नामिबियामाथि ओमानको जित

२०८१ श्रावण ९, बुधबार २३:०३

काठमाडौं । ओमानले नामिबियामाथि विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सानदार जित हात पारेको छ ।

लिग टू सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको पाँचौ खेलमा ओमानले चार विकेटको जित हात पारेको हो ।

नामिबियाले दिएको १ सय ९७ रनको लक्ष्य ओमानले १७ दशमलब २ ओभरमा विकेट गुमाएर पूरा गर्यो ।

ओमानको जितमा कप्तान अकिव ईल्यासले १ सय २९ बलमा ६८ रनको अर्धशतकीय ईनिङ खेले । आलिद कैलले ५५ बलमा ४३ तथा सोयब खानले ३८ बलमा अविजित २६ रन बनाए ।

नामिबियाका लागि ज्याक ब्रासेल्सले दुई तथा बेन सिकाङ्गो र टांगेनी लुंगामेनीले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो ।

नामिबियाका लागि मलान क्रुजरले ९० बलमा ७३ तथा जेजे स्मिथले ७५ बलमा ४१ रन बनाए । माईकल भान लिङ्गेनले ४० तथा जान फ्रायलिङकले १२ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

ओमानका लागि बिलाल खानले तीन तथा फैयज बटले दुई विकेट लिए ।

जितसँगै आठ टोली सहभागी लिग टू को अंक तालिकामा ओमान तीन अंकका साथ पाँचौ स्थानमा कायमै छ । लिग टू अन्तर्गत आठ अंकका साथ नामिबिया दोस्रो स्थानमा कायमै छ । क्यानडा आठ अंकका साथ शीर्ष स्थानमा छ । अंकतालिकामा दुई अंकका साथ नेपाल छैटौं स्थानमा छ ।

लिग टूको शीर्ष चार टोलीले २०२७ हुने ओडिआई विश्वकप छनोटमा स्थान बनाउँने छन् ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy