाइनल प्रवेश गरेका हुन्।

ओमानमा जारी प्रतियोगिताको मंगलबार सम्पन्न खेलमा बहराइनले कतारलाई ६ विकेटले पराजित गर्ने क्रममा १ सय ७ रनको लक्ष्य मात्र ११.५ ओभरमा पछ्याएको थियो। सो नतिजा पछि नेट रन रेटमा सेमीफाइनल पुग्ने टिम तय भएको थियो।

अंकतालिकामा पहिलो स्थानमा रहने क्रममा बहराइनको नेट रन रेट १.४६१ , कतारको १.३९१ रह्यो भने ओमानले १.०४ रह्यो।

यस अघि ओमानलाई समुह ‘ए’ अन्तर्गत खेलमा कतारले ३४ रनले पराजित गरेको थियो। १ सय ७६ रन लक्ष्य पछ्याउने क्रममा ओमानले १ सय ४१ रन मात्र बनाउन सकेको थियो। ओमानले बहराइनलाई भने ८ विकेटले पराजित गर्ने क्रममा ८४ रनको लक्ष्य २ विकेट गुमाएर पुरा गरेको थियो।

प्रतियोगिताको समुह ‘बि’ बाट तिन वटै खेलमा जित हाँसिल गर्दै युएई समुह विजेताको रुपमा तथा कुवेत २ जित र १ हार पछि दोश्रो स्थानमा रहँदै उप-विजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको छ।

सेमीफाइनल खेल बुधबार कतार र युएई तथा बहराइन र कुवेत बीच खेलिनेछ। दुवै खेलको विजेता हुँदै फाइनल पुग्ने टिम एसिया कप छनौट प्रतियोगिता खेल्न छनौट हुनेछ।

एसिया कप छनौट प्रतियोगिता मलेसियामा अगस्टमा आयोजना हुनेछ। उक्त प्रतियोगितामा पश्चिम क्षेत्र बाट दुइ तथा पूर्वी क्षेत्रबाट २ टिम छनौट हुनेछन्। पूर्वी क्षेत्रको छनौट प्रतियोगिता फेब्रुअरी २९ बाट थाइल्याण्डमा सुरु हुँदैछ। नेपाल सहित प्रतियोगितामा हंगकंग, सिंगापुर, थाइल्याण्ड र मलेसियाले प्रतिस्पर्धा गर्नेछन्।

एसिया कप छनौटमा ४ टिम मध्ये उत्कृस्ट १ टिम सेप्टेम्बरमा बंगलादेशमा आयोजना हुने एसिया कपमा छनौट हुनेछ। एसियाकपमा भारत, पाकिस्तान, श्रीलंका,बंगलादेश र अफगानिस्तान स्वतः छनौट भैसकेका छन्।

( सच्याइएको – यस अघि एसिया कप छनौटबाट उत्कृस्ट २ टिम एसिया कप खेल्न छनौट हुने भएकोमा सच्याइएको छ। एसिया कप छनौटको विजेता टिम एसिया कप खेल्न छनौट हुनेछ। )

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy