ओमान र अमेरिकासंग त्रिकोणात्मक सिरिजको तयारी पोखरामा गरिने

२०७६ पुष २२, मंगलवार २१:३९

विश्व कप लिग-२ अन्तर्गत नेपालले फेब्रुअरी ५ देखि १२ सम्म ओमान र युएईसंग खेल्ने एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको लागि पोखरामा तयारी गर्ने भएको छ।

नेपाल क्रिकेट संघ ( क्यान ) को यही आइतबार बसेको बोर्ड बैठकले जनवरी १० तारिक ( पुष २५ गते ) देखि पोखरा क्रिकेट मैदानमा तयारी सुरु गर्ने निर्णय गरेको हो। बन्द प्रशिक्षणको लागि २४ सदस्यीय टोलिको घोषणा गरिनेछ जसबाट सिरिजको लागि टोलि घोषणा गरिनेछ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले गत महिना सम्पन्न दक्षिण एसियाली खेलकुदको दौरान टियु क्रिकेट मैदानको अवलोकन गरेपछि मैदानको वर्तमान अवस्था विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजको लागि अयोग्य ठहर गर्दै मैदान तथा पिचको स्तरोन्नति गर्न निर्देशन दिएको थियो। सोहि अनुरुप साग पछि टियु मैदानमा कुनै पनि किसिमको अभ्यास तथा प्रतियोगिताहरु गर्न आईसीसीले रोक लगाउदै मैदानको स्तरोन्नति थालिएको थियो।

यस अघि क्यान निलम्बित हुँदा आईसीसीलेनै नेपालमा विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको खेलहरु आयोजना गरेको थियो। यो पटक भने नेपाल क्रिकेट संघले प्रतियोगिता आयोजना गर्दैछ।

त्रिकोणात्मक सिरिजको लागि आईसीसीका क्युरेटर तथा पुर्व श्रीलंकन क्रिकेटर बन्दुला वर्नापुरा नेपाल आएर काम गरिरहेका छन्।

नेपालले पोखरामा गर्ने अभ्यासकै दौरान मलेसियन राष्ट्रिय क्रिकेट टिमसंग तिन एकदिवसीय को सिरिज खेल्ने पनि कार्यक्रम रहेको छ। मलेसियन क्रिकेट संघले नेपालसंग सिरिज खेल्ने बताईसके पनि क्यानले भने त्यसको अधिकारिक घोषणा गरेको छैन। पोखरामा सिरिजको दौरान दर्शकहरुलाई टिकटको व्यवस्था गरिने विकेटनेपाल श्रोतलाई जानकारी प्राप्त भएको छ।

मलेसियन क्रिकेट टिम सुनसरीको इनरुवामा जारि एमएम कप एकदिवसीय प्रतियोगिता खेल्न ९ जनवरीमा नेपाल आउदैछ। एमएम कपमा सहभागिता लगत्तै मलेसियन टिम काठमाडौँ हुँदै पोखरा प्रस्थान गर्नेछ। एमएम कप आयोजना निर्देशक विप्लव घोषको पहलमा मलेसियन टिम नेपाल आउन लागेको हो। मलेसियन टिमलाई नेपाल ल्याउन घोष स्वयम् मलेसिया पुगेका थिए।

विश्वकप लिग-२ अगस्ट २०१९ देखि सुरु भएता पनि नेपालले भने बल्ल पहिलो सिरिज खेल्न लागेको हो। लिग-२ अन्तर्गत अमेरिका, स्कटल्याण्ड, ओमान, नामिबिया, युएई र पपुवा न्यु गिनीले खेलहरु खेलीसकेका छन्। अमेरिका, स्कटल्याण्ड र पपुवा न्यु गिनीले समान ८ खेल खेलीसकेका छन् भने युएईले ६ खेल तथा ओमान र नामिबियाले ५ खेल खेलीसकेका छन्।

लिग-२ अंकतालिकामा ८ खेलमा ६ जित र २ हार सहित अमेरिका १२ अंक सहित शिर्षस्थानमा रहेको छ। ९ अंक सहित स्कटल्याण्ड दोश्रो, ८ अंक सहित ओमान तेश्रो, ६ अंक सहित नामिबिया तेश्रो तथा युएई ५ अंक सहित छैठौं स्थानमा रहेको छ। पपुवा न्यु गिनी खेलेको ८ वटै खेल जित्दै पुछारमा रहेको छ।

क्यान बैठकको अन्य निर्णयहरु 

बैठकले संघको जिल्ला कार्यालय स्थापना गर्नको लागि एक/एक लाख तथा प्रदेश कार्यालय स्थापनाको लागि तिन/तिन लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

यस्तै क्यानको दैनिक  कार्य सम्पादन सहज गर्ने उद्देस्यले पांच सदस्यीय कार्यसम्पादन समिति समेत गठन गरेको छ। समितिमा ध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष राजुबाबु श्रेष्ठ, सचिव अशोकनाथ प्याकुरेल, कोषाध्यक्ष रोशनकुमार सिंह र केन्द्रिय सदस्य अमितवीर पाण्डे रहेका छन् ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy