ओमान भ्रमण सकेर नेपाली टिमको स्वदेश आगमन, प्रशिक्षक व्हाटमोर फर्केनन्

आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा सहभागिता पछि ओमान पुगेको नेपाली क्रिकेट टिम मंगलबार बिहान स्वदेश आगमन गरेको छ।

नेपाली टिम बिहान ओमानको मस्कटबाट ७:२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। टिमसंग मुख्य प्रशिक्षक डेभ व्हाटमोर भने नेपाल फर्कीएनन्। ओमान भ्रमणमा जानु अघि उनले मुख्य प्रशिक्षक पदबाट राजिनामा दिएका थिए। उनि उतैबाट श्रीलंका प्रस्थान गरेका छन्।

ओमान भ्रमणमा नेपाली टिमले खेलेको कुल ६ वटा एकदिवसीय अन्तर्राष्ट्रियमा ४ वटामा जित र दुई खेलमा हार बेहोर्यो। पपुवा न्यु गिनीलाई २ विकेट र १५१ रनले पराजित गरेको नेपालले त्यसपछि विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा ओमान र अमेरिकासंग एक/एक जित र दुवै टिमसंग एक/एक खेलमा हार बेहोर्यो। पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेपछि दोश्रो खेलमा नेपाल ओमानसंग ५ विकेटले पराजित भएको थियो। तेश्रो खेलमा अमेरिकासंग ६ विकेटको हार बेहोरेको नेपालले चौथों खेलमा ओमानलाई ७ विकेटले पराजित गर्यो।

विश्वकप लिग-२ अंकतालिकामा भने नेपाल छैठौं स्थानबाट उक्लेर चौथों स्थानमा पुगेको छ। नेपालले ८ खेल खेल्दा ४ खेलमा जित र ४ खेलमा हार पछि ८ अंक बटुलेको छ। ओमान १४ खेलमा २२ अंक सहित पहिलो र अमेरिका १६ खेलमा १४ अंक सहित दोश्रो स्थानमा छ।

ओमान भ्रमणमा जानु अघि वरियतामा १६ औं स्थानमा रहेको नेपाली टिम फर्किंदा पनि वरियता उहीनै रहेको छ। ओमान १५ औं , अमेरिका १८ औं र पपुवा न्यु गिनी २० औं स्थानमा रहेको छ।

नेपालले विश्वकप लिग-२ अन्तर्गत आगामी सिरिज कहिले खेल्ने निश्चित छैन। आगामी वर्ष २०२२ फेब्रुअरीमा नेपालले युएई र पपुवा न्यु गिनीसंग घरेलु मैदानमा तथा मार्चमा नामिबिया र स्कटल्याण्डसंग नामिबियामा खेल्न सक्ने सम्भावना रहेको छ। अधिकारिक रुपमा लिग-२ को आगामी खेल तालिका भने आईसीसीले सार्वजनिक गरेको छैन।

नेपाली क्रिकेटरहरु अब सेप्टेम्बर २५ तारिख देखि काठमाडौँमा सुरु हुने एभरेस्ट प्रिमियर लिग ( ईपीएल ) मा व्यस्त हुनेछन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy